गाउँका किसान खेतीमै व्यस्त

जाजरकोट — एक सातादेखि खेतमै रहेका कुशे गाउँपालिका–८ जिन्तालाका वीरबहादुर सिंहलाई एक छिनसमेत फुर्सद छैन । उनका छिमेकी कोषबहादुर दमाइ र गोरखबहादुर शाही पनि खेतमै व्यस्त देखिन्छन् ।

उनीहरु मात्र होइन, अहिले कुशे गाउँपालिकाका सयौं बासिन्दाको खेतमै बास हुने गरेको छ । उनीहरु घर फर्कन नपाएको दुई साता बित्यो । खेतीपातीका लागि कुशेका स्थानीयबासी वर्षेनि परिवारसहित पशुचौपाया लिएर खेतमै जान्छन् । स्थानीयहरु धान काट्ने, भित्र्याउने, खेतबारी जोतेर गहुँ–जौ छर्नेलगायत काममा व्यस्त बनेको स्थानीय मानबहादुर शाहीले बताए । ‘खेतीको कामले गाउँहरु सुनसान बनेका छन्,’ उनले भने,‘ सबै गाउँघर रित्तो पारेर धान, भटमास, मास, कोदोलगायत बाली भित्र्याउन र गहुँ, जौं तथा तोरी लगाउन बेंसी झरेका छन् ।’ दसैं सकिएलगत्तै किसानहरु खेतीमा जुटेको उनले बताए ।

तिहारको रमझम सुरु नहुँदै खेतबारीको काम सकिने कुशे गाउँपालिका–५, जहरगाउँका दलबहादुर थापाले बताए । ‘घरमा बिरामी परेकालाई स्याहार गर्ने फुर्सदसमेत कसैलाई छैन,’ उनले भने, ‘यो समय हाम्रा लागि मानो छर्ने र मुरी भित्र्याउने बेला हो ।’

धान उत्पादन घट्यो

यस वर्ष जाजरकोटमा धान उत्पादन घटेको छ । धान उत्पादन झण्डै आधाले घटेपछि जिल्ला किसान निराश बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष १० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष झण्डै ५ हजार टन उत्पादन भएको छ ।

बाढी–पहिरो, सिँचाइको अभाव, उन्नत बीउको कमी, सहल किराको प्रभावलगायत कारण यो वर्ष धान उत्पादन घटेको कृषि प्राविधिक दीपबहादुर थापाले बताए । जाजरकोटमा मकै र गहुँ पछि धान दोस्रो बाली मानिन्छ । जिल्लामा ३ हजार हेक्टरमा धानखेती हुने गरेको निमित्त कृषि विकास प्रमुख गणेश अधिकारीले बताए ।





error: Content is protected !!