कुसंस्कार हटाउँदै किशोरी

कालीकोट – दुई वर्षसम्म उनी छाउगोठमा बसिन् । छाउगोठ बसाइले यतिसम्म चोट र पीडा दियो कि नरहरिनाथ–३ कुमालगाउँकी सकुन्तला बुढा (१६ वर्ष) ले सामाजिक व्यवस्था नाघेर रजस्वला हुँदा छाउगोठ बस्न छाडिदिइन् ।
यो सिलसिला सुरु भएको पनि एक वर्ष पुग्यो । पछि उनी आबद्ध मस्टा किशोरी समूहले छाउप्रथाविरुद्ध अभियान चलाउने निर्णय नै गर्यो । त्यसयता समूहमा आबद्ध २० किशोरी छाउगोठमा बसेका छैनन् । उनीहरूकै प्रेरणाले झन्डै ६० किशोरीले पनि गोठ छाडेका छन् ।
‘सुरुमा त आमाबुबाले नै कुरा काटे,’ उनले भनिन्, ‘अहिले सबैले हाम्रो अभियानको प्रशंसा गर्छन् ।’ उनी अहिले रजस्वला भएको बेला घरमै छुट्टै कोठामा सुत्छिन् भने घरमै पाकेको खान्छिन् । उनकी छिमेकी बबिता बुढाले पनि छाउगोठ छाडेको धेरै भयो । ‘हामीले सम्झाएपछि आमाले पनि छाउ बार्न छाड्नु भो,’ उनले भनिन्, ‘घरमै बस्दा विभिन्न त्रासबाट मुक्ति पाइएको छ ।’
अहिले नरहरिनाथको लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँका अधिकांश किशोरी र महिलाले छाउगोठमा बस्न छाडेका छन् । उनीहरूले गाउँमा छाउप्रथा, बालविवाह, जातीय विभेद र लैंगिक हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिएका छन् । किशोरीको सक्रियतामा कुसंस्कारविरुद्धको अभियान प्रभावकारी बन्दै गएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । ‘अहिले विभिन्न कुसंस्कारविरुद्ध किशोरीहरूबीच व्यापक छलफल र अन्तर्क्रिया हुन्छ,’ उनले भनिन्, ‘सरकारी अभियान सफल बनाउन पनि अहिले किशोरीहरूलाई नै परिचालन गर्न थालेका छौं ।’ उनका अनुसार किशोरी समूहमा सहजीकरण गर्न गाउँपालिकाले ३० जना सहजकर्ता छनोट गरी परिचालन गरेको छ ।
पछिल्लो समय रास्कोट र खाडाचक्रका किशोरी पनि कुसंस्कारविरुद्धका अभियानमा सक्रिय हुन थालेका छन् । गाउँ–गाउँमा गठन गरिएका ९० वटा किशोरी समूहले छाउप्रथा, बालविवाह, जातीय विभेद, महिला हिंसालगायत विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनका अनुसार पोषण, खोप, गर्भजाँच, विद्यालय भर्नालगायतबारे सचेतना फैलाउन पनि किशोरी समूहलाई परिचालन गर्न थालिएको छ ।
परम्परागत रुढीवादी चलनले जरो गाडेको कालीकोटका गाउँबस्तीमा किशोरी अभियान प्रभावकारी बनेको अधिकारकर्मी कालीबहादुर मल्ल बताउँछन् । ‘किशोरीमा महिनावारी भएको बेला गर्ने सरसफाइ, खानपिन र दैनिक कामबारे पनि समूहमा छलफल हुन थालेको छ,’ उनले भने, ‘छाउप्रथा मान्न छाडेपछि किशोरीहरूको विद्यालय आउजाउ पनि नियमित बनेको छ ।’
यसअघि महिनावारी हुँदा विद्यालय नआउने छात्राहरूको पढाइ अहिले नियमित बनेको कुमालगाउँस्थित रमा माविका प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए । उनका अनुसार गाउँका अधिकांश छाउगोठ किशोरी समूहकै सक्रियतामा भत्काइएका हुन् । गत वर्ष स्थानीय प्रशासनले जिल्लाभर १८ वटा मात्र छाउगोठ फेला पारेर भत्काएको थियो ।



