प्रेम शक्ति हो

प्रेम आफैँमा रहस्यमय भावना हो, हामी आफू प्रेममा पर्दा त्यसलाई अनुभूति गर्न सक्छौँ, तर प्रेम के हो, कसैले भन्न सक्दैन

प्रेमबारे ग्रिकमा एउटा प्रचलित पौराणिक कथा छ । सुरुमा भगवान्ले मानिस बनाउँदा मानिसको चारवटा खुट्टा, चारवटा हात र दुइटा टाउको भएको मानिस बनाए । ती मानिस निकै शक्तिशाली थिए । त्यतिवेला यी मानिस यति शक्तिशाली, निडर थिए कि उनीहरू भगवान्लाई धम्काउन थालेका थिए । उनीहरू भगवान्लाई युद्धमा हराएर आफँै नयाँ भगवान् बन्न खोज्दै थिए । यो उद्दण्डताले भगवान् एकदम रिसाए र एक दिन भगवान्ले मानिसलाई दुई टुक्रा पारेर काटिदिए । त्यो दिन पछि हरेक मानिसले आफ्नो अर्को भाग खोज्दै छ । भनिन्छ, प्रेम त्यही खोजी हो । दार्शनिक प्लेटोका अनुसार हामी आफूलाई पूर्ण बनाउन प्रेम गर्छौँ । प्रेमलाई केही दार्शनिक आफूभित्रको एकान्तपनको उन्मुक्तिको रूपमा पनि व्याख्या गर्छन् । प्रेम आफैँलाई आफ्नो दायरा बाहिर लाने प्रक्रिया पनि मानिन्छ । प्रेम मानव इतिहासमा सबैभन्दा बढी व्याख्या अनि बहस गरिएको विषय हो । दार्शनिक, न्युरो बायोलोजिस्ट, मनोविज्ञ, कवि, लेखक सबले प्रेमलाई व्याख्या गर्ने प्रयास गरेका छन्, तर प्रेमको रहस्य कसैले सुल्झाउन सकेको छैन । त्यसैले प्रेम भनेको यही हो भनेर भन्न कसैले सक्दैन ।

प्रेमको वैज्ञानिक व्याख्या मलाई अलि निर्मम लाग्छ । मस्तिष्कमा भएको रसायनलाई अर्को व्यक्तिको उपस्थितिले उत्तेजित गर्नु र त्यो उत्तेजनाको जब बानी बन्छ, त्यो बानीलाई प्रेम भनिन्छ । उत्तेजना कम हुन थाल्यो भने प्रेम घट्छ । उत्तेजना बढ्यो भने प्रेम बढ्छ । प्रेमबारे विज्ञानको व्याख्या सुन्ने हो भने प्रेम अन्यायमा परेझैँ लाग्छ । धेरै साथीहरू, भाइबहिनीहरू, युवाहरू आफूले प्रेम गरेको मानिसलाई गुमाउँदा संसार नै नै गुमाएझैँ गर्छन् । त्यो अवस्थामा रहेका भाइबहिनीहरूलाई ‘यो समय पनि गुज्रिन्छ’ भनेर बुझाउन गाह्रो हुन्छ । झन् अहिले त रोमान्टिक फिल्म र उपन्यासहरूका कारणले उनीहरू झन् प्रेममा डुबेको महसुस गरिरहेका हुन्छन् । प्रेम युवापुस्ताका निम्ति सबैभन्दा कुतूहलको विषय हो । तर, हामी यो विषयमा खुलेर बोल्न वा छलफल गर्न हच्किन्छौँ । प्रेममा केही विकृति र प्रश्न उब्जिन थालेका छन् । प्रेममा असफल हुँदा आत्महत्या गर्ने वा दुव्र्यसनको कुलतमा फस्ने प्रवृत्ति पनि देखिँदै छ । प्रेमको नाममा व्यक्तिगत फाइदा उठाउँदै प्रेमी–प्रेमिकालाई फसाएर आफ्नो स्वार्थ पूरा गर्ने जमात पनि राम्रै देखिँदै छ । बुझेर–नबुझेर प्रेमकै कारण आफ्नो जीवन वा पढाइ पनि बर्बाद गर्ने जमात पनि हाम्रोमा सानो छैन ।

प्रेम आफैँमा रहस्यमय भावना हो । हामी आफू प्रेममा पर्दा त्यसलाई अनुभूति गर्न सक्छौँ, तर प्रेम के हो कसैले भन्न सक्दैन । प्रेम त भावनाको सँगालो हो । यो चामत्कारिक भाव हो । प्रेम अस्थायी वा स्थायी लत हो । प्रेम कहिलेकाहीँ आफूभन्दा अरूलाई विश्वास गर्नु पनि हो । आफूलाई मन परेको मानिसका लागि बाँच्नु, आफूले मन पराएको मान्छेसँगै बाँच्नु पनि प्रेम हो । तर, केही प्रेमी–प्रेमिकाले आफूले प्रेम गरेको मानिस आफूसँग नहुँदा अर्को पक्षलाई हानि पुर्‍याइरहेका हुन्छन् । अनादर गरिरहेका हुन्छन् । कहिलेकाहीँ दुःख दिइरहेका हुन्छौँ । शारीरिक पीडा दिनु त प्रेम हुँदै होइन । प्रेम हाम्रो शक्ति बन्नुपर्छ, कमजोरी होइन । हामी प्रेममा केही कुरा ध्यान दिन सके सही प्रेम र गलत प्रेमबारे सजग रहन सक्छौँ ।

प्रेम भनेको स्वीकारोक्ति हो । म तिमीलाई तिम्रो कमजोरीसहित स्विकार्छु भन्नु र दुवैका कमजोरीका खाडललाई पुर्नु प्रेम हो । सधैँ सबै आफूले खोजेजस्तो अनि भनेजस्तो हुँदैन भनेर बुझ्नु नै प्रेम हो ।

पहिलो, एकले अर्कालाई दुई–तीन दिन नदेखेर भेट्न खोज्नु वा तड्पिनु प्रेम हो । तर, सधैँ पाँच–पाँच मिनेटमा प्रेमी–प्रेमिकालाई मिस गर्नु स्वस्थकर प्रेम होइन । यस्तो गतिविधि सम्बन्धको सुरुवातमा त ठीक लाग्छ, आफू भाग्यमानी रहेको जस्तो महसुस हुन्छ, ज्याक्पोट नै हात लागेझैँ खुसी मिल्छ, तर यस्तो प्रेम अलि समयपछि चिनी धेरै भएको चियाजस्तो हुन्छ । कहिलेकाहीँ हामी पागलपनलाई प्रेम भन्ने ठान्दा रहेछौँ । प्रेम र पागलपनबीचको फरक छुट्याउन सक्नुपर्छ । प्रेमी–प्रेमिका व्यस्त रहेको थाहा पाउँदा–पाउँदै पनि सम्पर्क गरिरहने र सास फेर्ने स्पेस नै नदिने प्रेम स्वस्थ प्रेम होइन । प्रेमले निरन्तरता खोज्छ, व्यग्रता होइन । दोस्रो, कहिलेकाहीँ हामी प्रेममा यत्ति डुब्छौँ कि हामीले आफ्नो प्रेमी–प्रेमिकाबाहेक अरू देख्दैनौँ । हामी उनीहरूलाई उनीहरूको परिवार वा साथीभाइलाई समेत गलत देखाएर आफ्नो नजिक ल्याउन खोज्छौँ । यो स्वस्थकर प्रेम होइन । अरूलाई गलत देखाएर आफू राम्रो बनेर प्रेम सफल हुन सक्दैन । हामीले प्रेमपूर्वका सम्बन्धलाई आदर गर्न सक्नुपर्छ । सारा संसार गलत छ, म भने सही छु भन्नु प्रेम होइन । प्रेममा परेको व्यक्तिले आफ्नो अनुपस्थितिमा आफ्नो प्रेमीको सपोर्ट सिस्टम अर्थात् उसको परिवार वा साथीहरूको उचित आदर गर्नुपर्छ ।

तेस्रो, प्रेममा ईष्र्या घातक हुने गर्छ । कहिलेकाहीँ हामी प्रेममा यति शंकालु हुन्छौँ कि हामी हाम्रो प्रेमी–प्रेमिकाको सम्पूर्ण गतिविधिलाई नै नियन्त्रण गर्न खोज्छौँ । कोसँग कहाँ छौँ ?  आज कोसँग बोल्यौँ रु कोसँग साथी बन्ने ? कसलाई लाइक गर्ने ? कसलाई लाइक नगर्ने ?  वा, प्रेमी–प्रेमिकाको पिछा गर्ने, सबै समय नियन्त्रणमा राख्न खोज्नु स्वस्थकर प्रेम होइन । ईर्ष्या र शंकाले अविश्वास जन्माउँछ अनि अविश्वासले सम्बन्ध कमजोर बनाउँछ । प्रेममा एक हदसम्म ईष्र्या हुनु सामान्य हो, तर उग्र ईष्र्या डरलाग्दो नै हुन्छ । प्रेमलाई डर, रिस, धम्कीले बलियो बनाउँदैन, बरु झन् कमजोर बनाउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

चौथो, प्रेम शक्ति हो, कमजोरी होइन । आज मेरो परीक्षा छ भनेर आफ्नो प्रेमीले भन्दै गर्दा शुभकामना दिएर परीक्षामा सफल हुन हौसला दिनुपर्छ, न कि रिसाएर तिम्रो परीक्षाको मतलब छैन वा तिमी असफल हुन्छौँ भनेर रिस पोख्ने । अस्वस्थकर प्रेममा शब्दहरू प्रायः हतियारको काम गर्ने गर्छन् । सुरुमा त्यति वास्ता नगरे पनि समयसँगै यस्तो प्रेममा प्रेमी–प्रेमिकाले एकअर्कासँग असहज महसुस गर्न थाल्छन् । प्रेमी–प्रेमिका एक–अर्कासँग बस्दा आफूलाई कमजोर महसुस गर्छन् । झन् आफ्नो प्रेमीको मजाक उडाउने, साथीको अगाडि हेप्ने, होच्याउने बानी निकै नराम्रो हो । प्रेममा त समर्थन गर्ने हो । साथ दिने हो । प्रेमले आत्मविश्वास थप्नुपर्छ, भएको आत्मविश्वास पनि गिराउने काम गर्नुहुन्न ।

पाचौँ, अस्थिरता सफल प्रेमका लागि त्यति स्वस्थकर होइन । सानो कुरामा कहिले अत्ति प्रेम र फेरि सानो कुरामा विछोडतिर जाने प्रेम स्थिर नरहन सक्छ । प्रेम भनेको स्वीकारोक्ति हो । म तिमीलाई तिम्रो कमजोरीसहित स्विकार्छु भन्नु र उसको कमजोरीका खाडललाई पुर्नु प्रेम हो । सधैँ सबै आफूले खोजेजस्तो अनि भनेजस्तो हुँदैन भनेर बुझ्नु नै प्रेम हो । राम्रो भएको वेलामा ज्यान नै दिन खोज्नु र केही परे ज्यानै लिन खोज्नु प्रेम होइन, पागलपन हो । हामीले के बुझ्नुपर्छ भने प्रेम देखाउने कुरा होइन । प्रेममा लामो समय ढाँट्न सकिँदैन । त्यसैले कुन प्रेम सफल बनाउने अनि कुन प्रेम असफल हुन्छ, त्यो धेरै हदसम्म व्यक्तिको व्यवहारमा भर पर्ने रहेछ । प्रेममा हामीले आफूलाई कन्ट्रोल गर्न सकेनौँ भने प्रेम दुर्घटित हुन सक्छ । प्रेमले थप सास्ती दिन्छ भने त्यसको सुरक्षित अवतरणतर्फ लाग्नु नै बेस हुन्छ । विछोडले दुईमध्ये एकलाई मात्र पनि राम्रो गर्छ भने विछोड पनि प्रेमकै गन्तव्य हो भनेर स्विकार्नुपर्छ । तसर्थ, प्रेममा स्वमूल्यांकन आवश्यक छ । हामीले के बिर्सिनुहुन्न भने प्रेम पनि कला हो । प्रेम गर्न सिक्नु पनि सीप हो ।

एक–अर्कालाई प्रेम गर्दै गर्दा आफूलाई थप निखार्न अनि तिखार्न सक्नुपर्छ । प्रेमले त एक–अर्कालाई सफल बन्न प्रेरित गर्ने हो । कमजोर बनाउने, असफल बनाउने, सबै कुरा गुमाउन उक्साउने प्रेम कसरी हुन्छ र ?

प्रेमलाई सफल बनाउने पहिलो बाटो भनेको एक–अर्कालाई बुझ्ने हो । दोस्रोमा, एक–अर्कालाई आदर गर्ने हो । विश्वास अनि आदर भन्ने कुरा मनबाट गरे–नगरेको अर्कोले महसुस गर्ने भाव हो । देखावटी गर्दा पनि अर्कोले बुझ्ने हुन्छ । तसर्थ, यी दुईमा हामी इमानदार बन्न सके प्रेमले दुवैलाई राम्रो गर्छ । निरन्तरको संवाद, आपसी सद्भाव, आदर, धैर्यताजस्ता कुरा सफल प्रेमको आधार हुन् र हामीले यी कुरा प्रत्येक दिन अभ्यास गर्न सक्छौँ । यसले हामीलाई थप असल प्रेमी बनाउन सहयोग पुर्‍याउँछ । फेरि पनि यसले पर्फेक्ट त बनाउने होइन, तर यसले तपाईंलाई थप राम्रो भने बनाउँछ । प्रेम फेरि आफैँमा उत्कृष्टताको खोजी पनि त होइन नि । यो त स्वसुधारको मार्ग हो । त्यसैले त प्रेम प्रक्रिया हो, यात्रा हो । परिणाम वा गन्तव्य होइन ।

के तपाईं आफ्नो प्रेमीलाई माया गर्नुहुन्छ ?  प्रमाणित गर्नुस् । कसरी प्रमाणित हुन्छ प्रेम रु प्रेमलाई प्रमाणित गर्न सकिँदैन । ल उसो भए भन्नुहोस्, तपाईंको प्रेम कहिले बस्यो रु गते वा बार भन्न सक्नुहुन्छ रु फेरि भन्छु, प्रेम भनेको प्रक्रिया हो, अनुभूति हो, नतिजा होइन । हामीले मनपरेको मान्छेलाई प्रेमपत्र दिन्छौँ, त्यो व्यक्तिले पत्र दिनेबित्तिकै स्विकार्छ भन्ने छैन । अनि, के हामीले पत्र दिन छाड्छौँ रु मन पराउन छाड्छौँ रु छाड्दैनौँ । त्यसैले त प्रेम प्रक्रिया हो, समय हो, यात्रा हो । लेखक साइमन सिनेकले प्रेमलाई व्याख्या गर्दा दिएको उदाहरण महत्वपूर्ण छ । हामीले वर्षमा दुईचोटि डाक्टर भेटेर दाँत बलियो हुँदैन । दाँत बलियो बनाउन दिनको दुईचोटि माझ्नुपर्छ । त्यस्तै प्रेम निरन्तरको अभिव्यक्ति हो । प्रेमिकाले तपाईंले भ्यालेन्टाइन डेमा गिफ्ट दियो भनेर माया गर्ने होइन, न त बर्थ डेमा सुरुमै शुभकामना दियो भनेर, प्रेम त प्रत्येकचोटि उसलाई भेट्दा फोनलाई भन्दा उसलाई महत्व दिनुमा छ । कलेजबाट वा अफिसबाट फर्केर आफ्नो तनाव सुनाउनुभन्दा पहिले उसको कुरा सुन्ने धैर्यतामा छ । आफ्नो पार्टनरले नभनीकन उसलाई काममा सघाउनुमा छ । प्रेम जीवनको आत्मा हो । प्रेमविना जीवन जीवन्त बन्न सक्दैन ।

मैले भाषण गरेकै कुरा वा अरूलाई सुझाएकै कुरा, म मेरै जीवनमा पूर्ण रूपमा लागू गर्न सक्छु भन्ने छैन । म मेरी श्रीमतीसँग विनाकारण रिसाउँछु । आमासँग झर्किन्छु । छोरालाई चिच्याएर गाली गर्छु । मलाई थाहा छ, यो गलत हो । मलाई थाहा छ, यी कुरा गर्नु स्वस्थ प्रेम होइन । तर, पनि मबाट यी भइरहेका हुन्छन् । गल्ती भएपछि म मैले गलत गरेँ भनेर महसुस गर्छु, ठूलो गल्ती हुँदा माफी पनि माग्छु, अब गल्ती नदोहो¥याउने प्रण आफैसँग गर्छु र आफूलाई सुधार्छु । प्रेम आत्मस्वीकारोक्ति र निरन्तरको सुधारको अभिव्यक्ति पनि हो । अभिव्यक्त गर्नु पनि आफैँमा कला हो । त्यसैले, प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण र जटिल विषय हो । सबै प्रेम सफल हुन्छन् वा असफल हुन्छन् भन्ने पनि छैन । कहिलेकाहीँ आफूले मन पराएकै मानिस पाइन्छ । कहिलेकाहीँ आफूले मन परेको मानिस गुमाइन्छ । पाउनु पनि प्रेम हो, कहिलेकाहीँ आफूलाई मन परेको मानिस गुमाउन तयार हुनु पनि प्रेम हो । प्रेमको परम्परागत व्याख्याले प्रेमी वा प्रेमिकालाई पाउनु नै सफलता हो भनेर सिकायो । तर, प्रेम प्राप्त गर्नुमा मात्र छैन । आफूले प्रेम गरेको मानिस गुमाउन तयार हुनुमा पनि प्रेम छ ।

प्रेम त ‘बन्जी जम्प’ जस्तो रहेछ । डर पनि लाग्ने, खुसी पनि मिल्ने । पीडा पनि हुने, आनन्द पनि आउने । अनुभूति र अभिव्यक्ति नै प्रेम रहेछ । आफूलाई पाउने पनि प्रेम, आफैँलाई गुमाउने पनि प्रेम । मुटु टुटाउने पनि प्रेम, मुटु जोड्ने पनि प्रेम । हामीले जीवनको साँचो र पूर्ण अनुभूतिका लागि प्रेम गर्नुपर्छ । प्रेमसँग डराएर भाग्ने होइन, प्रेमलाई सामना गर्न तयार रहनुपर्छ । कसैको मेसेजका लागि घन्टौँ कुर्नु, कसैलाई हेर्न आँखा छटपटाउनु, कसैलाई भेट्दा मुटुको धड्कन बढ्नु, कसैको मुस्कान देख्दा सबै पीडा हराउनु, कसैलाई आफूभन्दा धेरै माया गर्नु सबैभन्दा मिठो अनुभूति हो । तपाईँहरू पनि यो अनुभूति जीवनमा अनुभूत गर्न नछोड्नुहोला ।

प्रेमले पढाइ वा करियर बिगार्ने होइन, प्रेमले पढाइ वा करियरलाई सहयोग गर्न सक्नुपर्छ । एक–अर्कालाई प्रेम गर्दै गर्दा आफूलाई थप निखार्न अनि तिखार्न सक्नुपर्छ । प्रेमले त एक–अर्कालाई सफल बन्न प्रेरित गर्ने, जित्न सहयोग गर्ने, दुवैको पढाइ सुधार्ने, दुवैलाई सफल बनाउने हो । कमजोर बनाउने, असफल बनाउने, सबै कुरा गुमाउन उक्साउने प्रेम कसरी हुन्छ र रु फेरि, प्रेम यो उमेरमा अहिले गर वा नगर भनेर रोक्न सकिँदैन । प्रेम आँखा खोलेर गर्ने हो भने प्रेम गर्ने उमेर हुँदैन । तर, हामीले प्रेम गर्दै गर्दा आफ्नो उद्देश्य र गन्तव्य भने भुल्नु हुँदैन ।





error: Content is protected !!