देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

बालुवाटारमा सेनाका दुई सय, सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका ७५ र गुप्तचरका ५ गरी तीन सय १५ सुरक्षाकर्मीको घेरामा बस्छन् प्रधानमन्त्री । हिँड्दा सेना र प्रहरीका दुई–दुई गाडीमा ३० सुरक्षाकर्मी हुन्छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा भन्छन्, ‘तैपनि म सुरक्षित छैन, तिमीहरू पनि छैनौ भनेर प्रधानमन्त्रीले जनतालाई भन्नुभएको छ’

चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएका छन् । देशको सुरक्षा व्यवस्थाको कमान सम्हालिरहेका गृहमन्त्री रामबहादुर थापा बादल मञ्चमै रहेको कार्यक्रममा सोमबार उनले आफूमाथि भौतिक हमला हुन सक्ने बताए ।

‘यो पार्टीलाई नेतृत्व गरी मैले ठीक ढंगले अगाडि बढाइरहेको र सरकार पनि गतिशील भई सञ्चालन गरिरहेको हुनाले ममाथि प्रहार भइरहेका छन् । तपाईंहरू देखिरहनुभएको छ, सम्पूर्ण रूपमा ममाथि अत्यन्तै तीव्र ढंगले प्रहार भइरहेको छ । ममाथि कुनै शारीरिक हमला नै भयो भने पनि तपार्इंहरू अनौठो नमान्नुहोला,’ पोखरामा आयोजित नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउनेछौँ । म रहिनँ भने पनि केही छैन । पार्टी छ, आन्दोलन छ ।’

तर, सुरक्षा निकायको निष्कर्षमा भने प्रधानमन्त्री ओलीलाई त्यस्तो कुनै ‘थ्रेट’ छैन । बरु, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सुरक्षा निकायका उच्च अधिकारी असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्रीको भाषणको खण्डन गर्नुपर्ने भएकाले यस विषयमा उनीहरू औपचारिक रूपमा भने बोल्न चाहँदैनन् । ‘प्रधानमन्त्रीको भाषणले हाम्रो शिर निहुरिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘उहाँले आफ्नो फाइदाका लागि सुरक्षाकर्मी र देशको बेइज्जत गर्नुभएको छ ।’

प्रधानमन्त्रीको सुरक्षामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली चौबीसै घन्टा तैनाथ रहन्छ । बालुवाटारस्थित सरकारी निवासदेखि सिंहदरबारस्थित कार्यालयसम्म सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था हुन्छ । बालुवाटारबाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई गुप्तचरबाहेकका तीनवटै निकायका कम्तीमा तीस सुरक्षाकर्मीले स्कर्टिङ गर्छन् ।

फेरि पनि प्रधानमन्त्री ओलीले किन असुरक्षित महसुस गरे त रु राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका अनुसार लोकप्रियता घटेपछि जनताको सहानुभूति बटुल्न प्रधानमन्त्रीको यस्तो भनाइ आएको हुन सक्छ । ‘प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद छ । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेकोजस्तो लाग्यो,’ उनले भने, ‘तर, यो राम्रो होइन ।’

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । ‘यस्ता कुराले सुरक्षा निकायको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ,’ उनले भने, ‘मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ ।’

प्रधानमन्त्रीनिवास बालुवाटारमा सेनाका लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा करिब दुई सय सैनिक खटिएका छन् । पेरिमिटरदेखि गेटको सुरक्षासमेत सेनाले हेर्छ । त्यस्तै, नेपाल प्रहरीबाट डिएसपीको कमान्डमा ७५ जना प्रहरी बालुवाटारको सुरक्षामा खटिएका छन् । प्रधानमन्त्रीको सुरक्षामा खटिने सशस्त्र प्रहरीको संख्या दुई महिनाअघि मात्रै २८ बाट बढाएर ३५ पु¥याइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट पनि डिएसपीको नेतृत्वमा पाँचजना बालुवाटारमा खटिन्छन् ।

प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार बाउन्ड्रीभित्रै सेनाको गण छ । त्यस्तै, डिएसपीको नेतृत्वमा एक सय २० प्रहरी रहेको सिंहदरबार सुरक्षा गुल्म पनि प्रधानमन्त्री कार्यालयछेउमै छ । राष्ट्रिय अनुसन्धान विभागको मुख्यालय पनि सिंहदरबार परिसरभित्रै छ ।

बालुवाटारबाट बाहिर निस्कँदा पनि प्रधानमन्त्रीलाई सुरक्षाकर्मीका कम्तीमा चारवटा गाडीको स्कर्टिङ हुन्छ, जसमा करिब ३० सुरक्षाकर्मी रहन्छन् । सुरुमा नेपाल प्रहरी, त्यसपछि सेनाको गाडी कुद्छ । त्यसपछि प्रधानमन्त्री सवार गाडी रहन्छ । प्रधानमन्त्रीको गाडीपछि फेरि सेना र अन्तिममा सशस्त्र प्रहरीको स्कर्टिङ हुने गरेको छ ।

प्रधानमन्त्री सहभागी रहने सार्वजनिक कार्यक्रमहरूमा सेनाले विशेष हतियारसहितका सैनिक सादा पोसाकमा खटाउने गरेको छ । गत ३ फागुनमा सिंहदरबारमा आयोजित कार्यक्रममा पनि विशेष हतियारसहित सादा पोसाकमा सैनिकसमेत खटाइएको थियो ।

कम्युनिस्ट आन्दोलन नै सिध्याउन मेराविरुद्ध आरोपपत्र ल्याइयो – प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले देशलाई भड्खालोमा हाल्न आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छाड्न पटक–पटक दबाब दिइएको बताएका छन् । आफू अध्यक्ष रहेको नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने गरी अर्को समूहले आफूविरुद्ध आरोपपत्र ल्याएको दाबी गरे ।

‘त्यो झुटा आरोपको पुलिन्दा किन रु म एउटा व्यक्ति हुँ, तर यो मसँग सम्बन्धित छैन, हाम्रो आन्दोलनलाई समाप्त पार्ने, पार्टी समाप्त पार्ने कुरासँग सम्बन्धित छ,’ प्रधानमन्त्री ओलीले भने । आफूले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा लिएर देशबाट गरिबी, अशिक्षा, पछौटेपन, भ्रष्टाचार हटाउँदै राष्ट्रको विकास गर्ने संकल्प लिएको वेला यस्तो आरोप लगाइएको उनको भनाइ थियो । ‘तर, सानातिना मतभेदमा अल्झिनु सही होइन,’ उनले भने ।

संसद् पुनस्र्थापनापछि प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री खोज्न दौडधुप गरेको बताउँदै प्रधानमन्त्री ओलीले संसदीय प्रक्रियाबाट आफूलाई हटाइए डेढ वर्ष आफू प्रतिपक्षमा बस्न तयार भएको दाबी गरे ।

‘प्रधानमन्त्री विधि–पद्धतिबाट होइन, गलहत्याएर हटाउने १ अविश्वासको प्रस्ताब राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरूले । संसदीय प्रक्रिया छ, संविधान छ, कानुन छ । प्रक्रियाबाट आउनुहोस्, हामी मान्छौँ । त्यसले केही बिग्रिँदैन । हामी डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुईतिहाइ मतका साथ फर्केर फेरि आउँछौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘आफू बलियो छु भन्ने लाग्नेबित्तिकै प्रधानमन्त्रीसँग कुस्ती खेल्ने रु संसदीय अभ्यासको कुरा गर्ने हो भने त्यो अभ्यासभित्र आउनुप¥यो ।

सर्वोच्चले फैसलाले देश अन्योलमा फसेको प्रधानमन्त्री ओलीको दाबी थियो । ‘आवधिक निर्वाचनको कुरा धारा ७६ को उपधारा ७, धारा ८५ लगायतमा छ, प्रधानमन्त्रीमा अवशिष्ट अधिकार पनि हुन्छ । यी अभ्यासअनुसार चुनावमा गएको भए देश अगाडि बढ्थ्यो । अब फेरि देश अन्योलमा फस्यो,’ उनले भने ।

सर्वोच्चले निर्णय सुनाइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न २३ फागुनमा संसद् अधिवेशन डाकेको र त्यसैले देशमा स्थिरता ल्याउने आस रहेको उनले बताए । जनताको नामै सुन्न डराउने शक्तिहरूले संसद्मा खेल्ने भूमिका हेर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रचण्ड–नेपाल समूहले देखाएको डर–धम्कीबाट विचलित नभई पार्टी र देशप्रति बफादार भएर निर्धक्कसाथ अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि सरकारसँग वार्ता गरी छिट्टै सही बाटोमा लाग्ने दाबी पनि प्रधानमन्त्रीले गरे । ‘विप्लव समूहसँग छिट्टै वार्ता हुनेछ र उहाँहरूले पनि सही बाटो समाउनुहुनेछ । तर, यी केही तत्वहरू जो आफ्नो आकांक्षाबाहेक केही देख्दैनन्, यी सकिन्छन्,’ उनले भने ।

संसदीय दलको नेताका हैसियतमा आफूले नेकपाका प्रमुख सचेतक देव गुरुङलाई पदबाट हटाएको उनले बताए । नियुक्त गर्नेले नियुक्ति बदर पनि गर्न सक्ने उनको दाबी थियो । पार्टीको केन्द्रीय समितिमा बहुमत दाबी गरिरहेको प्रचण्ड–नेपाल समूहलाई बहुमत आफैँले दिएको बताउँदै उनले आवश्यक पर्दा हटाउन पनि सक्ने चेतावनी दिए ।

‘उहाँहरूको बहुमत भनिएको केन्द्रीय कमिटी मैले बनाएको हो । त्यो अहिलेसम्म चलाएको छैन । जरुरी परेका वेला चलाउन सक्छु,’ उनले थपे, ‘कार्की बेैंक्वेटमा खान बोलाएका वेला आफैँ दलको नेता, अध्यक्ष चुनेर लड्डु खाए । उहाँहरूको बहुमत कहाँ पुष्टि भयो रु त्यो बहुमत होइन । भोज खान आएका मान्छे गनेर बहुमत हुन्छ रु अध्यक्ष, महासचिव, दलको नेताले बोलाएको बैठकमा आउनुप¥यो नि ।’

संवैधानिक, राजनीतिक र नैतिक दबाबमा छन् प्रधानमन्त्री

संवैधानिक दबाब स् संसद् विघटन गर्ने ५ पुसको आफ्नो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि प्रधानमन्त्री केपी ओली एकैपटक संवैधानिक, राजनीतिक र नैतिक दबाबमा परेका छन् । ओलीले प्रधानमन्त्रीको विशेष अधिकार भन्दै संसद् विघटन गरेका थिए । ११ फागुनमा प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको थियो । त्यसले प्रधानमन्त्री ओली संवैधानिक दबाबमा परेका थिए ।

राजनीतिक दबाब स् सातौँ अधिवेशन सुरु हुनुभन्दा १२ दिनअगाडि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्, जसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको छ । लगत्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले २३ फागुनमा संसद्को सातौँ अधिवेशन आह्वान गरेकी छिन् । संसद् बैठकमा आफूविरुद्ध अविश्वासको प्रस्ताब आउन सक्ने भयले प्रधानमन्त्री ओली राजनीतिक दबाबमा छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने सार्वजनिक अभिव्यक्ति दिएका छन् भने यो समूहले ५ पुसमा संसद् सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव अगाडि नबढाउने तयारी गरेको छ । कांग्रेस र जसपासहित नेकपाको प्रचण्ड–नेपाल समूहको समीकरण बन्दा आफ्नो पद असुरक्षित हुने भयका कारण ओलीले लगातार राजनीतिक दबाब महसुस गरेका छन् । विभाजित नेकपामा पनि अल्पमत पक्षको नेतृत्व गरेकाले निर्वाचन आयोगले पनि आफ्नो अनुकूल निर्णय नदिने भय प्रधानमन्त्रीमा छ ।

नैतिक दबाब – संसद् विघटन गर्ने कदम बदर भएपछि पनि प्रधानमन्त्री ओलीले राजीनामा नगरेको भनेर उनको नैतिकतामाथि राजनीतिक, संवैधानिक र कानुनीवृत्तबाट व्यापक प्रश्न उठेका छन् । आफूले चालेको कदमको नैतिक जिम्मेवारी लिँदा राजीनामा दिनुपर्ने भए पनि प्रधानमन्त्री ओली यस्तो जिम्मेवारी लिनबाट पन्छिँदै आएका छन् । संसद् विघटनको कदम उल्टिएपछि पनि राजीनामा नदिएपछि ओली नैतिक दबाबमा छन् । आफैँले विघटन गरेको संसद्मा कसरी जाने रु ओलीमाथि गम्भीर नैतिक प्रश्न तेर्सिएको छ । तर, उनले राजीनामा दिनुको सट्टा अविश्वासको प्रस्ताब फेस गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

पार्टी मुख्यालय ‘असुरक्षित’ भन्दै गरिएको थियो पार्टी बैठक स्थगित

पार्टीभित्र विवाद हुँदा र आफ्नो प्रतिकूल राजनीतिक परिस्थिति सिर्जना हुँदा प्रधानमन्त्री केपी ओलीले सुरक्षा खतराको मुद्दा उठाउँदै आएका छन् । यसअघि १७ मंसिरमा पार्टी मुख्यालय धुम्बाराहीमा तय भएको नेकपा सचिवालय बैठक पनि सुरक्षा कारण देखाएर प्रधानमन्त्री ओलीले बालुवाटार सारेका थिए । ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ थियो । त्यसवेला ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागिएको थियो । लगत्तै सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री ओलीले कस्तो देश चलाइरहेका छन् भनी प्रश्न उठेको थियो । सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था राम्रो नभएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका थिए । कतिपयले प्रधानमन्त्रीले आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी गरेका थिए । प्रधानमन्त्री आत्तिएको र त्यही सन्दर्भमा बैठकस्थलको ‘सुरक्षा थ्रेट’को प्रसंग आएको हुन सक्ने कतिपय पूर्वगृहमन्त्रीको टिप्पणी थियो ।

।।।।।।

संसद् भंग गरेर संकटकाल लगाएपछि इन्दिरा गान्धीले पनि यस्तै नाटक गरेकी थिइन् ः राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा

प्रधानमन्त्रीज्यूको कुरा सुनेर मलाई आश्चर्य लाग्योे । अहिले राजनीतिक अन्योल छ, त्यसको सिर्जना उहाँले नै गर्नुभएको हो । त्यसमाथि अहिले थप हल्ला फैलाइरहनुभएको छ । देशको कार्यकारी प्रमुखसँग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उहाँका सहयोगीहरू सधैँ सँगै छन् । भिभिआइपी र भिआइपीको सुरक्षामा जहिले पनि ‘थ्रेट’ हुन्छ । त्यो नौलो विषय होइन । तर, उहाँले म ‘थ्रेट’मा छु, जहिले पनि आक्रमण हुनसक्छ भनेको त ममात्र होइन तिमीहरू पनि सुरक्षित छैनौ भनेर जनतालाई भन्न खोजेको हो । प्रधानमन्त्रीले नै असुरक्षित छु भन्ने दिन आएपछि जनता कसरी सुरक्षित होलान् रु प्रधानमन्त्रीको अभिव्यक्तिले यही सन्देश गएको छ ।

यस्तो गलत सन्देश स्वयं प्रधानमन्त्रीबाट प्रवाहित भएको छ । यस्तो विषय उहाँले बोल्ने होइन । नेताले लोकप्रियता गुमायो भने यस्ता कुरा गर्छन् । भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनीविरुद्ध मुद्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छुरा हान्न खोजियो भनियो । पछि अनुसन्धान गर्दा त्यो बनावटी घटना रहेछ । देशका लागि यति गर्दागर्दै पनि हत्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ । अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आक्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।

प्रधानमन्त्रीज्यूले पनि ममाथि ‘थ्रेट’ छ भन्नुभएको छ । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि उहाँले आफूलाई सुरक्षा ‘थ्रेट’ छ भन्नु लज्जास्पद हो । प्रधानमन्त्रीलाई कोबाट ‘थ्रेट’ छ त रु कि त उहाँलाई आफ्नै पार्टीका विपक्षी समूहबाट ‘थ्रेट’ हो । अर्को भनेको नयाँ नक्सा जारी गरेपछि भारतलाई ‘इन्डिकेट’ गरेको पनि हुन सक्छ । यो दुईवटाबाहेक अरू कोही पनि छैन । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो हत्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो । तर, यो राम्रो होइन । पार्टीभित्रको समीकरणलाई व्यवस्थापन गर्न नसकेर यो अवस्था आएको हो । उहाँले संसद् विघटन गरेपछि सम्पूर्ण सुरक्षा वातावरण बिग्रिएको छ । उहाँले सुरक्षा शक्तिलाई दोष दिने कुनै ठाउँ छैन । अरू कुरा बिक्री नभएपछि प्रधानमन्त्रीले आफूमाथि असुरक्षाको कुरा बोल्नुभएको हो ।

राजनीतिक रूपमा हारपछि तरंग ल्याउन बोल्नुभएको होला – भीमसेनदास प्रधान, पूर्वरक्षामन्त्री

प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै राजनीतिक सन्देश भएजस्तो लाग्दैन । राजनीतिक रूपमा हार भइसकेपछि उहाँले एउटा तरंग ल्याऊँ न त भनेर बोल्नुभएको होला । यस्तो बोल्दा सेन्टिमेन्ट तान्न सकिन्छ भन्ने लागेको हुन सक्छ । तर, उहाँको बोलीमा कुनै अडान छैन, कुनै ठेगान पनि छैन । के बोल्दा के हुन्छ ?  भन्ने उहाँलाई मतलब पनि छैन । उहाँ कति वेला के बोल्ने भन्नेमा ध्यान दिनुहुन्न, बहुतै गैरजिम्मेवार ढंगले बोल्नुहुन्छ । अहिले मनलाग्दी बोल्दै हिँड्नुभएको छ । मैले त प्रधानमन्त्रीको अहिले कुनै सुरक्षा थ्रेट देखेको छैन ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सुरक्षा निकायको मनोबल डाउन हुन्छ – रमेश खरेल, पूर्वडिआइजी

प्रधानमन्त्रीको कुरा सुन्दा उहाँलाई मनको बाघले खाएजस्तो लाग्यो । विश्वास गरेर जनताले जिम्मेवारी दिँदा केही गर्न नसकेपछि उहाँले यस्तो बोल्नुभएको हुनुपर्छ । राष्ट्रप्रतिको बेइमानी, भ्रष्टाचारीहरूको संरक्षण, बिचौलियासँग साँठगाँठ र आफ्नो कुर्सीका लागि देशलाई बन्धक बनाउने मान्छेलाई मनको बाघले खान्छ । पूर्वसुरक्षाकर्मी र एउटा नागरिकको हिसाबले म उहाँलाई त्यस्तो ठूलो सुरक्षा थ्रेट केही पनि देख्दिनँ । आफ्नै बेइमानी, आफ्नै कुकर्म, भ्रष्टाचारको संरक्षण र भागबन्डाजस्ता कामले गर्दा उहाँलाई मनको बाघले खाएको हो, अरू केही पनि होइन ।

अर्को कुरा, प्रधानमन्त्रीले यस्तो भन्दै हिँड्ने पनि होइन । यस्ता कुराले सुरक्षा निकायमा ठूलो असर पर्छ । उनीहरूको पूरै ‘मोरल डाउन’ हुन्छ । सुरक्षाकर्मी त निकम्मा रहेछन् भन्ने सन्देश जान्छ । मनोवैज्ञानिक रूपमा तीन करोड नेपालीले त असुरक्षित महसुस गर्ने नै भए, विदेशीलाई समेत त्यसको असर पर्छ । देशकै प्रधानमन्त्रीले नै सुरक्षित छैन भन्छन् भने त्यो देश त असुरक्षित रहेछ, त्यस्तो देशमा किन जाने भन्ने हुन्छ । त्यसकारण प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनुहँुदैन ।





error: Content is protected !!