सल्यानमा ७० प्रतिशत घरधुरी विद्युत्‌बाट वञ्‍चित

सल्यान — कालीमाटी गाउँपालिकाको पुतलीबजारमा विद्युत् प्राधिकरणले २०७३ सालदेखि बिजुलीका पोल गाड्न सुरु गर्‍यो । सडक निर्माणका ठेकेदारले काम नसकिँदासम्म पोल गाड्न रोक लगाएपछि अहिलेसम्म विद्युत् विस्तारको काम हुन सकेको छैन । पोल गाडेको दुई वर्ष बित्दा पनि बन्गाडकुपिण्डेको माल्टाका बासिन्दाले बिजुली बाल्न पाएका छैनन् ।

यी दुई उदाहरण मात्र हुन् । १० स्थानीय तह रहेको सल्यानमा दर्जनौं विद्युत् विस्तार योजना वर्षौदेखि अलपत्र परेका छन् । विद्युत् प्राधिकरणले ३३ वर्षअघि सदरमुकाम खलंगासम्म विद्युत् विस्तार गरे पनि गाउँका बासिन्दा अझै अँध्यारोमा बस्न बाध्य छन् । ५१ हजार घरधुरीमध्ये ३६ हजार ३४ परिवार विद्युत् सेवाबाट वञ्चित रहेको सल्यान वितरण केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार जिल्लामा १४ हजार ९ सय ६६ घरले मात्र नियमित बिजुली उपभोग गरिरहेका छन् ।

गाउँमा विद्युत् सेवा बिस्तार गर्न बारम्बार माग गरे पनि बेवास्ता भइरहेको ओखरेनीका दिपक खड्काले बताए । उनका अनुसार गाउँमा सल्ले झर्रो, सोलार र टुकीकै घर पर्नुपर्ने बाध्यता छ । ‘जताततै झिलिमिली छ,’ उनले भने, ‘हामीमात्रै कहिलेसम्म अँध्यारोमा बस्नुपर्ने रु’ उनले पाँच वर्षअघि निर्माण गरिएको लघु जलविद्युत् योजना एक वर्षमै बिग्रिएपछि बिजुली उपभोग गर्न नपाएको गुनासो गरे ।

सल्ले झर्रो र टुकी बाल्दा स्वास्थ्यमा समेत समस्या पर्ने चिकित्सकहरु बताउँछन् । गाउँका अधिकांश ज्येष्ठ नागरिक दम र खोकीका बिरामी छन् । पुतलीबजारकी प्रेमलता रोकाले घरमा वर्षौदेखि मट्टितेलबाटै टुकी बालीरहेको जानकारी दिइन् । विद्युत् अभावकै कारण बालबालिकाको पढाइसमेत प्रभावित भइरहेको उनको भनाइ छ ।

वितरण केन्द्रका अनुसार शारदामा १५, बाग्चौरमा ६०, बन्गाडकुपिण्डेमा ७०, कपुरकोटमा ४०, त्रिबेणीमा १५, सिद्धकुमाखमा ५३, कालीमाटीमा ७९, दार्मामा ७५ र कुमाखमा ७५ प्रतिशत बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । क्रमागत योजनामा वर्षेनि कम बजेट आउँदा अधिकांश योजनाको काम अधुरो बनेको वितरण केन्द्र प्रमुख अर्जुन पोखरेलले बताए । उनका अनुसार गत वर्ष १० करोड रुपैयाँ बजेटबाट झन्डै दुई हजार परिवारमा बत्ती बलेको छ । गत वर्ष कुमाख, छत्रेश्वरी, कपुरकोट, दार्मामा विद्युतीकरण गरिएको उनको भनाइ छ । ‘भौगोलिक बिकटताका कारण एउटै योजना सम्पन्न गर्न कम्तिमा एक करोड रुपैयाँ खर्चिनुपर्छ,’ उनले भने, ‘तर वार्षिक बजेट नै १० देखि १५ करोड रुपैयाँ मात्र आउने गरेकाले समस्या भएको हो ।’ उनले सबैभन्दा पहिले २०४३ सालमा जेनेटरको प्रयोग गरी खलंगामा विद्युत् बालिएको जानकारी दिए ।

स्थानीय तहहरुले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखिएको जनाएका छन् । स्थानीय तह गठनपछि झण्डै ३ करोड रुपैयाँ विनियोजन गरी गाउँगाउँमा विद्युतीकरण योजना सञ्चालन गरिरहेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार नगरपालिकाका झण्डै ८५ प्रतिशत घरधुरीमा विद्युत् सुविधा छ । गत वर्षको बजेटबाट १, ८, ९, १० र ११ नम्बर वडामा विद्युत् विस्तार गरिएको बन्गाडकुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । दार्मा गाउँपालिकाले ३ वर्षको अवधिमा विद्युत् विस्तारमा ७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

उपभोक्ता कम भोल्टेजले आजित

निर्माण थालिएको १० वर्षपछि गत वर्ष शारदा नगरपालिका–२, सितलपार्टीमा सबस्टेसन सञ्चालनमा आए पनि उपभोक्ता कम भोल्टेजको समस्याले आजित छन् । सबस्टेसन सञ्चालनमा आए पनि लोडसेडिङ र कम भोल्टेजको समस्या कायमै रहेको स्थानीय राजेश शर्माले बताए । ‘बत्ती आउँदै आउँदैन,’ उनले भने, ‘आए पनि फूल पावर कहिल्यै हुँदैन ।’ सामान्य वर्षा र हावाहुरी हुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको उनको गुनासो छ । प्राधिकरणले ठाउँठाउँमा फ्युज जडान नगर्दा पनि एक ठाउँमा समस्या देखिए गाउँ नै अन्धकार हुने गरेको उनले बताए । वितरण केन्द्र प्रमुख पोखरेलका अनुसार लमहीमा प्राविधिक समस्या आए पनि सल्यानमा बिजुली जाने समस्या वर्षौदेखि छ ।





error: Content is protected !!