परराष्ट्रमन्त्री ज्ञवाली आज ११ बजे दिल्ली जाँदै

काठमाडौं –  कामचलाउ सरकारका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत जाँदैछन् । नेपाल – भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको तीन दिने बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान ११ बजे नयाँदिल्ली जान लागेका हुन् ।

एयर इण्डियाको बिहान सवा ११ बजेको उडानमा मन्त्री ज्ञवाली दिल्ली उड्‌ लागेका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्‍न परिस्थितीबारेमा भारतीय उच्च नेतृत्वसँग मन्त्री ज्ञवालीले विशेष परामर्श गर्ने बताइएको छ ।

दिल्लीमा मन्त्री ज्ञवालीले समकक्षी एस जयशंकरसँग संयुक्त रुपमा आयोग बैठकको अध्यक्षता गर्नेछन् । संयुक्त आयोगको बैठकमा दुई देशबीचको व्यापार, ऊर्जा, सीमा, पारवहन, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुनेछ ।

कतिपयले मन्त्री ज्ञवालीको भारत भ्रमणलाई ओलीको सत्ता लम्ब्याउने योजनामा भारतको साथ, सहयोग एवं प्रतिबद्धता माग्ने ठोस योजनाका रुपमा पनि टिप्पणी गरेका छन् । तर प्रतिनिधि सभा विघटनविरुध्‍द सडक आन्दोलन गरिरहेका नागरिक समाजका अगुवाले भ्रमणका क्रममा भारतसँग दीर्घकालिन सम्झौता नगर्न मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका छन् ।





error: Content is protected !!