पदमुक्त भएको चार महिनासम्म पनि शाहले फिर्ता गरेनन् गाडी

सुर्खेत ः कर्णाली प्रदेशसभामा सत्तारुढ नेकपाका प्रमुख सचेतक गुलाबजंग शाहले पदमुक्त भएको चार महिनासम्म पनि आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छैनन् । उनलाई नेकपा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोजको अन्तिम साता प्रमुख सचेतक पदबाट हटाएका थिए ।

शाहले अहिलेसम्म प्रमुख सचेतकका रुपमा प्रदेश संसद् सचिवालयले दिएको उपलब्ध गराएको कर्णाली प्रदेश ००१ झ ००३९ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् । शाहले गाडी फिर्ता नगर्दा नवनियुक्त प्रमुख सचेतक कुर्मराज शाहीले गाडी सुविधा पाएका छैनन् ।

गाडी फिर्ता गर्न प्रदेशसभा सचिवालयबाट पत्राचार गर्दासमेत नमानेको प्रदेशसभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले सचिवालयबाट गाडी फिर्ता गर्न पत्र पठाइसकेको बताए । ‘सचिवालयबाट केही दिनअघि गाडी फिर्ता गर्न पत्र पठाएका थियौं तर, गाडी फिर्ता भएको छैन’ सचिव बुढाथोकीले भने, ‘पदमुक्त भइसकेको हुनाले उहाँले गाडी फिर्ता गर्नुपर्ने हो ।’

प्रदेश सभा सचिव बुढाथोकीले हस्ताक्षर गरेको पत्रमा कानुन बमोजिम गाडीलगायतका सुविधा सचिवालयमा फिर्ता गर्न आग्रह गरिएको छ । गएको असोज महिना मुख्यमन्त्री शाहीले आफूविरुध्द अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियानमा साथ दिएको भन्दै प्रमुख सचेतक शाहलाई पदमुक्त गरेका थिए । उनको स्थानमा सीता नेपालीलाई प्रमुख सचेतक तथा कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका थिए ।

गाडीको विषयमा प्रतिक्रिया लिंदा शाहले प्रतिक्रिया दिन चाहेनन् । ‘गाडीको विषयमा सचिवालयमा सोध्नुस’ टेलिफोनमा शाहले भने ।





error: Content is protected !!