जुवा खेल्ने क्रममा समन्वय प्रमुखसहित ५ पक्राउ

रुकुम पश्चिम – जिल्ला समन्वय समितिका प्रमुखसहित ५ जना जुवाखालबाट पक्राउ परेका छन् । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित अन्य ४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । मुसीकोट नगरपालिका–१, पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१०, का ६४ वर्षीय जितेन्द्र बुढा मगर, रुकुम पश्चिम त्रिवेणि गाउँपालिका–७, का लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का कमल गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

उनीहरुको साथबाट केही नगद र तास बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको शाहीले बताए । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।





error: Content is protected !!