चिउरी कटानले मह उत्पादन घट्यो

हेमन्त न्यौपाने
जाजरकोट ः वर्षेनी वन ,जंगल फडानी गरि ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फुल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।

जिल्लाको नलगाड नगरपालिका , भेरी नगरपालिकामा चिउरीको जंगल मासिने क्रम बढेको छ । पशुचौपायलाई घाँस खुवाउन समेत चिउरीकै प्रयोग गर्दा फुल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठको रुपमा समेत जथाभावी सामुदायिक वन समुहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ । चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्वर बस्नेतले जानकारी दिनुभयो । अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ ।

त्यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले इकोसिस्टमसँग सवै एक अर्कासँग सम्वन्ध राख्ने भएकाले वन जंगल संरक्षण गर्नु नै पहिलो दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो , “ अव चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरि सवैलाइ बुझाउनु पर्ने आवश्यकता महसुस भएको छ । मह उत्पादन भेरी नगरपालिका –१ मा बढी हुँने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ ।” जाजरकोटको ब्राण्डको रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउदा सरोकारवाला निकाय चिन्तित भएको मौरी जोनले बताएको छ ।

बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोत देखि यसको फलबाट उत्पादन हुँने बिभिन्न वस्तुहरुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ । वैज्ञानिक  gfdDiploknema butyrcea (Roxb.)H.J.Lam  भएको चिउरी क्बउयतबअभबभ परिवारमा पर्छ । अंग्रेजीमा यसलाई Sapotaceae भनिन्छ । समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटर सम्म अग्लो हुन्छ ।

घमाईलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।
हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् ।

 

चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।

चिउरीको बिउबाट विरुवा उमारेर रोप्नु राम्रो हँुने डिभिजन वन कार्यालयका प्रमुख वसन्तवावु श्रेष्ठले जानकारी दिनुभयो । असार साउनमा पाकेर पहेंलो भएको फलबाट बिउ निकाल्नु पर्छ । बिउलाई धोएर छायाँमा सुकाउनु पर्छ । फलबाट निकालेको सात दिन भित्र रोपेको बिउ राम्ररी उम्रन्छ । पात कुहेर बनेको जंगलको मलिलो माटो १ भाग, वालुवा एक भाग र राम्ररी पाकेको गाईवस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडि देखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौ सम्म नै विउ रोप्न सकिन्छ । चिउरी रोपेको बाह्र बर्षदेखि ७० बर्षसम्म राम्रो फल्ले विज्ञको भनाइ छ ।

फल संकलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए ईजाजत लिनुपर्छ र बिक्री गर्नुअघि एक किलोग्रामको ३ रुपैयाँ राजस्व तिर्नुपर्छ । तर जाजरकोटका वन जंगलमा जथाभावी संकलन कार्य हुँदै आएको छ । सामुदायिक वन भएकाले यहाँ कुनै खास नियम निर्माण नगरी जथाभावी संकलन गरिदै आएको छ । जाजरकोटमा कति प्रतिशत चिउरी छ भन्ने यकिन तथ्यांक भने भेटिएको छैन । जिल्ला समुद्र सतहबाट ६१० देखि ५,४३५ मिटर उचाइसम्म फैलिएको छ । जिल्लामा कूल वनजंगलले ढाकेको क्षेत्रफल १ लाख २४ हजार ५९८ हेक्टर छ ।





error: Content is protected !!