नेकपा सचिवालय बैठक सकियो, ओली-प्रचण्डको सवाल जवाफको अध्ययनपछि मात्रै छलफल

अर्को बैठक मंसिर ३ गते बस्ने

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ४० मिनेटमै सकिएको हो।

अबको बैठक मंसिर ३ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा भदौ २६ को स्थायी कमिटीको निर्णय, अन्तरपार्टी जारी भएको निर्देशन, अध्यक्षद्वयले लेख्नुभएको सवाल जवाफको विषयमा सबै सचिवालय सदस्यले अध्यक्ष गरेपछि मात्रै निकास निस्कने भएकाले अर्को मिति तय गरिएको छ’ उनले भने।

बैठक बोलाउन सहमति दिन माग गर्दै प्रधानमन्त्री ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको उनले बताए।प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले पार्टी फुटको अवस्थासम्म पुगेको थियो। राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख गको भेटवार्ता, कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने भन्दै सचिवालय बस्नुपर्ने बताउँदै आएका थिए।

पार्टीभित्रको विवाद समस्या समाधानका लागि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग समेत गरेका थिए।





error: Content is protected !!