जोखिममा हिमालकी रानी हिउँचितुवा

रामचन्द्र वाग्ले

हिउँचितुवा स्तनधारी वर्गमा पर्ने मेरुदण्डीय जीव हो । यो एकदमै चिसो स्थानमा पाइने जीव हो । यो मध्य एसिया र दक्षिण एसियाका हिमालमा बस्ने रैथाने जीव पनि हो । यसको वैज्ञानिक नाम प्यान्थेरा अनसिया वा अनसिया अनसिया हो । उच्च हिमाली क्षेत्रमा बसेर अन्य जीवलाई नियन्त्रण गर्ने भएकाले संरक्षणकर्मीहरूले हिउँचितुवालाई हिमालकी रानी पनि भन्ने गर्छन् । प्राकृतिक वासस्थानमा यसको सङ्ख्या दस हजारभन्दा थोरै भएकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा यसलाई संवेदनशील जीवमा राखिएको छ । यो फेलिडेइ परिवारमा पर्ने ठूलो बिरालो प्रजातिको मांसाहारी जीव हो । हिउँचितुवा संरक्षण कार्य योजना (२०१७–२०२१)  का अनुसार यो जीव ५४० देखि पाँच हजार मिटरसम्मका उच्च हिमाली क्षेत्रमा पाइन्छ ।

हिउँचितुवा विश्वका १२ वटा देशमा मात्र पाइन्छ । ती देशहरू चीन, भुटान, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, काजकिस्तान, ताजकिस्तान, किरगिजस्तान, उज्वेकिस्तान, रसिया र मङ्गोलिया हुन्् । बाघ र चितुवाजस्तै हिउँचितुवाको पनि शरीरमा हुने पाटाको स्वरूप एक–अर्काभन्दा भिन्न हुन्छ । त्यसैले यो खतरनाक मांसाहारी जीव भए पनि सुरक्षित तवरले क्यामेरा ट्र्यापिङमार्फत यसको गणना गर्न सकिन्छ । हिउँचितुवाको पुच्छर धेरै लामो र बाक्लो हुन्छ ।चट्टानमा हिँड्दा शरीर सन्तुलन गर्न र शरीर ढाकेर चिसोबाट बच्न यो पुच्छरले मद्दत पु¥याउँछ । यसको अगाडिका खुट्टा पछाडिका खुट्टाका तुलनामा साना हुन्छन् र ५० फिट टाढासम्म उफ्रिन सक्छ । साथै, यसको फराकिलो र भुत्लाले ढाकिएको पञ्जा हुन्छ, जसले हिउँमा लगाइने जुत्ताको काम गर्छ र तीखो चट्टानमा टेक्न मद्दत पु(याउँछ । भुत, प्रेतजस्तै आफ्नो वासस्थानमा विलीन हुने बानी भएकाले यसलाई पर्वतको प्रेत पनि भनिन्छ । यसको लजालु स्वभाव र शरीरमा भएको भुत्लाको रङले गर्दा वासस्थानमा विलीन हुन सम्भव भएको हो । यो एकान्तप्रेमी जीव हो । त्यसैले सधैँ एक्लै बस्न रुचाउँछ ।

प्राकृतिक वासस्थानमा यसको सङ्ख्या यति नै छ भनेर भन्न कठिन छ । विश्व वन्यजन्तु कोषका अनुसार यसको सङ्ख्या चार हजार ८० देखि छ हजार ५९० सम्म हुन सक्ने अनुमान गरिएको छ । विभिन्न अध्ययनअनुसार यो जीवको कुल सङ्ख्याको १० प्रतिशत नेपालका हिमाली क्षेत्रमा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सन् २०१७ को अध्ययनअनुसार नेपालमा करिब ३५० देखि पाँच सयवटा हिउँचितुवा छन् । यो अन्य ठुल्ठूला बिरालो प्रजातिहरू जस्तै गर्जन (चिच्याउन) सक्दैन् ।

हिउँचितुवा आफ्नो वजनभन्दा तीन गुणा ठूलो जीवको सिकार गर्न सक्छ । यसको ६० देखि ७० प्रतिशत आहारा नाउर र झारल हो । त्यस्तै ३० देखि ४० प्रतिशत आहारा गाई, चौँरीका बच्चा, च्याङ्ग्रा, फ्याउ मुसा र कस्तूरी मृग हुन् । नेसनल जियोग्राफीका अनुसार एउटा हिउँचितुवाले एक वर्षमा पाँचवटा झारल, नौवटा तिब्बती खरायो, २५ वटा मारमोट, पाँचवटा घरपालुवा बाख्रा, एउटा घरपालुवा भेडा र १५ वटा चरा खान्छ । एक अध्ययनअनुसार हिउँचितुवाले तामारिस्क बिरुवा ९मिरिकारिया प्रजाति०का हाँगाहरू खाने गरेको पनि पाइएको छ । तामारिस्क बिरुवामध्ये पनि जर्मन तामारिस्क बढी मन पराएको उक्त अध्ययनको निष्कर्ष छ । भारतको लद्दाखमा गरिएको उक्त अध्ययनमा मांसाहारी जीवले किन बोटबिरुवा खायो भन्ने कुरा प्रस्ट हुन सकेको छैन ।

हानिकारक परजीवी तथा अपाच्य खानेकुरालाई
सफा गर्ने भएकाले खाएको हो कि भन्ने अनुमानचाहिँ गरेका छन् ।
विश्व वन्यजन्तु कोषका अनुसार यसले विशेषगरेर अर्गाली (हिमाली) भेडाको सिकार गर्ने गर्छ । जसलाई स्थानीय बासिन्दाले पनि सिकार गर्छन् । प्राकृतिक सिकारको कमी भएको खण्डमा यसले आफ्नो आहार प्राप्त गर्नका लागि घरपालुवा जीवको सिकार गर्ने गर्छ । कहिलेकाहीँ यसले ‘मल्टिपल वा सरप्लस किलिङ’ गर्ने गरेको पनि पाइएको छ । मल्टिपल वा सरप्लस किलिङ भन्नाले एउटा हिउँचितुवा थुप्रै भेडाबाख्रा भएको गोठभित्र छिरेर भेडाबाख्रा मारेर नखाईकन जानु हो । यसको यस्तो व्यवहारले गर्दा स्थानीय बासिन्दाले धेरै हिउँचितुवा मार्ने गरेको पाइएको छ ।

अर्को एक अध्ययन अनुसार हिउँद र वसन्त ऋतु हिउँचितुवा अध्ययन गर्नका लागि उपयुक्त समय हो किनभने यस समयमा यसको निशान भेट्टाउने सम्भावना धेरै हुन्छ । अन्य समयमा अध्ययन गर्दा यसको निशान भेट्टाउन निकै गाह्रो हुन्छ । अन्तर्राष्ट्रिय हिउँचितुवा कोषका अनुसार यिनीहरू जनवरी र मध्य मार्च महिनाको बीचमा समागम गर्छन् । त्यस्तै पोथी हिउँचितुवाले ९३ देखि ११० दिनसम्म गर्भधारण गर्छे र जुन वा जुलाई महिनामा बच्चा जन्माउँछे । यसले एक बेतमा एकदेखि पाँचवटा बच्चा जन्माउँछ । बच्चाहरू जन्मिँदा अन्धो जन्मिए पनि शरीर भने बाक्लो रौँले ढाकिएको हुन्छ । बच्चाले जन्मिएको करिब सात दिनपछि आँखा खोल्न सक्छ । बच्चा जन्मेको दुई महिनापछि मात्रै ठोस खानेकुरा खान्छ । त्यस्तै तीन महिना भएपछि बच्चाले आफ्नो आमाको पछि लाग्न र महत्वपूर्ण व्यवहार सिक्न थाल्छ । १८ देखि २२ महिनाको भएपछि बच्चा आफैँमा निर्भर हुन्छ । बच्चा कम्तीमा एक वर्षसम्म आफ्नी आमासँग बस्छ । पोथी तीन वर्षमा र भाले चार वर्षमा शारीरिक रूपमा परिपक्व हुन्छ । प्राकृतिक वासस्थानमा १० देखि १२ वर्षसम्म मात्र बाँच्ने भए पनि कृत्रिम वातावरणमा करिब २२ वर्षसम्म पनि बाँच्ने गरेको हिउँचितुवा सङ्घले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

भाले हिउँचितुवाको क्षेत्र पोथीको भन्दा ठूलो हुन्छ । भालेको क्षेत्र ८० वर्गमाइल हुन्छ भने पोथीको ४८ वर्ग माइल हुन्छ । एनिमल डाइभर्सिटी वेबका अनुसार यसको रौँ वर्षमा दुइपटक झर्छ । गर्मी मौसममा हिउँचितुवाको शरीरका रौँ २५ मिलिमिटर, पेट र पुच्छरका रौँ ५० मिलिमिटर लामो हुन्छ । त्यस्तै जाडो मौसममा शरीरको भुत्ला करिब ५० मिलिमिटर, पुच्छरका रौँ ६० मिलिमिटर र पेटका रौँ १२० मिलिमिटरसम्म लामो हुन्छ । यसको अलावा हिउँचितुवाको कान सानो र गोलो हुन्छ, जसले शरीरको ताप न्यून मात्रामा मात्र खेर जान दिन्छ । अर्को शब्दमा भन्नुपर्दा यसको सानो र गोलो कानले शरीरको ताप सञ्चय गर्न मद्दत गर्छ । यो प्रायः उच्च हिमाली क्षेत्रमा बस्ने जीव भए पनि जाडो मौसममा आफ्नो सिकारको पछि लाग्दै नौ सय मिटरको उचाइसम्म झर्ने गरेको पाइएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार हिउँचितुवा नेपालका कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी नाम्पा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र गौरीशङ्कर संरक्षण क्षेत्रमा पाइन्छ । यी क्षेत्रमध्ये पनि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको लाङ्गु उपत्यकामा सबैभन्दा बढी सङ्ख्यामा यो जीव पाइएको छ । संरक्षित क्षेत्रबाहिरका मुगु, डोल्पा र हुम्ला जिल्लामा पनि प्रशस्त मात्रामा हिउँचितुवा हुन सक्ने अनुमान गरिएको छ । नेपालको १३ हजार वर्ग किलोमिटर क्षेत्रफल यसका लागि अनुकूल वासस्थान मानिएको छ ।

यसले जैविक विविधता सन्तुलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो जीवले स्वस्थ वातावरणको चिनारी दिन्छ । यो जीव नपाइने हिमाली क्षेत्रलाई अस्वस्थ वातावरण भएको क्षेत्र मानिन्छ । यो जीवले हामीलाई अग्ला–अग्ला हिमाली क्षेत्र संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन्छ । यसका साथै उक्त क्षेत्र संरक्षण गर्न प्रोत्साहन पनि दिन्छ । यो जीव आर्थिक हिसाबले पनि निकै महŒवपूर्ण छ । यो जीव सुन्दर, संवेदनशील र थोरै देशमा मात्रै पाइने भएकाले यसलाई हेर्न थुप्रै विदेशी पर्यटक नेपाल आउँछन् । यसबाट रोजगारी र व्यापार व्यवसायको अवसर पनि सिर्जनागर्न सकिन्छ ।

यो जीव सङ्कटमा पर्नुका मुख्य कारण चोरीसिकार, वासस्थान विनाश तथा विभाजन, मानिस र हिउँचितुवाबीचको द्वन्द्व, हावापानी परिवर्तन, वैश्विक तापमान वृद्धि आदि हुन् । मासु, हाड र भुत्लाका लागि यसको चोरी सिकार हुन्छ । २०७४ सालमा प्रकाशित ‘हिउँचितुवा’ वार्षिक पत्रिकाका अनुसार बितेको २० वर्षमा हिउँचितुवाको सङ्ख्या करिब २० प्रतिशतले घट्नुको मुख्य कारण मानिस र हिउँचितुवाबीचको द्वन्द्व हो । हावापानी परिवर्तनले गर्दा करिब ३० प्रतिशत हिउँचितुवाको वासस्थान नाश हुने देखिएको छ । त्यस्तै थुप्रै हिउँचितुवाहरू संरक्षित क्षेत्रबाहिर छन् । तिनीहरू तीव्र मात्रामा विनाश हुने अवस्थामा छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले यस जीवलाई संरक्षित जीवको सूचीमा राखेको छ । त्यस्तै साइटिसले यस जीवलाई अनुसूची–१ मा सूचीकृत गरेको छ । नेपालमा यसको सिकार गर्न पूर्ण रूपमा वर्जित छ । यसलाई मार्ने, घाइते बनाउने र यसको शरीरको अङ्ग किनबेच गर्ने व्यक्तिलाई पाँच लाखदेखि दस लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्मको जेल सजाय वा दुवै सजाय हुने प्रावधान छ । नेपाल सरकारले दुर्लभ जीवजन्तु संरक्षण गर्ने अभिप्रायले पहिलेदेखि नै नेपाली नोटमा दुर्लभ जीवको तस्बिर राख्दै आएको छ । त्यस्तै नेपाल राष्ट्र बैङ्कले विक्रम सवत् २०७३ कात्तिक १० गतेदेखि हिउँचितुवाको तस्बिर भएको ५० रुपियाँको नोट चलनचल्तीमा ल्याएको छ ।





error: Content is protected !!