बालुवाटारको एकलौटी निर्णयमा अड्कियो ओली र नेपाल समूहको वार्ता

काठमाडौं ः नेकपा एमालेको दुई समूहबीच भएको वार्ता २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयमा अड्किएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेको छ । तर अध्यक्ष ओली त्यसमा सहमत भएका छैनन् ।

एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर विधान संशोधन गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादल समूहका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नेलगायतका निर्णय गराएका थिए ।

नेपाल समूहले भने यो निर्णय मान्य नहुने बताएको छ । यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमाले विभाजन उन्मुख भएको देखिएको थियो ।

तर सोमबार दुबै पक्षबीच औपचारिक वार्ता भयो । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, नेताहरु सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

वार्तामा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय रद्ध हुनुपर्ने माग राखे । सर्वोच्चको फैसलाले एमाले २ जेठ २०७५ को स्थितिमा फर्किएकाले त्यो नै प्रस्थान विन्दु हुनुपर्ने नेपाल समूहका नेताहरुले बताएका छन् । ‘अध्यक्षबाट त्यसअनुसार स्वीकार गरेको सुन्न पाएनौं’ उपाध्यक्ष भीम रावलले भनेका छन् ।

ओली निकट सचिव ज्ञवालीका अनुसार २८ फागुनको निर्णयलाई थप सुधार गर्नुपर्ने भए छलफल गर्दै जाऔं भनिएको बताए । साथै नेपाल समूहले बोलाएको भेला स्थगित गर्न समेत आग्रह गरिएको उनले बताए ।

नेपाल समूहले भने दुबै पक्षले आफूखुसी गरेका सबै गतिविधि स्थगित गर्ने भए आफूहरु तयार रहेको बताएको छ ।

दुबै पक्ष आ(आफ्नो अडानमा रहेपछि फेरि छलफल गर्ने भन्दै नेताहरु छुट्टिएका छन् । तर कहिले छलफल गर्ने भन्ने टुंगिएको छैन । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ भेटमा सहभागी नेता रघुजी पन्तले भने ।





error: Content is protected !!