रुकुम पश्चिमको आठबीसकोटका ४ वडामा निषेधाज्ञा

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाका ४ वटा वडाहरुमा निषेधाज्ञा लगाइएको छ । दुई पक्षबीच झडपको स्थिति आउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र सिल गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको र सोही क्षेत्रमा केही समूहबाट भेला हुने तथा अबाञ्छित गतिविधि गरी शान्ति भंग गरी हुलदंगा, अशान्ति सृजना गर्न खोजेकाले निषेधाज्ञा लगाइएको सूचनामार्फत जानकारी दिए । सूचनाको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रजिअ गैह्रेले बताए ।
नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन् । यही कारण दिनभर राडीबजारमा तनाव भएको थियो । नेकपा निकटका युवाहरु बजारकै रेडियम होटलमा बसेका छन् भने कांग्रेस निकट युवाहरु ९ नम्बर वडा अध्यक्ष तारकबहादुर शाहीको घरमा बसेका छन् ।
शुक्रबार दिउँसो कांग्रेस निकट युवाहरु होटलसम्म पुगेर ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट होटलमा सामान्य क्षती भएको छ । केही समय अघिदेखिको विवाद बढ्दै जाँदा झडप भएको हो । दुवै पक्षले झडपको कारण एक अर्को भएको आरोप लगाउँदै आएका छन् । झडपको स्थिति आएपछि प्रहरीले इलाका प्रहरी कार्यालय बाँफिकोटबाट पनि थप प्रहरी पठाइएको छ ।
सुरुमा कांग्रेस निकट युवाहरुले जेवि विक र सुशील विकलाई कुटेका थिए । त्यसपछि नेकपा निकट युवाहरुले कांग्रेस निकट थलबीर परियारलाई कुटेका थिए । यी दुवै घटना स्थानीयस्तरमै मिलाइएको थियो । विशेषगरी बस, जिपको टिकट काउन्टरको विषयमा झडप सुरु भएको बताइएको छ । जिल्ला प्रहरी प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले लामो समयदेखि दुई पक्षबीचको झडपमा राजनीति पसेको बताए ।










