प्रधानमन्त्रीको अनौठो राग

प्रधानमन्त्री केपी शर्मा ओली आमराजनीतिज्ञजस्तै प्रचारमा आइरहन रुचाउँछन् । सबैले आफ्नो चर्चा गरून्, समर्थन नसही विरोध गरेर भए पनि चर्चा गरून् भन्ने चाहना राख्नु राजनीतिज्ञको कमजोरी मानिन्छ । यस मामिलामा प्रधानमन्त्री ओली एक कदम अगाडि छन् । सरकारका निर्णय र कदमबाट चर्चा पाउन सकिएन भने उनी केही न केही उखर्माउलो अनुभव गर्छन् र विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आउँछन् । हिजो एउटा कार्यक्रममा उनले आफूले राजीनामा नदिने बताएर त्यस्तै अर्को झटारो हानेका छन् । यतिवेला कसैले पनि उनको राजीनामा मागेको छैन । सडकमा या सामाजिक सञ्जालमा मागिनु एउटा कुरा हो, तर वैधानिक रूपमा नेकपा नेतृत्व या संसद्मा प्रतिपक्षले औपचारिक रूपमा राजीनामा मागेका छैनन् ।
यसरी नमागिएकै समयमा कसैले माग्दैमा राजीनामा दिन्नँ भन्नुको अरू अर्थ लाग्न सक्दैन । अनुमानका मात्र कुरा गर्नु अर्कै कुरा हो । बरु चौतर्फी रूपमा आलोचित र असफलताको डिलबाट झरिरहेको सरकारका प्रधानमन्त्रीले भनेका यी कुरा हाम्रो राजनीतिक स्वास्थ्यका लागि भने हानिकारक अवश्य छन् । सबैलाई थाहा छ, ओली प्रथम अध्यक्ष रहेको नेकपामा विवाद छ । यो विवाद पनि धेरै हदसम्म ओली आफैँले निम्त्याएको बुझ्न सकिन्छ । हालै उनले अर्का अध्यक्ष प्रचण्डसँग सल्लाहले नै पार्टी विभाजन गर्न अनुरोध गरेको चर्चामा आएको छ । यसैगरी उनले आफ्नो किचन क्याबिनेटमा विभाजनका लागि तयार रहन सहयोगीहरूलाई निर्देशन दिएको पनि स्वीकार गरिएको छ । तर, पनि दलभित्रको उनको प्रतिपक्षी समूहले राजीनामा मागेको सुनिएको छैन ।
दलभित्रको विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार अप्ठेरोमा परेको सन्देश मज्जाले प्रवाहित भएको छ । यस्तो अप्ठेरो परेको अनुमान उनले प्रयोग गरेको भाषाबाट पनि गर्न सकिन्छ ।
संसदीय दलभित्र विश्वासको मत लिन चुनौती पनि दिइएको छैन । यस्तो अवस्थामा उनले म राजीनामा दिन्नँ भनेर कसलाई धम्क्याउन खोजेका हुन् भन्ने अस्पष्ट छ । तर, दलभित्रको विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार अप्ठेरोमा परेको सन्देश मज्जाले प्रवाहित भएको छ । यस्तो अप्ठेरो परेको अनुमान उनले प्रयोग गरेको भाषाबाट पनि गर्न सकिन्छ । उनले आफूले राजीनामा दिए देशै डुब्ने अनौठो दाबी पनि गरेका छन् । उनी जनताको मतबाट निर्वाचनमार्फत चुनिएर प्रधानमन्त्री भएको साँचो हो । जनताको यस्तो विश्वास अकाट्य हुँदैन । उनले यस्तो विश्वासको पुष्टि संसदीय दल र संसद्बाट समेत गर्नुपर्छ । यी दुई ठाउँमा अल्पमतमा पर्नासाथ उनको पद जान्छ । प्रधानमन्त्रीले आफूले राजीनामा दिए देश अँध्यारोतिर जान्छ भन्नु कता–कता लुई १४औँको गन्ध ह्वास्स आउने अभिव्यक्ति हो ।
यसैबीच ओलीले आफूले पार्टीका कुनै पनि फोरमका निर्णय अस्वीकार गर्ने जनाउ दिएको बताइएको छ । यो पनि म छु त संस्थाहरू छन्, म छैन त सबै भत्काएर छाड्छु भन्ने अहंकारी विचार हो । भस्मासुरजस्तो जसले आफूलाई नेता बनायो, प्रधानमन्त्री बनायो, उसैलाई भस्म पार्ने धम्की दिनुजस्तो हो । आधुनिक राजनीतिशास्त्रले यस्तो विचारलाई अधिनायकवादी विचार भनेर परिभाषित गरेको छ । प्रधानमन्त्रीमा जुनखाले दम्भ देखिएको छ, त्यो हाम्रो हुर्किंदो लोकतन्त्रका लागि सुखद छैन । संविधानले व्याख्या गरेको परिधिभन्दा भिन्न भएर चल्न र राज्य चलाउन खोज्ने तथा अध्यादेशबाट संविधान बदल्न प्रयास गर्ने यस्ता प्रधानमन्त्रीमाथि लगाम लगाउन ढिलो भयो भने लोकतन्त्रमाथि अरू खतरा हुन्न भन्न सकिन्न । 










