राउटे केटाकेटीलाई लुकिछिपी पढाउँदै तीन युवा

दिपकजंग शाही
सुर्खेत ः फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका आफ्नै परम्परा र मूल्य मान्यता छन्।

आमाको मृत्यु भएपछि नुहाउन नहुने, एकै ठाउँमा स्थायी रूपमा नबस्ने, विद्यालय शिक्षा नलिने, बाहिरका मानिसबाट स्वास्थ्य उपचार नगराउने जस्ता कुरा राउटे समुदायको मूल्य मान्यताभित्र पर्छन्।

यिनै मान्यताका कारण शिक्षा र स्वास्थ्यबाट राउटे समुदाय बञ्चित हुँदै आएको छ।

आफ्ना मान्यताका कारण शिक्षा र स्वास्थ्यको पहुँचमा पुग्नै नचाहने राउटे समुदायमा सहजीकरण विगत अढाइ वर्षयता तीन जना युवा राउटे समुदायसँगै छन्।

उनीहरूको काम राउटे बालबालिकालाई अक्षर लेख्न र पढ्न सिकाउने, स्वास्थ्य तथा सरसफाइका बारेमा शिक्षा दिने, उनीहरूमा रहेको विकृत मूल्य मान्यतालाई सुधार्न सहजीकरण गर्ने हो।

गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र ९सोसेक०द्वारा सञ्चालित ‘राउटे परियोजना’मार्फत् उनीहरूलाई राउटे समुदायमा खटाइएको छ। जसमध्ये जोडी शिक्षकका रुपमा लालबहादुर खत्री र उनकी श्रीमती दुर्गा खत्री छिन्। स्वास्थ्यकर्मीको रूपमा अहेब विनोद बिसी छन्।

४५ घरपरिवार र १४५ जनसंख्या रहेको राउटे समुदायमा उनीहरूले लामो समयदेखि काम गर्दै आएका छन्।

राउटे समुदायभित्र २० वर्षमुनिका बालबालिका मात्र ७३ जना छन्। ती बालबालिकालाई अक्षर सिकाउने काम जोडी शिक्षक लालबहादुर र दुर्गाले गर्छन्।

यस्तै, राउटे समुदायका मानिसलाई सामान्य घाउचोट लागेमा उपचार गर्ने काम अहेब विनोदले गर्छन्। यसका अलावा ती तिनै जनाले समुदायमा स्वास्थ्य र सरसफाइबारे राउटेहरूलाई सिकाउने काम गर्छन्।

लुकिछिपी पढाइ

राउटे समुदायका बालवालिकालाई पढाउन त्यति सहज भने छैन। पढ्नकै लागि भनेर छुट्टै कक्षा सञ्चालन गर्न सकिँदैन। उनीहरूलाई फकाएर अभिभावकदेखि टाढा लिएर पढाउने गरिएको शिक्षक दुर्गाले बताइन्।

‘बालबालिकालाई आमाबुवाले पढ्ने कुरै गर्न दिँदैनन्। हामीले फकाएर बुवाआमादेखि टाढा लिएर, कहिलेकाहीँ नुहाउन जाऊँ भनेर पढाउँछौं,’ उनले भनिन्, ‘त्यहाँ लगेर चकलेट दिएर, मोबाइलमा भिडियो देखाएर, खेल खेलाएर पढाउँछौं।’

बुवाआमाले अनुमति नदिए पनि बालबालिका भने पढ्नका लागि उत्सुक रहेको दुर्गाले बताइन्।

उनीहरू पढाइका क्रममा रमाइलो महसुस गर्ने गरेको उनले बताइन्। उनका अनुसार अहिलेसम्म १५ जना बालबालिकाले आफ्नो नाम लेख्न र वर्णमालामा भएका अक्षर चिन्न सक्छन्।

विशेषगरी राउटे समुदायमा आफूहरूले सरसफाइ गर्न लगाउने गरेको दुर्गाले बताइन्।

‘राउटेहरूलाई नुहाउन लगाउने, कपडा धुन, नङ काट्न लगाउने गर्छौं,’ उनले भनिन्, ‘आफू बस्ने घरहरू लिपपोत गर्न पनि लगाउँछौं, विस्तारै उनीहरूले घर लिपपोत गर्न पनि सिकेका छन्।’

बस्तीमा बुवाआमाले बालबालिकालाई पढ्न नदिने भएकाले उनीहरूलाई विभिन्न जुक्ति लगाएर अन्यत्र लिएर कम्तिमा एक घण्टाजति पढाउने गरिएको जोडी शिक्षकमध्येका अर्का शिक्षक लालबहादुर खत्रीले बताए।

‘हामीले आफू बस्ने कोठामा ल्याउने, कहिले उनीहरूलाई चाउचाउ, बिस्कुट किनिदिन्छु, पैसा दिन्छु भनेर बस्तीभन्दा टाढा लानुपर्छ,’ उनले भने, ‘एक पटक पढ्न गएपछि कम्तीमा ५० रुपैयाँजति एक जनालाई खर्च गर्नुपर्छ, खाजा खुवाउनुपर्छ। नत्र भने उनीहरू पढ्नै आउँदैनन्।’

यति गर्दा राउटे बालबालिका बुवाआमादेखि लुकेर पढ्न आउने उनले बताए। उनीहरूलाई पढाउनका लागि गरिने खर्च कतिपय अवस्थामा आफैंले व्यहोर्नु परेको लालबहादुरले बताए।

‘संस्थाले तोकेको दिनमा पढाउँदा लागेको खर्च संस्थाबाट व्यहोरिन्छ, अन्य दिनको त आफ्नै खल्तीबाट जाने हो,’ उनले भने।

खत्रीका अनुसार ‘राउटे परियोजना’बाट हप्तामा दुई दिन बालबालिकालाई अनिवार्य पढाउने र अन्य दिन बस्तीमा सरसफाइबारे रेखदेख गर्ने, सिकाउने भनेर तोकिएको छ।

कहिलेकाहीँ परियोजनाले तोकेको दिनमा उनीहरू नआउने भएकाले अन्य दिनमा फकाएर पढाउँदा लाग्ने खर्च आफूले तिर्ने गरेको उनले बताए।

राउटे समुदायका बालबालिकाले लुकिछिपी पढेको कुरा आफ्ना अभिभावकको अगाडि देखाउन समेत मान्दैनन्।

‘यो समुदायमा पढ्नु हुँदैन भन्ने मान्यता छ, तैपनि हाम्रो प्रयासले १६ जना जति बालबालिकाले आफ्नो नाम लेख्न र अक्षर चिन्न सिकेका छन्,’ लालबहादुरले भने, ‘त्यही कुरा पनि उनीहरूले आफ्ना बुवाआमा अगाडि लेख्न र पढ्न सक्दैनन्।’

सरसफाइमा भने राउटे समुदाय पहिलेको तुलनामा केही सुध्रिएको उनी बताउँछन्। पहिले भनेर पनि नुहाउन नमान्ने उनीहरू अहिले समय(समयमा आफैं नुहाउने गरेको उनले बताए।

‘पैसा दिएर उपचार गर्न सिकायौं’

राउटे समुदायमा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने विनोदबहादुर बिसीले सुरू(सुरूमा पैसा दिएर भए पनि उपचार गराउन लगाइएको बताए।

चोटपटक लागेमा र बिरामी परेमा औषधी उपचार गर्नै नमान्ने यो समुदायलाई पैसा दिएर भए पनि उपचार गर्नुपर्छ भन्ने सिकाइएको उनी बताउँछन्।

‘पहिले(पहिले त औषधि गर्नै मान्थेनन्, सुरूमा पैसा दिएर फकाएर भए पनि उपचार गर्न लगायौं,’ उनले भने, ‘अहिले भने अलिअलि बानी परेका छन्, आफैं औषधी माग्छन्। घाउ भयो भने आफैं देखाउँछन्।’

उनीहरू अहिले पनि सुई लगाउन, खानुपर्ने औषधी खान, अस्पतालमा गएर उपचार गर्न नमान्ने बिसीले बताए। घाउमा प्रयोग गर्न मिल्ने औषधी र मलमपट्टी लगाउन मात्र मान्छन्।

‘ठूलो चोट वा रोग भयो र अस्पताल गएर उपचार गर्नुपर्‍यो भने मान्दै मान्दैनन्,’ उनले भने, ‘अहिले पनि एक जनाको खुट्टा भाँच्चिएको छ, उपचार गर्न जानै मानेको छैनन्।’

समुदायमा आवश्यक औषधी परियोजनबाटै आउने गरेको उनले बताए।

राउटे समुदायको शिक्षा र स्वास्थ्यको लागि काम गर्ने दुर्गा, लालबहादुर र विनोद दैलेखको गुराँस गाउँपालिका–३ का हुन्। उनीहरू एकैपटक घर जान भने पाउँदैनन्। पालो मिलाएर घर जाने गर्छन्।

फिरन्ते जीवन बिताउने राउटे समुदाय एकै ठाउँमा बढीमा तीन महिना बस्छन्। समुदायमा कसैको मृत्यु भएमा, मौसम परिवर्तन भएमा वा आफू बसेको ठाउँमा असुविधा भएमा उनीहरू बस्ती सर्छन्।

यसका अलावा उनीहरू बस्ती सर्नुका अरु केही मान्यता पनि छन्। कुनै ठाउँमा त उनीहरू एक महिना पनि बस्दैनन्।

शिक्षक दुर्गा खत्रीका अनुसार उनीहरू यो समुदायमा काम गर्न थालेयता ३८ पटक राउटेहरू बस्ती सरेका छन्।

विशेषगरी दैलेख र सुर्खेतको भू–भागमा बस्ने राउटे समुदाय अहिले सुर्खेतको चिङ्गाड गाउँपालिका–५ हलेदी खेतमा बस्दै आएका छन्।

राउटे बस्तीभन्दा करिब एक किलोमटिर परको घरमा दुर्गा, लालबहादुर र विनोद बसिरहेका छन्।

‘कहिलेकाहीँ त उनीहरू महिना नपुग्दै बस्ती सारिहाल्छन्, हामी पनि उनीहरू जता सर्छन् त्यतै अनिवार्य सर्नुपर्छ,’ दुर्गाले भनिन्।

अढाई वर्षअघि उनीहरूले राउटे समुदायमा काम गर्ने बेला दैलेखको गुराँस गाउँपालिकाको तालपोखरी नजिक बस्ती थियो। त्यसयता सुर्खेत र दैलेखका मात्र विभिन्न ३८ ठाउँमा बसाइ सरेको उनले बताइन्।

यद्यपि, राउटे समुदायमा स्वास्थ्य र शिक्षाको लागि काम गरिहेका उनीहरू तीन जनाको अवधि भने सकिने बेला भएको छ। सन् २०२० अन्त्यसम्मका लागि राउटे परियोजनामा उनीहरूले काम गर्नेछन्।





error: Content is protected !!