डोल्पाली हिउँचितुवाको जर्मनीमा खोजीनिती

स्याटेलाइट जीपीएस कलर बाँधेर छाडिएको ‘सामलिङ’ नामक हिउँचितुवा से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सम्पर्कमा नआएपछि प्राविधिक र स्थानीय खोजीमा जुटेका छन् । सामलिङ जेठ १५ देखि जीपीएस सिग्नल ट्र्याकिङ हुने सम्पर्क क्षेत्रबाट बाहिर छ । यस्तै जीपीएस कलर बाँधेर छाडिएको ‘जेबरोङ’ नामको अर्को हिउँचितुवा मरेको भेटिएको छ ।
सामलिङले पनि ६ महिनादेखि संकेत दिन छाडेको छ । जीपीएस पोइन्टका आधारमा उक्त हिउँचितुवाले गरेका गतिविधिका संकेत एसएमएसमार्फत नियमित रूपमा कम्प्युटरमा प्राप्त हुनुपर्नेमा बन्द भएपछि निकुञ्जले खोजीका लागि ‘क्यामेरा ट्र्याप’ लगायत अन्य विधि अपनाइरहेको छ । अघिल्तिरबाट हिँडेका सबै प्रकारका जीवजन्तुको फोटो खिच्ने भएकाले ‘क्यामेरा ट्र्याप’ राखेपछि सामलिङको पहिचानमा सहयोग पुग्ने अपेक्षाविपरीत अझै कुनै संकेत छैन । हिउँचितुवा संरक्षणमा खटिएका स्थानीयले सबैजसो क्षेत्रमा खोजी गरिसकेका छन् । जेबरोङ पनि स्थानीयले खोजी गर्दै जाँदा भिजेरको कु गाउँमा मरिसकेको अवस्थामा भेटिएका थियो ।
सामलिङको पहिचानका लागि अहिले पनि निकुञ्जले १२ वटा स्वचालित क्यामेरा जडान गरेको छ । यसअघि पनि विभिन्न स्थानमा स्वचालित क्यामेरा राखिएका थिए । ती कुनै पनि क्यामेरामा उक्त हिउँचितुवा ‘क्याप्चर’ नभएपछि नयाँ विधि सुरु गरिएको छ ।
सुरुमा प्राविधिकहरूले सामलिङले घाँटीमा बाँधिएको जीपीएसबाट दिएको अन्तिम आठवटा लोकेसन पहिचान गरे । जेठ १५ सम्म जीपीएसले लोकेसनको संकेत दिइरहेकाले ती ठाउँ पहिचान गर्न प्राविधिकलाई सहयोग पुगेको हो । ‘अन्तिम ६ वटा लोकेसनमा भीएचएफ एन्टेना र भीएचएफ रिसिभरका सहायतले हिउँचितुवा हुन सक्ने सम्भावित ठाउँ ट्र्याक गरियो,’ निकुञ्ज स्रोतले भन्यो, ‘एउटा लोकेसनमा रिसिभरले रेडियो सिग्नल देखायो, त्यसको मतलव त्यो हिउँचितुवामा रहेको जीपीएस कलर त्यहीँ वरिपरि कतै छ ।’
सामलिङको घाँटीमा रहेको कलरले छोडेका सिग्नल पत्ता लगाउन प्राविधिकले एउटा हातमा एन्टेना र अर्को हातमा रिसिभर लिएर सम्भावित लोकेसनमा खोजे । ‘त्यसबाट एक किसिमको ध्वनि सुनियो, त्यसलाई रेकर्ड गर्यौं,’ एक प्राविधिकले भने, ‘तर त्यो ध्वनि हिउँचितुवासहित हो वा घाँटीबाट टुटेर छुटेपछिको हो भन्ने पत्ता लगाउन सकिएन ।’
निकुञ्जले त्यो अनकन्टार स्थानमा रेकर्ड भएको ध्वनि हिउँचितुवाको होरहोइन, पत्ता लगाउन काठमाडौंका स्याटेलाइट कलर कम्पनीहरूको पनि सहयोग लियो तर पत्ता लागेन । ‘काठमाडौंमा यकिन हुन नसकेपछि त्यो ध्वनि पहिचान गरिदिन स्याटेलाइट उत्पादक जर्मन कम्पनी भेक्ट्रोनिक एरोस्पेसलाई आग्रह गरिएको थियो,’ ती प्राविधिकले भने, ‘जर्मन कम्पनीभरि खैलाबैला मच्चियो तर त्यहाँबाट पनि त्यसको पहिचान हुन सकेन ।’
एरोस्पेसले स्याटेलाइट सिस्टमबाट सामलिङलाई ट्र्याक गर्न नसकिने जवाफ दियो । डब्लूडब्लूएफ नेपालका एक प्राविधिकले भने, ‘ग्राउन्डबाटै ट्र्याक गर्नुपर्छ भन्ने सुझाव आयो ।’ डब्लूडब्लूएफ नेपालका संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट भने विगतमा ताप्लेजुङमा हिउँचितुवामा जोडिएको स्याटेलाइटभन्दा डोल्पामा प्रयोग गरिएको उपकरण गुणस्तरीय भएको दाबी गर्छन् ।
अहिले पनि अन्तिम लोकेसनको संकेत दिएका क्षेत्रमा निकुञ्जले खोजी तीव्र पारेको छ । निकुञ्ज विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यले सामलिङको पछिल्लो अवस्थाबारे अनुसन्धान जारी भएकाले अहिले नै केही भन्न नसकिने बताए ।
सामलिङलाई गत वर्षको मंसिर २ मा माथिल्लो डोल्पाको सामलिङ गुम्बानजिकैको ३ हजार ८ सय ८५ मिटर उचाइमा कलर बाँधेर छाडिएको थियो । प्राविधिकहरूका अनुसार स्याटेलाइट जीपीएस कलरले २ देखि ३ वर्षसम्म संकेत दिन्छ । स्याटेलाइट जीपीएसको मूल्य करिब ७ हजार अमेरिकी डलरसम्म पर्छ ।
स्याटेलाइट जोड्न डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्राविधिक सहयोग गरेका थिए । कलर जडान गर्न संस्था, स्थानीय र प्राविधिक गरी १८ जनाको टोली ३ दिन भिजेर क्षेत्रमा खटिएको थियो । कलर गरेर छाड्दा ३३ किलो तौलको सामलिङको उमेर ४ देखि ५ वर्ष हो । सामलिङ आहाराको खोजीमा ६ हजार २ सय ५२ मिटरको उचाइसम्म उक्लिएर गत चैतमा तल्लो भागमा झरेको थियो ।
हिउँचितुवा विद्यावारिधि गरिरहेका कमल थापाका अनुसार नाउर र झारल उसको मुख्य आहार हो । से–फोक्सुन्डोमा नाउर बढी छन् । चितुवाले गाई, चौंरीका बाछाबाछी, च्यांग्रा, फ्याउ मुसा र कस्तूरी मृगलाई पनि सिकार गर्छ । हिउँचितुवाको वासस्थान, आहाराको अवस्था र विचरण क्षेत्र थाहा पाउन २०७५ भदौ १५ मा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले १२ वटामा कलर जडान गर्ने निर्णय गरेका थिए ।
पहिलो चरणमा गत वर्ष से–फोक्सुन्डोमा दुईवटा हिउँचितुवामा कलर जोडिएको हो । से–फोक्सुन्डोमै यस वर्ष थप दुईवटामा कलर जडान गर्ने योजना भए पनि जेबरोङ र सामलिङको दुर्घटनाको खबर बाहिरिएपछि विभाग पछि हटेको छ ।
विभागका महानिर्देशक प्रेमनारायण कँडेलले अघिल्लो वर्षको परिणाम विश्लेषण नगरी थप हिउँचितुवामा कलर गर्न दिनेरनदिने निर्णय नगरिने बताएका छन् । विभागले पाँच वर्षभित्र अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका थप आठवटा हिउँचितुवामा पनि कलर जोड्ने योजना बनाएको छ । यसअघि कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा हिउँचितुवामा कलर जोडिएको थियो ।
प्राविधिकका अनुसार रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा भविष्यमा संरक्षण रणनीति बनाउन र भूपरिधिस्तरीय सहयोग आदानप्रदान र अरू देशसँग समन्वय र सहकार्य गर्न सहयोग पुग्ने देखिन्छ । लजालु स्वभावको हिउँचितुवा नेपालसहित अफगानिस्तान, पाकिस्तान, चीन, किर्गिस्तान, कजाकस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, रुस, भुटान, भारत र मंगोलिया गरी १२ देशमा पाइन्छ । विश्वभर हिउँचितुवाको संख्या करिब ३ देखि ६ हजार अनुमान गरिएको छ । नेपालमा करिब ५ सय हाराहारीमा रहेको अनुमान छ । १२ देशमा हिउँचितुवाका २३ भू–दृश्य क्षेत्र पहिचान गरिएका छन् । तीमध्ये तीनवटा नेपालमा पर्छन् ।



