कर्णालीमा पनि कफी खेती उपयुक्त

चाँदनी कठायत
सुर्खेत ः वीरेन्द्रनगर -६ वर्षअघि लेकबेंसी नगरपालिका–९ स्थित जनअपेक्षा कृषि सहकारीले २ लाख ८० हजार रुपैयाँ लगानीमा तीन रोपनी जग्गामा करिब १ हजार ६ सय कफीका बिरुवा रोप्यो । तर कफी उत्पादन कसरी गर्ने भन्नेबारे प्राविधिक ज्ञान नहुँदा उक्त बिरुवासँगै लगानी पनि खेर गयो ।

कर्णालीका प्रायः किसानलाई कफी खेतीबारे ज्ञान नहुँदा उत्पादनमा खासै चासो दिएको पाइँदैन । तर कर्णाली प्रदेश कफी खेतीका लागि उपयुक्त रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । किसानले व्यावसायिक कफी खेतीका लागि विशेष प्याकेज ल्याउनुपर्ने किसानको जोड छ । बोर्डले मंगलबार आयोजना गरेको चिया तथा कफीको एकीकृत विकाससम्बन्धी गोष्ठीमा सहभागी किसानले अन्य खेतीमा जस्तै कर्णालीका किसानलाई कफीतर्फ आकर्षित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनुपर्ने औंल्याए ।

बोर्डले पनि कर्णालीमा तीनै तहको सरकारको समन्वयमा व्यावसायिक कफी खेतीको पहल थालेको जनाएको छ । सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा कफी खेतीका लागि उपयुक्त जमिन रहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । उनका अनुसार पहिलो चरणमा सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षण गर्ने बोर्डको तयारी छ ।

बोर्डले आगामी वर्षसम्म कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणाअनुसार व्यावसायिक कफी खेतीमा आकर्षित गर्ने योजना अघि सारेको हो । समुद्री सतहदेखि करिब ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा अरबिका जातको कफी उत्पादन हुने निर्देशक भट्टराईले बताए । ‘कफी खेती गर्न अन्य बालीजस्तो धेरै दुःख पनि गर्नुपर्दैन,’ उनले भने, ‘तीन महिनाभित्र बेर्ना तयार हुन्छ र तीन वर्षपछि फल्न सुरु गरिहाल्छ । बजार भाउ पनि बर्सेनि बढिरहेको छ ।’

कर्णालीमा व्यावसायिक रूपमा कफी उत्पादन नभए पनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत प्रयोजनका लागि कफी खेती गरिरहेको कृषि विकास निर्देशनालयले जनाएको छ । प्राविधिक ज्ञान नपाउँदा किसान भने समस्यामा छन् । ‘कफीका बिरुवामा लेपन गर्न नजान्दा सबै बिरुवा खेर गए,’ ६ वर्षअघि कर्णालीमा कफी खेतीको अभ्यास गरेको जनअपेक्षा सहकारीका कार्यालय प्रमुख छविलाल आचार्यले भने, ‘प्राविधिक ज्ञान र किसानको आकर्षण नहुँदा पूरै लगानी खेर गयो ।’ कफी उत्पादनपछि प्रशोधनको व्यवस्था पनि बोर्डले नै गर्ने भट्टराईको भनाइ छ । उनका अनुसार यही चौमासिकमा कर्णालीका अगुवा किसानलाई भेला गरी कफी खेतीबारे तालिम दिने बोर्डको योजना छ ।





error: Content is protected !!