काइकेको प्रत्येक घरधुरीलाई ग्यास

हेमन्त न्यौपाने
जाजरकोट – दाउरा कम पाइने मध्य डोल्पाको काइके गाउँपालिकामा सवै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ ।
दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलाहरुलाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुइ वटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमूख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो । ७ वटा वडा रहेको काइके गाउँपालिकाको कूल जनसंख्या ५ हजारको हाराहारीमा रहेको छ ।

सरकारी कार्यालय , प्रहरी चौकी र विद्यालय गरी जम्मा १ हजार ५० घरधुरी रहेको काइकेमा फागुनको पहिलो साता भित्र सवैको घर, घरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिनुभयो । १ करोड १ लाख २५ हजार रुपैयाँमा उपभोक्ता समिति मार्फत ग्यास खरिद गरिएको उहाँको भनाइ छ । वन जंगल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।

अत्यधिक चिसो रहेको यहाँ दाउराबाट आगो बाल्न मुस्किल हुँनुका साथै काममा निस्किदा समेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस भनि यो ग्यास खरिद गरि गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”

नेपालगन्जबाट खरिद गरि मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पा सम्मा यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइके सम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिनुभयो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ ।

२ हजार सिलिण्डर र १ हजार ५० चुलो वितरण हुँन लागेको हो । गाउँपालिकाको यो कार्यबाट सवै भन्दा बढी यहाँका महिलाहरु खुसी भएका छन् । घरियासी काममा व्यस्त हुँने यहाँका महिलाहरु सधै खाना पकाउन र बालबालिकालाई खाजा पकाउदा हैरान हुँदै आएका थिए । ग्यास पाउने भएपनि आफू निकै खुसी भएको कार्यपालिका सदस्या थललक्ष्मी रोकायले जानकारी दिनुभयो । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानी देखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लिनुपर्ने बाध्यता रहेको छ ।

प्रत्येक घरलाई ढुवानी अनुदानको पिठो

डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयलाई घरपिच्छे एक ,एक क्विन्टल पिठो (मैदा) ढुवानीमा अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकामा करिब ४ सय ९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिनुभयो ।

एक क्विन्टल पिठोमा ७ हजार रुपैयाँ अनुदान दिइएको छ । बाँकी ७ हजार रुपैयाँ भने स्थानीयवासी आफैंले बेहोरेका छन् । नेपालगन्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पु¥याउन १४ हजार रुपैयाँ लाग्छ । कोरोना महामारीका कारण स्थानीयको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उहाँले बताउनुभयो  । गाउँपालिकाले चालु आर्थिक वर्षमा पिठोमा अनुदान दिन रु ५० लाख रुपैयाँ छुट्याएको थियो । ‘ढुवानी खर्च धेरै महँगो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ  अधिकृत पंगेनीले भन्नुभयो ।

यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्चागुम्बु हो । उनीहरूले यार्चागुम्बु बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सरसामान किन्ने गर्छन्  । तर, यस वर्ष कोरोना महामारीका कारण न त यार्चागुम्बु टिप्न पाए, न व्यापार मेला नै हुन सक्यो । जसले गर्दा आम्दानी मात्रै गुम्नुका साथै खाद्यान्नलगायत सामग्रीसमेत किन्न समेत नपाएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताउनुभयो  । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा बर्सेनि स्थानीयले खाद्यान्न संकट भोग्दै आएका उहाँले गुनासो गनुभयो । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँसम्ममा बिक्री हुँने गर्दछ ।





error: Content is protected !!