लिमी भ्यालीको प्राकृतिक सौन्दर्य

–के.बि.मसाल

पर्यटन भित्रको एउटा बिट हो प्राकृतिक सुन्दरतासंग रमाउने । नेपालमा भएका प्राकृतिक सम्पदाहरुको छुट्टा छुट्टै महत्व रहेको छ । बिशेष गरी कर्णाली प्रदेशको हुम्लाको लिमी भ्याली आज भोली आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । हुम्ला सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि पुगिन्छ, लिमी भ्याली । यो भ्याली समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटरको उँचाइमा पर्दछ । तिब्बती जीवनशैली रहेकोले लिमी भ्याली प्राकृतिक सौन्दर्य, पर्यावरणीय, जैविक विविधता र मानव सभ्यता तथा संस्कृतिका हिसाबले पनि निकै महत्वपूर्ण क्षेत्र हो ।

तिब्बती शब्द ‘लिमे’ बाट ‘लिमी’ शब्द आएको हो । लिमेको अर्थ तिब्बती भाषामा दुई बस्ती जोडने भू–भाग अर्थात क्षेत्र भन्ने हुन्छ । लिंक खोला र गेउ स्याक्च्या खोलालाई जोडने भू–भागमा बस्ती भएकाले त्यसलाई लिमे भनिएको र पछि बोल्ने क्रममा अपभ्रंस हुँदै लिमी भएको हो । लिमीको टाक्चीमा कोट दरबार छ । टाक्ची डाँडोको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेटन सकिन्छ । कोटको माथि सेउ कुनाको छेउमा बौद्ध गुम्बा छ । परापूर्व कालमा तिब्बत क्षेत्रमा गुम्बाबाट सरकारले राजकाज चलाउने व्यवस्था थियो । सोहीअनुसार तिब्बतबाट आएका शासकहरुले त्यही गुम्बा र दरबारबाट तत्कालीन लिमी क्षेत्रमा शासन चलाएका थिए । पहिले कोट दरबार, गुम्बाको बीचमा बगेर आएका दुई नदीको बीचमा लिमे हालको लिमी बस्ती थियो । पछि शासन व्यवस्था परिवर्तन भएर दरबार र गुम्बा दुवैको प्रभाव कम हुँदै गएपछि लिमे बस्ती पनि त्यहाँबाट सरेको हो । शुरुमा एकै गाउँमा भएको लिमे बस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमीका रुपमा परिचित भएको छ ।

हुम्लाको उच्च हिमाली पठार क्षेत्रमा रहेको लिमी भ्याली प्राकृतिक सौन्दर्य, जैविक विविधता, मानव सभ्यता र संस्कृतिका हिसाबले पनि निकै महत्व मानिन्छ । जसका कारण नेपाल सरकारले अहिले पनि लिमी भ्यालीलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ । समुद्र सतहदेखि १७ हजार फिटको उचाइमा अवस्थित न्यालु लेक पार गरेर देखिने मनमोहक लिमी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य हो । लिमी क्षेत्र रैथाने तिब्बती संस्कृति भएको बस्ती हो । तिब्बतको ल्हासामा समेत नभएको परम्परागत तिब्बती संस्कृतिको प्रयोग लिमीमा मात्र रहेको बताइन्छ । ल्हासा चीनमा समाहित भएपश्चात तिब्बती संस्कृति मिश्रित खालको छ तर लिमीमा अहिले पनि तिब्बत क्षेत्रको जीवित संस्कृति बाँकी नै छ । लिमीमा ११ औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा छ । तत्कालीन लोचाओ (कवी) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्येको १०८ औँ गुम्बाका रुपमा निर्माण भएको अन्तिम गुम्बा पनि पर्यटकहरुले लिमीमै अवलोकन गर्न सक्दछन् । यो गुम्वा ऐतिहासिक र पुरातात्विक हिसावले निकै महत्वपूर्ण मानिन्छ ।

हल्जी, तिल र जाँग तीन वटा गाउँ मिलेर लिमी भ्याली बनेको छ । एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब तीन घन्टा लाग्ने गर्दछ । जसमध्ये हाल्जी गाउँको प्रमुख आकर्षण हो हजार वर्षभन्दा पनि पुरानो हल्जी गुम्बा । लिमी भ्यालीका बासिन्दा घरैपिच्छे एक जनाको दरले रोजगारीको लागि चीनको ताक्लाकोट जाने गर्छन् । यस भ्यालीका बासिन्दाको मुख्य बाली जौं, गुलियो फापर र आलु हो । हल्जीको महत्वपूर्ण बाली भने उवा हो । लिमी भ्यालीमा जाँगमा मात्र सडक पुगेको छ । त्यहाँ चीनसँगको लाप्चा नाकाबाट सामान ल्याउने गरिन्छ, जुन ३० किलोमिटरको दूरीमा छ । हुम्लाको लिमी भ्यालीमा पर्यटकहरुले दुर्लभ वन्यजन्तुको वपन अवलोकन गर्न सक्दछन् । पर्यटकहरुको रुचि अनुसार वन चौँरी, वन घोडा, वन बिरालो, बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, मृग, भालुलगायतका प्रजातिका वन्यजन्तुको अवलोकन लिमी भ्याली क्षेत्रमा गर्न पाउछन् । लिमी भ्यालीको हल्जी गाउँबाट मानसरोवर जाने बाटोमा पर्ने धेरै घाँसे मैदान पनि देखिन्छ । जुन मैदान चौँरी र च्याग्राको चरन पनि हो । सन् २०१३ मा लिमी भ्यालीमा राखिएका केही स्वचालित क्यामेराले कैद गरेका तस्बिरले पनि लिमी भ्यालीमा अनौठा र दुर्लभ वन्यजन्तु भएको प्रमाणित गरेको छ । जसमध्ये अनौठो बिरालो अर्थात युरेसिएन वाइल्ड क्याट पनि पाइने उल्लेख गरिएको छ ।

हुम्लाको लिमी भ्यालीमा अहिले पनि आफ्नै आन्तरिक शासन कायम छ । लिमीमा भएका तीन गाउँ तिल, जाङ र हल्जीमा जनप्रतिनिधिले गर्ने प्रशासनिक काम बाहेकका सबै काम गर्न गाउँमा नेताका रुपमा छुट्टै प्रतिनिधि चुन्ने व्यवस्था अहिले पनि छ । त्यसरी चुनेका प्रतिनिधिलाई तीनै गाउँमा अध्यक्ष भन्ने गरिन्छ । पहिला प्रत्येक तीन वर्षमा चुनिने लिमीका अध्यक्ष नयाँ संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्ष भएपछि उनीहरुको पदावधिसमेत पाँच वर्ष भएको छ । गाउँपालिकाका पदाधिकारीहरुलाई सरकारी प्रतिनिधिका रुपमा मान्ने गरे पनि गाउँको अधिकांश कामको छिनोफानो गर्ने जिम्मा गाउँबाट चुनिएका अध्यक्षहरुले नै गर्ने गर्छन् । कुनै योजना छनोट गर्ने होस् वा उपभोक्ता समिति निर्माण गर्नेदेखि हरेक काममा पहिलो निर्णाय गाउँको अध्यक्षबाट हुन्छ र वडा र गाउँपालिकाका जनप्रतिनिधिले कार्यान्वयन गर्ने प्रचलन लिमीमा रहेको छ । कोही नयाँ मानिस गाउँमा आएमा कता बस्ने, के कुरा बोल्ने भन्नेदेखि लिएर गाउँको विकासका साथै अन्य विषयमा सामूहिक नियम बनाउने पहिलो काम पनि गाउँको अध्यक्षको हुन्छ ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी भ्याली कैलाश मानसरोवरको दर्शन गर्न सकिने भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रष्ट रुपमा देख्न सकिन्छ । लिमीको लोलुङ क्षेत्र सिमिकोटदेखि १०५ किलो मिटरको दूरीमा पर्दछ । लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदल यात्रामा जानेहरु पनि निकै हुन्छन् । एक दिनको पैदल यात्रामा लिमीबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । कैलाश मानसरोवर चीनमा पर्दछ । मानसरोवर कैलाश पुग्न हिल्सा नाकाबाट बुराङ काउन्टीको ताक्लाकोट हुँदै र अर्को लिमीको लाप्चा लेकबाट जान सकिन्छ । तल्लो हुम्लाको स्थानीयले भने लाप्चा लेकबाट नै यात्रा गर्दै आएका छन् । पछिल्लो समय लाप्चा नाकाबाट जान चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको छ । लाप्चा नाकाबाट चिनियाँ व्यापारीहरुले हिमालपारिका गाउँका बासिन्दालाई असोज र कात्तिकमा खाद्यान्न तथा लत्ताकपडा बिक्री गर्न प्रयोग गर्दै आएका छन् । लाप्चा नाकाबाट लिमीका बासिन्दाले पनि आवस्यक सामान ल्याउने गर्दछन् ।

लाप्चा जान बाह्रै महिना सकिँदैन । त्यसमा पनि हिउँ जमि रहने हुदा मङिसरदेखि जेठसम्म लाप्चा जान सकिदैन । लाप्चा लेकबाट मानसरोवरजान असारदेखि कात्तिकसम्म उपयुक्त हुन्छ । साउन र भदौ महिना वर्षाका कारण बाक्लो कुहिरो र बादल लाग्ने हुदा कैलाश पर्वत र मानसरोवर ताल नदेखिने हुन्छ । त्यसैले भदौ, असोज र कात्तिक महिना उपयुक्त समय मानिन्छ । सिमिकोट देखि पैदल मार्गबाट चार दिनमा लाप्चा लेकमा पुग्न सकिन्छ । पहिलो दिन सिमिकोटबाट केर्मीसम्मको यात्रा गर्नुपर्ने हुन्छ । दोस्रो दिन छुँसासम्म जान सकिन्छ । तेस्रो दिन टाक्ची र चौथो दिन लाप्चा लेक पुगिन्छ । बाटोमा छुँसा, सेलिवाङ, ताक्ची र लाप्चाभन्दा अगाडि केही स्थानमा चौंँरीका खर्क भेटिन्छन् । बास बस्नको लागि आफैँ टेन्टको व्यवस्था गरेर जान सके राम्रो हुन्छ । माइनस तापक्रम धान्ने किसिमका ओढने, ओछ्याउने, लुगा, जुत्ता आदि साथमा हुनु पर्दछ ।

सदरमुकाम सिमिकोटबाट हिँडनेबित्तिकै कर्णाली करिडोरमै पर्ने च्याछरा झरनाको दृश्यावलोकन र तातोपानीमा नुहाउन पाइन्छ । सल्लीबाट भित्र प्रवेश गरेपछि डाँफे, कालिज, च्याखुरा देख्न पाइन्छ । केही माथि छुँसा पुगेपछि चौँरीका खर्कमा चौँरी गाई देख्न सकिनछ । बाटोमा ‘रक क्लाइम्बिङ’ गर्न सकिने चट्टानहरु पनि भेटिन्छन् । ठाउँ–ठाउँमा झरना र सिलाजित भएका चट्टान पनि देख्न सकिन्छ । त्यसैगरी न्यालु लेक प्रवेश गरिसकेपछि जङ्गली याक, घोडा, वनकुकुर, नाउरजस्ता जङ्गली जनावर देख्न पाइन्छ ।

विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको पवित्र जल भण्डार मानसरोवर पुग्न चाहनेहरु वैशाखको अन्तिम साता र जेष्ठको पहिलो हप्तादेखि जान सुरुहुन्छ । समुद्र सतहबाट ४ हजार ५ सय ५९ मिटर उचाइमा रहेको मानसरोवर ३ सय २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मानसरोवर तालको क्षेत्र भगवान् विष्णुको बासस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर जल बन्ने अवस्थामा यहाँ डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ भन्ने गरिन्छ । कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रुपमा लिने गरिन्छ । मानसरोवरको पानीको रङ्ग समयअनुसार फेरिने गर्दछ । मानव जीवनमा एकपटक अनिवार्य रुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । पितृात्मा चोख्याउने उद्देश्यले पनि हरेक वर्ष हजारौ तीर्थयात्री मानसरोवर पुग्ने गर्दछन् । चीनमा रहेको कैलाश मानसरोवर दर्शन गर्न नेपालका अन्य सीमा नाका भन्दा हुम्लाको हिल्साबाट छिटो पुग्न सकिन्छ । बाह्य पर्यटकका लागि कैलाश मानसरोवर पुग्ने मूलद्वार हुम्लाको सिमिकोट हिल्सा नाका नै हो । तिब्बतको पुराङ काउन्टीमा मानसरोवर रहेको छ ।

हुम्लाको संस्कृति अनौठो खालको छ । पर्यटकको स्वागत सत्कार सांस्कृतिक रुपमा समेत भिन्न रहेको छ । पाहुना आउँदा, विवाह तथा कुनै विशेष कार्यक्रम हुँदा गरिने स्वागत सत्कार गर्दा टाउकोमा घ्यू लगाउने र लोकल रक्सीले स्वागत गर्ने परम्परा लामा समुदायमा छ । हुम्लामा कुप्रथाको रुपमा अझैपनि बहुपति प्रथा रहेको पाइन्छ । हुम्लाको केहि लामा समुदायमा बहुपति प्रथा अहिले पनि छ । परिवारको जेठो छोराले बिहे गर्ने र उसका जति दाजुभाइ भए पनि अरुले विवाह नगर्ने पुरानो संस्कार अझै हटेको छैन । सम्पत्तिको बाँडफाँट गर्नु नपर्ने र सम्पन्नता कायम राख्ने प्रचलनका कारण बहुपति प्रथा कायम रहिआएको छ । पुराना पुस्तामाझ कायमै रहेको यो चलन विगत १० र १५ वर्षदेखि भने हटदो क्रममा छ । कुनै भाई व्यापारमा, कुनै भेंडा चराउन त कुनै भोटमा महीनौं लगाएर नून लिन जाने भएकाले पनि यस्तो प्रचलन रहेको मानिन्छ । तर, पछिल्लो समय चेतनाको स्तर बढदै जाँदा दाजुभाई बीच मदभेद बढन थालेकाले यस्तो कु–प्रथा हराउँदै गएको छ ।

एउटा महिला कहिले श्रीमती र कहिले भाउजू हुने प्रचलन हुम्लामा मात्र नभई उच्च हिमाली जिल्ला डोल्पा, मुस्ताङ, रसुवा, र गोरखाको उत्तरी भूभागमा समेत रहेको छ । हुम्लामा लामा समुदायका मानिसहरुको मृत्यु संस्कार मृत शरीर गिद्धलाई खुवाएर गरिन्छ । लामा समुदायमा मृत शरीर गिद्धलाई खुवाउने प्रचलन उनिहरुको सस्कारमा पर्दछ । यस समुदायमा कुनै व्यक्तिको मृत्यु भएमा पुरोहित लामाको निर्णयमा यस्तो संस्कार गरिन्छ । यो समुदायमा आगोले जलाउने, खोला किनारमा गाडने वा गिद्धलाई खुवाउने भन्ने निर्णय लामाले गर्दछ । गिद्धलाई खुवाउने व्यक्ति भाग्यमानी हुने जनविश्वास छ ।

हुम्लामा पछिल्लो समय पर्यटन विकासका लागि यस क्षेत्रमा‘ निनभ्याली नामक पर्यटकीय गन्तव्य थपिएको छ । सिमिकोट देखि बुराउन्से, निमाटाङ, बरगाउँलाई समेटेर पर्यटकीय प्याकेज सन्चालन भएको छ । लाप्चा आफैँमा पर्यटकीय, व्यापारिक र ऐतिहासिक महत्वको ठाउँ हो । त्यसैले यस ठाउँको विकासका लागि राज्यले विशेष महत्व दिनुपर्छ । पूर्वाधारको कुरा गर्नुपर्दा सिमिकोट–हिल्सा सडकमा गाडी चल्ने गरेको छ । सल्लीबाट लाप्चासम्म ट्रकहरु गुडने गरेका छन् । अब यसलाई चाँडो स्तरोन्नति गरेर कालोपत्रे गर्नु पहिलो आवश्यकता हो । अर्को लाप्चामा भ्युटावर बनाउनुपर्छ । भ्युटावर बनेपछि यहाँबाट मानसरोवर कैलाशको अवलोकन गर्न सकिन्छ । त्यसैगरी सल्लीबाटै लाप्चासम्म बास बस्ने व्यवस्था नभएको हुँदा होमस्टे वा सामुदायिक भवनको व्यवस्था गर्नुपर्छ । यी आधारभूत कुराको व्यवस्था गर्न सके बर्सेनि लाप्चाले मानसरोवर कैलाशको अवलोकन गर्ने हजारौँ आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्छ ।

हुम्लामा हवाई मार्गबाहेक पैदल जानका लागि कालिकोटसम्म बस र त्यहाँबाट कम्तिमा एक हप्ताको पैदल यात्रा पछि मात्र पुग्न सकिन्छ । हुम्लामा वाह्य पर्यटहरुमा भारतीय पर्यटक जाने गरेका छन । हुम्लाबाट मानसरोबर जाने प्रवेशद्धार भएका कारण भारतीय पर्यटक हुम्लाको बाटो जाने गर्दछन् । हवाइ यातायातको व्यवस्था राम्रो गर्न सके हुम्लामा आन्तरिक एवं वाह्य पर्यटकहरुको सख्या बृद्धि हुन्छ । कर्णाली करिडोरकोले अझै सिमिकोट जोडन सकेको छैन । तर हिल्सा देखि सिमिकोटमा भने तिब्बत देखि गाडी चल्दै आएका छन् । हुम्लाको तल्लो क्षेत्रमा दुई गाउँपालिकामा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका सडक मार्गले छोएको छ भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ ।
मिति ः – २०७७ फागुन १२ गते दाङ





error: Content is protected !!