बालबालिकाले कहाँ छाप्‍ने ः के पढ्ने ?

काठमाडौँ – सेन्ट जेभियर्स स्कुलमा कक्षा सातमा पढ्ने प्रकृश आचार्य दुई महिनाअघि लुक्ला घुमे । कालापत्थर पुगे । हेलिकप्टरको झ्यालबाट चिहाएर उत्साहित हुँदै सगरमाथाको बेस क्याम्प पनि हेरे ।

घुम्न लैजाने बेला प्रकृशका बुवाले उनलाई एउटा सर्त तेस्र्याएका थिए । भनेका थिए, ‘घुमाउन त लैजान्छु । तर, घुमेर आइसकेपछि तिमीले आफूलाई लागेका कुुरा लेखेर मलाई देखाउने भए मात्र ।’

१२ वर्षीय प्रकृशलाई यो सर्त पूर्णतया मन्जुर थियो । किनभने, उनका लागि यो जीवनको पहिलो र ठूलो साहसिक यात्रा थियो । जुन उनी गुमाउन चाहँदैनथे ।

घुमेर आएपछि प्रकृशले आफ्ना अनुभव बुवाले भनेअनुसार उतारे । आमाबुबा हुँदै उनले लेखेको अनुभव उनकी सानिमा आभाष्ना पाण्डेसम्म आइपुग्यो । आभाष्ना मिडिया क्षेत्रमा काम गर्ने भएकाले प्रकृशको परिवारले उनको त्यो अनुभव प्रकाशन गर्न सहयोग माग्यो । आभाष्नाले प्रकृशको घुमफिर अनुभव खरर पढिन् । सम्पादन गर्नुपर्ने खासै केही थिएन ।

तर, त्यसलाई कहाँ छाप्ने रु आभाष्नालाई फसाद पर्‍यो । उनी रनभुल्लमा परिन् । केही साथीलाई फोन गरिन् । तर, बालबालिकाको अनुभव र विचार छाप्ने त्यस्तो उपयुक्त ठाउँ कतै भेटिनन् । ‘बालबालिकाको रचना छाप्ने कुनै पत्रपत्रिकाको नामोनिसान थिएन,’ उनले दुखेसो पोखिन्, ‘नेपाली पत्रिकाकै खडेरी परेको बेला छोराको अंग्रेजी आर्टिकल कहाँ लगेर छाप्ने । म अलमल्लमा परेँ ।’

अन्तिममा एउटा अंग्रेजी अनलाइनलाई इमेल गरिदिइन् । ‘ब्लग भनेर एउटा सेक्सन छुट्याइएको रहेछ, त्यसैमा छापियो,’ उनले भनिन्, ‘तर, त्यो बच्चाका लागि भनेर छुट्याइएको प्लेटफर्म थिएन ।’

यो खडेरीपछि आभाष्नालाई लाग्न थालेको छ, ‘हामीले बच्चालाई बिर्सियौँ । कन्टेन्ट प्रडक्सन र क्रियसनमा त्यो जेनेरेसनलाई बेवास्ता गर्‍यौँ ।’

कोभिडको बहानामा पत्रपत्रिकाका पेज घटे । ती पेजमा बालबालिकासँग सम्बन्धित साप्ताहिक संस्करणदेखि पत्रिका पनि परे । कोभिड महामारीको एक वर्ष बितिसक्यो । स्कुल पनि बिस्तारै खुल्न थालिसके । तर, बालबालिकाका लागि प्रकाशित हुने ती परिशिष्टांक पुनः प्रकाशनमा अहिलेसम्म आउन सकेका छैनन् ।

आभाष्ना भन्छिन्, ‘पत्रपत्रिकाहरू सधैँ राजनीतिक कन्टेन्टले भरिएका छन् । तर, मुलुकका लागि राजनीति जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छन्, बालबच्चा पनि ।’

उनलाई लाग्छ, आजका बालबालिका नै भोलिका सिर्जनशील प्रतिभा हुन् । राय निर्माता हुन् । आलोचक हुन् । आज उनीहरूलाई बेवास्ता गर्दा भोलिको दिनमा ठूलो मूल्य चुकाउनुपर्छ जस्तो लाग्छ उनलाई । ‘मिडिया क्षेत्रकै मान्छेले बच्चाको एउटा लेख छपाउन संघर्ष गर्नुपर्छ भने आम अभिभावकको अवस्था के होला हामी अनुमान लगाउन सक्छौँ,’ उनले गुनासो पोखिन् ।

काठमाडौँ, गोकर्णेश्वर–८ स्थित चेल्सी इन्टरनेसनल एकेडेमीमा कक्षा ६ मा पढ्ने सुयोगमान सिंह बस्न्यात बालपत्रिकाहरूका नियमित पाठक हुन् । पाठक मात्रै नभएर उनी आफ्नो साइकल यात्राको अनुभव पत्रपत्रिकामा पठाइरहन्थे । उनका अनुभूति छापिने पनि गर्थे । तर, कोभिडसँगै पत्रपत्रिका बन्द भएपछि भने उनको अनुभव साट्ने बाटो रोकिएको छ ।

तर, उनले केही समयअघि आफ्नो नाममा युट्युब च्यानल खोले । अहिले उनले त्यही युट्युब च्यानलमा आफ्नो साइकल यात्रा साट्ने गरेका छन् । यसमा उनका बुबा योगेन्द्र बस्न्यातले सघाइरहेका छन् ।

दाङ, घोराहीको ज्ञानमाला एकेडेमीमा कक्षा पाँचमा पढ्छिन्, अदिती केसी । कविता लेख्न र चित्र कोर्न भनेपछि उनी हुरुक्कै हुन्छिन् । केही समयअघि मात्रै उनले आफ्नो बुबाको बारेमा लामो कविता लेखेकी छिन् । तर, उनको सिर्जना यतिबेला थन्किएर बसेको छ । उनका बुबा दुर्गालाल छोरीको रचनाले स्थान पाउन नसक्दा दुखी छन् । ‘सधैँ एकै ठाउँमा पठाउँदा छाप्दैनन्,’ उनी भन्छन्, ‘बालबालिकाको रचना मिडियाहरूले आफैँ ‘ल्याउनुस् हामी छाप्छौँ’ भन्नुपर्ने हो । तर, हामी आफैँ फोन गरीगरी घचघच्याउँदा पनि छाप्दिदैनन् ।’

काठमाडौँ, चाबहिलस्थित गोल्डेन पिक हाई स्कुलकी निर्देशक कला राई पनि यस विषयमा चिन्तित छिन् । उनी आफ्ना र स्कुलका छोराछोरीहरूका लेख–रचना नियमित रूपमा बाल पत्रपत्रिकामा पठाउने गर्थिन् । तर, कोभिडपछि उनले कसैको पनि लेख–रचना पठाउन पाएकी छैनन् ।

पत्रपत्रिकामा बालबालिको रचना प्रकाशन नहुँदा उनीहरूमा लेख्ने ऊर्जा हराउने अनुभव उनले गरेकी छिन् । ‘लेखेर छापिन्छ भन्यो भने उनीहरूमा लेख्ने ऊर्जा बढ्छ,’ उनले भनिन्, ‘तर, लेखेको कुरा थन्किँदा बिस्तारै लेख्नै छाड्न थालेका छन् ।

लकडाउनमा साथी भेट्न नपाएर गुम्सिएका उनीहरूले आफ्नो भावना पोख्ने ठाउँ पाएनन् । त्योभन्दा दुखद् कुरा के होला रु’, उनले थपिन्, ‘विदेशमा गर्भावस्थादेखि शिशुकोे सेवा–सुविधालाई लिएर काम हुन्छ । हाम्रोमा भएकालाई पनि वास्ता गर्ने चलन छैन ।’

आज आफ्ना कुरा राख्ने ठाउँ नपाएका देशका बालबालिकाले भोलि के गर्लान् उनलाई चिन्ता छ । यस्तो बेलामा मिडियाहरूले बालबालिकासँग केन्द्रित भएर कार्यक्रम ल्याउनुपर्नेमा उनीहरूलाई नै ओझेलमा पारिएको उनको गुनासो छ ।

‘मिडिया पुँजीसँग जोडिने भएकाले उनीहरूको पनि आफ्नै समस्या होला,’ उनले भनिन्, ‘तर, साँच्चै नै राष्ट्रका लागि काम गर्ने हो भने बालबालिकालाई छुटाउनु हुँदैन । मिडियाहरू आफूलाई कसरी फाइदा हुन्छ भन्नेतिर मात्रै लाग्नुभएन । बालबालिकामा लगानी गर्दा घाटा हुँदैन भन्ने पनि बुझ्नुप¥यो ।’ बालबालिकामैत्री भन्ने जस्ता कुरा भाषणमा मात्र सीमित नराखेर व्यवहारमा समेत लागू गर्नुपर्ने उनले बताइन् ।

बाल साहित्यको क्षेत्रमा सक्रिय लेखक आन्विका गिरीको पनि मिडियाहरूले बालबालिकालाई स्थान दिनुपर्छ भन्नेमा एकमत छ । उनले पनि मिडियामा उनीहरूले लेख्ने ठाउँ न देखेकी छिन्, न उनीहरूका लागि लेखिएको कन्टेन्ट नै भेटेकी छिन् ।

‘अहिले थुप्रै अनलाइन खुलेका छन्,’ उनले भनिन्, ‘अनलाइनमा बालबालिकाका लागि एउटा सेक्सन मात्र छुट्याउनु गाह्रो कुरा होइन । तर, बालसामग्री उनीहरूको प्राथमिकतामा छैन । न लेखेको कुरा छाप्छन्, न उनीहरूले पढ्न चाहने कन्टेन्ट नै दिन्छन् । यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।’

यसका लागि सबैभन्दा पहिला सोचमा परिवर्तन ल्याउनुपर्ने उनको तर्क छ । ‘सोचमा स्थान दिइएन भने प्लेटफर्ममा स्थान दिएर मात्रै केही हुनेवाला छैन’, उनले भनिन्, ‘बालकालिकाको पनि संख्या ठूलो छ । उनीहरू पनि अडियन्स हुन्, रिडर हुन् भनेर सोच्ने बेला आएको छ ।’

कोभिडकालमा बालपत्रिका बन्द भए । मूलधारे पत्रिकाका अरू परिशिष्टांक पेज घटेर भए पनि निरन्तर छन्, तर बाल–परिशिष्टांक कहिले आउँछन्, अत्तोपत्तो छैन । न्यु मिडिया भनेर चिनिने अनलाइनहरूले झन् न्यु पुस्तालाई नै चिन्दैनन् ।
गिरी आफूले सानोमा रेडियो र टेलिभिजनका कार्यक्रम सुनेको सम्झिन्छिन् । ती कार्यक्रमले आफूलाई पारेका प्रभावबारे सुनाउँछिन् । भन्छिन्, ‘टेलिभिजन र रेडियोमा आउने जुनसुकै कार्यक्रम सुन्थ्यौँ । त्यसले हामीलाई धेरै अर्थमा प्रेरित गथ्र्यो ।’

ती कार्यक्रममा आफ्नो पहुँचभन्दा धेरै माथि होलान् भन्ने लाग्थ्यो गिरीलाई । ‘हामी त्यहाँ पुग्नै सक्दैनौँ भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘एक पटक बाल कार्यक्रममा गेस्ट भएर जाँदा दंग परेको थिएँ । त्यही प्रेरणाले एक समय मलाई रेडियोमा कार्यक्रम चलाउने समेत बनाएको थियो ।’

शिक्षाविद् विद्यानाथ कोइराला बालबालिका बोल्न नसक्ने भएकाले पनि उनीहरू छायाँमा परेको बताउँछन् । ‘बोल्न सक्ने निहुँ खोज्छन्, प्रदर्शनमा जान्छन्, फेसबुकमा भए पनि आफ्नो भँडास पोख्छन्,’ उनी भन्छन्, ‘बालबालिकाहरू बोल्न नसक्ने भएकाले उनीहरूलाई बेवास्ता गरिएको छ ।

आफ्नै मिडिया कन्टेन्टबाट वञ्चित गरिँदा भोलि उनीहरूले विदेशी कन्टेन्ट रोज्छन् । केही सिकेजस्तो देखिए पनि त्यसबाट उनीहरूले आफ्नो भाषा, ज्ञान र संस्कार सबै बिर्सिन्छन् ।’

उनीहरूलाई चाहिने प्लेटफर्म दिन नसक्दा भोलि समस्या निम्तिने उनी बताउँछन् । कोइराला भन्छन्, ‘यस्तै हो भने भोलि ओदान चिन्दैनन्, माइक्रोवेभ मात्रै चिन्छन् । गाईको दूध चिन्दैनन्, प्याकेटको दूध जान्दछन् । गहुँ थाहा पाउँदैनन्, चाउचाउ मात्रै थाहा पाउँछन् ।’

कहिले प्रकाशनमा आउँछन् बालपत्रिका ?

अन्नपूर्ण पोस्टबाट साप्ताहिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘अंकुर’ कोभिडपछि बन्द छ । अंकुरकी सम्पादक रामकला खड्काले कोभिडका कारण पत्रिका बन्द भएको बताउँछिन् ।

अंकुर कहिलेदेखि पुनः छापिन्छ रु यसको जवाफ खड्कासँग छैन ।

‘यो हाम्रो वशको विषय होइन,’ उनले भनिन्, ‘व्यवस्थापनको प्राथमिकतामा जहिले बालबालिका पर्छन्, त्यो दिन पुनः प्रकाशनमा आउला ।’

विगतमा लेख–रचना पठाइरहने बालबच्चाले अहिले पनि उनलाई पठाइरहेका छन् । इमेल गरिरहेका छन् । शिक्षक र अभिभावकले पनि कहिले खुल्छ भनेर सोधिरहेकै छन् ।

‘महामारीमा बालबालिकालाई हामीले पहिलो प्राथमिकतामा राख्नुपथ्र्यो,’ उनले भनिन्, ‘तर, यस्तो बेला हामीले एउटा पत्रिकासमेत निकाल्न सकेनौँ । सञ्चारगृहको प्राथमिकतामा राजनीति छ तर, बालबालिका छैनन् ।’

कान्तिपुरको ‘कोपिला’ पनि अहिलेसम्म बन्दै छ । कोपिलाको नेतृत्व सम्हालिरहेका राजेन्द्र बस्नेतसँग पनि पत्रिका कहिले आउँछ भन्ने प्रश्नको जवाफ छैन । स्कुलहरू बिस्तारै खुल्न थालेकाले छिट्टै प्रकाशनमा आउनेमा उनी विश्वस्त छन् । ‘के गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘स्कुल खुलेसँगै पत्रिका पनि खुल्ला भन्ने आशा गरेका छौँ ।’

बाल पत्रिकामा काम गरेको अनुभव बटुलेका क्रान्ति पाण्डे पनि यो विषयमा चिन्तित छन् । बालबालिकालाई जुन बेला पत्रपत्रिका चाहिन्थ्यो, त्यही बेलामा मिडिया हाउसहरूले उनीहरूलाई ‘ब्वयकट’ गरेको उनले बताए । ‘स्कुल बन्द हुँदा पढाइबाट वञ्चित भएका बालबालिका पत्रिका बन्द हुँदा सिर्जनशीलताबाट वञ्चित भए,’ उनले भने, ‘कोभिडमा घर बसेका बालबालिकालाई झनै धेरै प्लेटफर्म चाहिन्थ्यो । तर, भएका प्लेटफर्म पनि बन्द हुँदा उनीहरू मारमा परे ।’

दोस्रो पुस्तालाई मिडियाको कन्टेन्टमा नसमेटिएकामा उनको पनि गुनासो छ । ‘अझै पनि बालपत्रिकाहरू प्रकाशनमा आउने कुनै चालचुल छैन,’ उनले भने, ‘बालबालिकालाई बेवास्ता गरेर हामी कोही कहिल्यै अघि बढ्न सक्दैनौँ ।’

निजी सञ्चार गृहका बाल–परिशिष्टांक÷पत्रिका अहिलेसम्म पुनः प्रकाशनमा आउने चालचुल नभए पनि सरकारी पत्रिका ‘मुना’ मासिकको नियमित प्रकाशन भने कोभिड कालमा पनि रोकिएन । मुनाका सम्पादक शिवकुमार भट्टराईका अनुसार पत्रिकाको प्रकाशन अहिले पनि निरन्तर भइरहेको छ ।

रेडियो नेपालमा बाल कार्यक्रम ‘बालबाटिका’ चलाउँछिन्, दीक्षा अवस्थी तिमल्सिना । उनको बाल कार्यक्रममा धेरैजसो ग्रामीण भेगका बालबालिकाले फोन गर्थे । तर, कोभिडको समयमा भने काठमाडौँ उपत्यकाबाट पनि बालबालिकाको फोन आउने गरेको उनी बताउँछिन् । ‘पहिला धेरैजसो गाउँका बालकालिकाको फोन आउँथ्यो तर, अहिले सहरबाट पनि फोन गरिरहेका छन्,’ उनी भन्छिन्, ‘बालबालिकाहरू आफ्नो कुरा सेयर गर्ने ठाउँ खोजिरहेका छन् ।’

कोभिड सुरु हुनुभन्दा पहिला बालबाटिकाका केही कार्यक्रम फिल्डमा गएर गरिन्थे । ‘स्कुलमा गएर बालबालिकाहरूसँग प्रत्यक्ष कुराकानी गरेर कार्यक्रम बनाउँथ्यौँ,’ तिमल्सिना भन्छिन्, ‘कहिलेकाहीँ बालबालिकाहरू स्टुडियोमै आएर पनि आफ्ना अनुभव सुनाउँथे । तर, अहिले त्यो क्रम भने रोकिएको छ । फोनमा कुराकानी गरेर कार्यक्रम बनाउने गरेका छौँ ।’

नयाँ प्लेटफर्म खोज्ने कि ?

चिन्तासँगै आन्विका गिरी भने यो विषयलाई फरक किसिमले पनि हेर्छिन् । बालबालिकाका सबै सिर्जना छाप्नैपर्छ भन्ने लाग्दैन उनलाई । बालबालिकाले लेखेर छाप्न नपाएका सिर्जनालाई डायरी मेन्टेन गरेर राख्न अभिभावकले प्रोत्साहन दिनुपर्ने उनी बताउँछिन् ।

‘लेख्ने भनेको छाप्नका लागि मात्र होइन,’ उनी भन्छिन्, ‘छाप्नु ठूलो कुरा होइन, राम्रो लेख्नु सबैभन्दा ठूलो कुरा हो । जे लेख्यो त्यो छाप्दा राम्रो कन्टेन्ट नआउन सक्छ । तर, डायरी लेख्ने बानीले लेखनमा अभ्यास हुन्छ । बच्चाको वृध्दि–विकास हुन्छ ।’

आफ्ना बालबालिकाले सिर्जना गरेका लेख–रचना परिवारका सदस्यले पनि पढेर प्रतिक्रिया दिन उनको सुझाव छ । ‘बालबालिकाको पहिलो पाठक अभिभावक हुनुपर्छ,’ उनी भन्छिन्, ‘यसो गर्दा कुनै पनि विषयमा आफ्ना बच्चाको बुझाइ कस्तो छ भनेर थाहा पाउन सकिन्छ । नबुझेको कुरा फराकिलो तरिकाले बुझाउन सकिन्छ ।’

नेपालमा जातीय विभेदबारे धेरै घटना भइरन्छन् । तर, ती घटनालाई कुन मिडिया वा अभिभावकले बालबालिकालाई बुझ्ने गरी बताउँछन् रु उनको प्रश्न छ । ‘यस्ता धेरै विषय छन् जुन हामीले बालबालिकालाई सरल भाषामा बुझाउन आवश्यक छ,’ उनले भनिन्, ‘तर, बालबालिकालाई यस्तो कुरा बुझाउन पहिला हामीले उनीहरूलाई यस्तो कुरा बुझाउन आवश्यक छ भनेर बुझ्नुपर्छ ।’

समयअनुसार अभिभावकले बालबालिकाका रचना छाप्ने प्लेटफर्म पनि परिवर्तन गर्नुपर्ने उनले बताइन् । त्यसमध्ये फेसबुक एउटा प्लेटफर्म मान्छिन् उनी । ‘अहिले पाँच सय साथी जसको फेसबुकमा पनि हुन्छन्,’ उनले भनिन्, ‘आफ्ना बालबालिकाले लेखेका लेख र बनाएका रचना त्यहाँ राख्न सकिन्छ । जहाँ हामीले प्रतिक्रिया पनि पाउन सक्छौँ ।’

त्यस्तै, ब्लग पनि अर्को प्लेटफर्म हुन सक्ने उनले बताइन् । ‘फेसबुक जस्तै ब्लग खोलेर आफ्ना बालबालिकाको कुरा राख्न सक्छिन्,’ उनले भनिन्, ‘अभिभावकहरू पत्रपत्रिकामा छापियो भने मात्रै ठूलो कुरा मान्छन् । तर, नयाँ जेनेरेसनलाइ नयाँ प्लेटफर्म प्रयोग गरेर पनि सिकाउन सक्छौँ । त्यसले उनीहरूले लेखेका कुराहरू डकुमेन्टेसन पनि हुन्छ ।’





error: Content is protected !!