कर्णालीमा शिक्षा र दलित

पूर्णप्रसाद धिताल
जसका छोराछोरी विद्यालय जान्छन् तिनका अभिभावकको विद्यालयमा पहुँच छैन । कर्णालीमा दलित विद्यार्थीको अभिभावकको नाममा टाठाबाठाहरू आज पनि विद्यालयमा राजनीति गरिरहेका छन्

कर्णालीमा दलित समुदायको शैक्षिक र आर्थिक जीवनमा आएको परिवर्तनलाई लोकतन्त्र अघि र पछि गरी दुई भागमा बाँडेर हेर्नुपर्छ । लोकतन्त्रअघि कर्णालीमा दलित समुदायभित्रै सोपानक्रम एकदमै कडा थियो । समाज कथित ‘डुम’ र ‘चोखा’ गरी दुई भागमा बाँडिएको थियो र त्यो अहिले पनि कायम छ । दलितहरू आफ्नो पुख्र्यौली पेसा अपनाएर बसेका थिए । लोकतन्त्रपछि भने यस्ता प्रचलन, पद्धति र पेसामा ठूलो परिवर्तन आएको छ । यो परिवर्तनको भ्रूण २०४६ को प्रजातन्त्रको पुनस्र्थापनासँगै सुरु भइसकेको थियो ।

माओवादी जनयुद्धको राप र तापमा यी परिवर्तनले अनुकूल अवसर प्राप्त ग¥यो । जसले इतिहासदेखि थिचोमिचोमा परेका दलित आफ्नो स्वतन्त्रता र समानताको खोजीमा निस्के, विभेदका हरेक मोर्चामा संघर्ष गर्न थाले । यस दौरान कर्णालीका दलितहरूको परम्परागत पेसामा परिवर्तन आयो ।

शिक्षा
कर्णालीका दलितसँग आधुनिक शिक्षाको जग नै बसेन । परम्परागत रूपमा उनीहरूका पुर्खाले प्रदान गरेको सीप र जीवनयापनका तरिका नै उनीहरूको शिक्षा हो । यस खालको शिक्षाबाट उनीहरू झन् दासताका जन्जिरमा बाँधिन पुगे । जुम्लाको चन्दननाथ मावि कणार्लीको पहिलो विद्यालय हो ।

२०१९ सालको फागुनबाट सुरु भएको उक्त विद्यालयमा गैरदलित पनि विद्यालय जान सक्दैनथे । कर्णालीका पाँच जिल्लाबाट त्यतिवेला चेतना भएका केही अभिभावकले मात्र गाउँबाट विद्यार्थी पढ्न पठाउँथे । दलितहरूको उपस्थिति शून्य नै थियो तर, अपवादका रूपमा नजिकै विद्यालय भएर होला, छिनागाउँमा विष्न सुनारले पढेर देखाए ।

उनी कर्णालीकै इतिहासमा पहिलो एसएलसी पास गर्ने दलित विद्यार्थी हुन् । चन्दननाथ माविमा पहिलो एसएलसी दिने दुईजना विद्यार्थीमध्ये उनी एकजना थिए । अर्का विद्यार्थी रामकृष्ण बुढथापा थिए । विष्न सुनारले एसएलसी पास गरेपछि चन्दननाथ माविमै शिक्षक बने । दुर्भाग्यवश पिकनिक गएका वेला पुलबाट खसेर सुनारको निधन भयो ।

जुम्लामा शिक्षकको सरकारी नियुक्त पाउने पहिलो व्यक्ति सिजा काँडागाउँका रतिमान नेपाली हुन् । विष्न सुनारसँगै पढेका रतिमान नेपाली खलंगा बजारमा वासका लागि डेरा नपाएर सुर्खेत गएका थिए । १० कक्षा पास गरेपछि जागिरका लागि जिल्ला शिक्षा कार्यालयले नियुक्ति दिएर कालिकोटको राडु पठायो । दलित शिक्षक भनेर उनलाई घरभित्र बस्न दिइएन ।

नयाँ राष्ट्रिय शिक्षा पद्धति–२०२८ सुरु भए पनि कर्णालीका दलितका लागि ‘आकाशको फल आँखातरि मर’ साबित भयो । कर्णालीकै पहिलो विद्यालय चन्दननाथ माविमा २०३० देखि ३५ सम्म फाट्टफुट्ट रूपमा दलित विद्यार्थी देखा परे । तर, तिनीहरूले एसएलसी पास गरेनन् । मात्र एकजना बोहरागाउँका करण नेपालीले २०३३ सालमा चन्दननाथ माविबाटै एसएलसी पास गरे । पढाइमा अब्बल करण नेपाली पनि दलित र गैरदलितहरूमा नमुना बने ।

विद्यालयमा दलित विद्यार्थीहरूको प्रवेश गर्न दुई कुराले समस्या थियो । पहिलो उनीहरू आफँै पनि सचेत र उत्साहित थिएनन् । दोस्रो, विद्यालयमा आइसके पनि गैरदलित विद्यार्थी, शिक्षकहरूबाट हुने विभेद, घोचपेच र अछुतको व्यवहारले दलित विद्यार्थीलाई असहज हुन्थ्यो । त्यतिवेला आजका जस्ता होटेल, खाजा पसलहरू थिएनन् । आफ्नै घरबाट बनाएका रोटी लिएर विद्यालय जान्थे, विद्यार्थीहरू । उनीहरू पनि दलित विद्यार्थीबाट रोटी छोइन्छन् कि भनेर निकै चिन्ता गर्थे ।

विज्ञान र गणितमा स्नातक गर्ने कर्णालीमै पहिलो व्यक्ति मालाभिड गाउँका लोकराज चौलागाईं शिक्षक बनेर गाउँ आए । बुबाको निधन भएपछि चौलागाईंलाई विद्यालय नजान दबाब दिइयो । यसको कारण थियो, दलित विद्यार्थीबाट छोइने र उनीहरूसँग बोल्नुपर्ने समस्या । तर, चौलागाईंले मानेनन् । सामाजिक र पारिवारिक दबाबका बाबजुद सेतो कपडामै भए पनि विद्यालयमा गएर अध्यापन गरिरहे । गैरदलितबाट जातीय विभेदविरुद्व त्यो एउटा विद्रोह थियो ।

दलित विद्यार्थीहरूलाई विद्यालयमा ल्याउने काम तीव्रताका साथ अघि बढ्यो । कारण थियो सरकारले विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी दिने नीति । यसका लागि पनि शिक्षक र समिति दुवै जुटेका थिए । तर, अधिकांश दलितहरूले आफ्ना छोराछोरी विद्यालय पठाएनन् । पठाउनेले पनि बढीमा चार वा पाँच कक्षासम्म मात्रै पठाए । बुबाआमालाई सघाउने भइसकेपछि किन जान्थे र उनीहरू विद्यालय रु

कालिकोटको बडीमालिका मावि २०३२ सालमा मावि सञ्चालन भएको हो । २०३५ सालसम्म एकजना पनि दलितले एसएलसी पास नगरेको भन्छन्, कालिकोट रास्कोटका प्रख्यात देउडा खेलाडी नेत्रराज शाही । उनका अनुसार हालसम्म त्यस क्षेत्रमा कोही पनि माविस्तरको शिक्षक छैनन् । चन्द्र सार्की प्राविका प्रअसम्मको जिम्मेवारीमा छन् । प्रेम दर्जी इन्जिनियर छन् । यो पछिल्लो अवस्थामा दलितहरूको शैक्षिक रफ्तार निकै अघि बढेको छ ।

२०४६ को जनआन्दोलनसम्म कछुवाको गतिमा अघि बढेको दलितहरूको शिक्षा प्रजातन्त्रको पुनस्र्थापनापछि ह्वात्तै बढेको पाइन्छ । यसको श्रेय प्रजातन्त्रलाई जान्छ । विशेषगरी, भूमिगत रूपमा जनपक्षीय राजनीति गर्दै आएका राजनीतिक दलहरूले जातीय विभेदविरुद्ध गरेको संघर्षको परिणाम थियो ।

शिक्षामा दलित जागरण ल्याउने श्रेय पञ्चायत इतर पक्षका वामपन्थी र प्रजातान्त्रिक शिक्षकहरूलाई नै जान्छ । समाजमा शिक्षकहरू नै थिए जातीय विभेद तोड्ने प्रथम प्रहारकर्ता । तर, कम्युनिस्ट विचार इतरका शिक्षकहरूबाट विभेद कायमै राख्ने काम भयो । विद्यालयका भोज, पिकनिक र सांस्कृतिक कार्यक्रम आदिमा दलित विद्यार्थीहरू उत्साहजनक रूपमा सहभागी हुन्थे । यसले उनीहरूलाई शिक्षा आर्जनमा सहभागी हुन हौसला मिल्यो ।

शिक्षाको वातावरण बनिरहेका वेला २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो । यसले मानिसको मनले स्वीकार नगरे पनि बलपूर्वक जातीय विभेद समाप्त पार्ने संगठित प्रयास भए । माओवादीले गरेको गैरदलितको घरमा दलितको सानदार प्रवेश इतिहासमा कसैले गर्न नसकेको काम थियो ।

सदियौँदेखिको विभेद र छुवाछुतको फलामे ढोका ह्वात्तै खुलेको थियो । सुरुका दिनमा बलपूर्वक भनिए पनि पछि मानिसहरू सामाजिक अन्तर्घुलनमा अभ्यस्त भए । यसवेला पनि शिक्षामा गुणात्मक परिवर्तन हुन सकेन । यस दौरानमा सयौँ शिक्षक र हजारौँ विद्यार्थी युद्धमा सामेल भए । दलितहरूका छोराछोरी त अधिक संख्यामा युद्धमा सहभागी बने ।

नेपालमा लोकतन्त्रको स्थापनापछि दलितहरूको शैक्षिक विकासमा द्रुत गतिले प्रगति भएको छ । विस्थापित भएकाहरू घर फर्किए, विद्यालयहरू सुचारु भए । सबै राजनीतिक दल गाउँ पुगे । विकास र शैक्षिक सुधारका कुरा गर्न थाले । २०६३ को अन्तरिम संविधानले शिक्षालाई मौलिक हकका रूपमा राख्यो । संविधानसभाको निर्वाचनपछि नयाँ सरकार बन्यो । कर्णालीमा नयाँ–नयाँ विद्यालय खुले ।

संविधानले समानुपातिक र समावेशी सिद्धान्तलाई अंगीकार गर्‍यो । दलितहरूले निजामती सेवालगायत जागिरमा आरक्षण पाउने भएपछि आफ्नै घरछेउमा पढेका दलितहरूले जागिर पाए । उनीहरूकै भाइ छोरा आज खरिदार सुब्बा भएर कुर्सीमा बसेको देखेपछि अब शिक्षाको महत्व झल्कियो ।

आज हरेक दलित बालबालिका विद्यालयमा गइरहेका छन् । विद्यालय जाने दलित बालबालिका संख्यात्मक रूपमा निकै बढी भए पनि विभिन्न कारणले शैक्षिक गुणस्तर विकास हुन सकिरहेको छैन । जसका छोराछोरी विद्यालय जान्छन् तिनका अभिभावकको विद्यालयमा पहुँच छैन । दलित विद्यार्थीको अभिभावकको नाममा टाठाबाठाहरूले आज पनि विद्यालयमा राजनीति गरिरहेका छन् ।

बदलिएको आर्थिक पक्ष
कर्णालीको अर्थव्यवस्था पूर्णरूपमा गुजारामुखी कृषिमा आधारित छ । कृषिमा आधारित अर्थतन्त्रको पूर्वाधार जमिन र पशुधन नै हो । दलितसँग यी दुवै कुराको कमी छ । गैरदलितले दलितलाई जमिनको स्वामित्वबाट टाढा राखे । अरूको जमिनमा ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दा उनीहरूसँग आफ्नो खेती विस्तार गर्ने ध्यान पुगेन ।

कृषिबाट वञ्चितीकरणमा परेका दलितहरूको मन बुझाउने एउटा ठाउँ लगिदारी प्रथा हो । प्रत्येक दलितले उनीहरूका लगिलाई सम्पत्तिकै रूपमा लिन्छन् । धेरै संख्यामा लगि हुनुलाई दलितहरू आम्दानी धेरै भएको मान्छन् । लगिहरूबाट हरेक वर्ष बीउ राख्ने वेला दुई–चार पाथी धान बीउका रूपमा लिने हक हुन्छ ।

जसलाई बियती भन्ने गरिन्छ । त्यस्तै, हिउँदका वेला हिउँदेती पनि लिने गर्छन् । सबैभन्दा ठूलो त उनीहरू वर्षभरिको खेती भित्र्रयाउने वेला धनी लगिहरूबाट एक–दुई क्विन्टल र गरिब लगिहरूबाट कम्तीमा १०, २० केजीसम्म हरेक बालीबाट लिने गर्छन् । यसको बदला उनीहरू लगिले बोलाएका वेला काममा सघाउ पुर्‍याउने गर्छन् । जसलाई उब्भार जाने भनिन्छ । उब्भार जाने पनि धेरै दिन हुँदैन, बढीमा एक–दुई दिन त्यसभन्दा बढी काममा गएपछि ज्याला लिने गरिन्छ ।

खेतीको काममा मात्रै होइन, लुगा सिलाउने बेला दमाईंहरू लगिका घरमा आएर दुई–चार दिन बसेर लगिका घरका पूरै कपडा सिलाएर जान्छन् । लुगा सिलाइसकेपछि उनीहरू खर्च र ल्हाँजा ९ज्याला० लिन्छन् । आफ्ना लगिको घरमा अरू कोही आएर लुगा सिलाउन पाउँदैनन् । दलितहरू आफूलाई आवश्यकता पर्‍यो भने लगिलाई पनि बेचिदिन्छन् । यसरी लगि बेचेका थुप्रै उदाहरण भेटिन्छ । तर, उनीहरू सितिमिति लगि बेच्दैनन् । किनकि लगिहरू उनीहरूका पैतृक सम्पत्तिसमान हुन् ।

कर्णालीमा उद्योग व्यापारलाई मध्यमस्तरको पेसा मानिन्छ । चलाख र चतुर व्यक्तिले व्यापारबाट राम्रो आम्दानी गरेको पाइन्छ । व्यापारका लागि पुँजी र विश्वास चाहिन्छ । थुप्रै मानिसको सम्पर्कमा आउनुपर्ने हुन्छ । छुवाछुत प्रथाले दलितहरूले व्यापार–व्यवसाय अँगाल्न सकेनन् ।

दलित भन्नासाथ पानी नचल्ने, वास बस्न समस्या पर्ने र उधारो कारोबारका लागि विश्वास नहुने हुँदा उनीहरूको व्यापार अगाडि बढेन । व्यापारका नाममा उनीहरूले आफ्नै हातले बनाएका कृषि औजार हलो, जुवाली, मई, आँसी, कुटा, नुंग्र्या, डोका स्याँकु, माटाका हाँडा आदि र दमाईंले लुगा कपडा सिलाएर टोपी, थैलो आदिबाट पटके र छिटफुट रूपमा बिक्री गरेर जीविका चलाउँछन् । हातेकाम कठिन र समय लाग्ने भएकाले त्यस प्रकारको उद्योग र व्यापारबाट फाइदाजनक नहुने पक्का थियो । परिणामस्वरूप दलित उद्योग र व्यापारबाट वञ्चित भए ।





error: Content is protected !!