प्रचण्डले ओलीलाई भने ः तपाईंले लडाइँ हार्नुभयो, भित्तामा पुर्‍याइदिन सक्छु

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड, नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्।

मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिए।

उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे।

प्रतिनिधि सभा विघटनको सिफारिसमा राजारमहाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ, उनले भने।

आफूले जनआन्दोलन, मधेश आन्दोलन जस्ता कुराको नेतृत्व गर्दै संघीयतासहितका परिवर्तन ल्याएको उल्लेख गर्दै अहिले तिनको हत्या हुन खोज्दा आक्रोश उत्पन भएको बताए।

प्रसव पीडा सहेर जन्मेको बच्चालाई हत्या गर्न लाग्दा एउटा आमालाई जस्तो हुन्छ, अहिले मलाई त्यस्तै भएको छ, प्रचण्डले भने, एउटा बघिनीलाई आफ्नो बच्चा अरूले लिएपछि जस्तो हुन्छ त्यस्तै आक्रोश ममा छ। तर मानिसहरूले मेरो भनाइलाई फरक तरिकाले बुझिरहेका छन्।

केही दिनअघि प्रचण्डले शाकाहारी आन्दोलनले केही नहुने र आफूलाई लाठी खान मन लागेको बताएका थिए। प्रचण्डले उक्त अभिव्यक्तिमार्फत् हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको भन्दै आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओलीले ठगी धन्दा गरेको पनि प्रचण्डले आरोप लगाए।

प्रधानमन्त्री बन्न जे पनि गर्नुभयो। आलोपालो प्रधानमन्त्री हुने सहमति भएकै हो। तर उहाँले कार्यान्वयन गर्नु भएन, उनले भने,पछि ठगीधन्दा गर्नुभयो।

भारतसँगको ओलीको सम्बन्धलाई इंगित गर्दै प्रचण्डले उनको राष्ट्रवाद खोक्रो भएको बताए।

उहाँ पहिला जसलाई गाली गर्नुहुन्थ्यो। अहिले उनीहरूसँगै लम्पसार परेर बस्नुभएको छ। म कसैको नाम भन्न चाहन्नँ। तपाईंको यो खोक्रो राष्ट्रवाद हो,’ उनले भने।

पार्टीको विवादले गर्दा संसद विघटन भयो भन्नु कुतर्क भएको प्रचण्डको तर्क छ।

पार्टीको विवाद पार्टीकै विधानबाट हल गर्ने हो, संसद विघटन गर्ने होइन,’ उनले भने।

ओलीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाल लगायत नेताहरूसँग आइपुगेको उनले बताए।

जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।

उनले आफू भावुक भए पनि कठोर पनि हुन सक्ने बताए।

मैले जनयुद्धको नेतृत्व गरेको हो। कठोर हुन सक्छु। तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पुर्‍याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पुर्‍याउन सक्छु,’ प्रचण्डले भने।

ओलीले लडाइँ हारिसकेको र कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने प्रचण्डको भनाइ छ।

प्रतिनिधि सभा विघटनपछि तपाईंको हातमा केही छैन। चिजहरू अन्तै छ,’ उनले भने,‘ मलाई सर्वोच्च र निर्वाचन आयोगप्रति भरोसा छ।

उनले केपी ओलीका मान्छेहरू नै सूर्य चिन्ह हाम्रो हो र सबैतिर सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भन्दै हिँडेकाले प्रश्न जन्मिएको बताए।

मेरो प्रश्न अदालत र आयोगप्रति होइन केपी गुटलाई हो, यस्तो किन भइरहेको छरुु उनले भने।





error: Content is protected !!