छलाङवाद वा निरन्तरतासहितको गतिशीलता

छलाङवादको विश्रामस्थल आज राजनीतिका केही शक्तिशाली तथा भ्रष्ट प्रशासक र यी दुवैका मतियार दलाल पुँजीवादीहरूको ‘लौह गठबन्धन’मा पुगेको छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएको ३० वर्ष पुगिसक्यो । धेरै आरोह–अवरोहपश्चात् राप्रपा अब एकढिक्का भएको छ । समावेशी राष्ट्रवाद, बहुलवादी प्रजातन्त्र र जनकल्याणकारी उदारवादको संरचनाभित्र रहेर ठोस मुद्दा र कार्यक्रम बोकेको राष्ट्रिय दलको रूपमा राप्रपा अगाडि बढ्नेछ ।
वैचारिक दृष्टिले राप्रपा निरन्तरतासहितको गतिशीलता (संवद्र्धनवाद)को अवधारणा बोकेको दल हो । सामान्यतया निरन्तरता र गतिशीलता एक–अर्को विरोधी शब्दका रूपमा देखा पर्दछन् । गतिशीलताले परिवर्तन र भविष्यलाई जोड दिन्छ भने निरन्तरताले विगतको यथार्थलाई पनि राष्ट्रनिर्माण र समाज रूपान्तरणमा याद राख्नुपर्ने तथ्यलाई औँल्याउँछ । यी दुई परस्पर विरोधी देखिने तत्वहरूको एकताबाटै गतिशील स्थिरताको आधुनिक एवं समावेशी समाज निर्माणको कल्पना गर्न सकिन्छ ।
मानव सभ्यता विकासका क्रममा गतिशीलता शब्द राजनीतिक, सामाजिक, आर्थिक तथा प्राविधिक सबै पक्षसँग जोडिन आउँछ । यी चारै तत्व एक–अर्कासँग सम्बन्धित छन्, यद्यपि कुन तत्व प्रमुख हुन्छ भन्ने कुरो यसै भन्न सकिँदैन । तथापि, जब यी चारै तत्वबीचको अन्तरसम्बन्ध बढ्दै जान्छ, त्यसबखत ‘छलाङवाद’ अथवा क्रमभंगताको वातावरणले प्रोत्साहन पाउँछ ।
विगत तीन सय वर्षदेखिको इतिहास हेर्दा छलाङवादी प्रवृत्ति बारम्बार समाज परिवर्तनको विशेषताको रूपमा देखा परेको छ । यसको मुख्य कारण राज्य र नागरिकबीचको अन्तरसम्बन्ध र नागरिकहरूमाझको आपसी सम्बन्ध संरचनामा आएको व्यापक वैचारिक परिवर्तन हो । तर, छलाङवादको ऐतिहासिक अनुभवले के देखाउँछ भने क्रान्तिकारी नारासहितको छलाङवाद अन्ततोगत्वा या त राष्ट्र विनाशको कारण बन्छ, या बिस्तारै निरन्तरतासहितको गतिशीलतामा रूपान्तरित हुन्छ । तर, यो यात्रा सजिलो देखा परेको छैन । यसको ज्वलन्त उदाहरण हाम्रै देश बनेको छ ।
छलाङवाद, फ्रान्सेली क्रान्ति : छलाङवाद रोमाञ्चकारी सपना हो । अहिले जे छ, त्यो सबै खराब छ, त्यसलाई समूल नष्ट गरौँ र नयाँ संसारको निर्माण गरौँ भन्ने सपना छलाङवादको मूल बाटो हो । यो अस्त्रको निर्माण सर्वप्रथम नयाँ वैचारिक चिन्तनको शृंखलाबाट सुरु हुन्छ र यसले मानिसमा आफ्नो यथार्थप्रति नयाँ चेतना पैदा गरी नयाँ रोमाञ्चकारी भविष्यको चित्र पेस गरिदिन्छ ।
फ्रान्समा १७७९ मा भएको क्रान्ति यही यथार्थको अनुपम उदाहरण थियो र छलाङवादको नौलो प्रयोग थियो । यसको वैचारिक जग रुसो, भोल्तेयरजस्ता चिन्तकले खडा गरे भने यसलाई बल दिने काममा सामन्ती शासकहरूले आफ्नो व्यवहारबाट प्रदर्शन गरे । फ्रान्सका अन्तिम राजा लुईले जथाभावी कर लगाउने गरे । एकातिर शासकीय भ्रष्टाचार बढ्दै थियो भने अर्कातिर देशको सबैभन्दा ठूलो जमिनदारको रूपमा रहेको चर्चको शोषणले जनता आक्रोशित हुँदै थिए । तर, यतिले मात्रै क्रान्ति हुने थिएन ।
- विद्रोह त हुन्थ्यो होला, तर क्रान्ति आधारभूत रूपमा फरक हुन्छ । विद्रोह इन्जिनको सानो पाटपुर्जा फेर्ने आकांक्षा राख्छ, क्रान्तिले इन्जिन नै फेरेर नयाँ र भिन्न इन्जिनको कल्पना गर्छ । त्यसबखतको महत्वपूर्ण पक्ष के थियो भने राज्य र जनताको सम्बन्धबारे अठारौँ शताब्दीका चिन्तकहरूले संसारमा सबै कुरा विज्ञानमार्फत जान्न सकिने र यसै कारण परम्परा र परम्परागत संस्थाहरू ध्वस्त गरेर मात्र जनताकेन्द्रित नयाँ युगको सुरुआत गर्न सकिने तर्क पेस गरेका थिए ।
प्रश्न पुर्जा फेर्ने कुरामा सीमित थिएन, पूरा इन्जिन नै फेर्ने कल्पना थियो । राज्य र जनताको सम्बन्धबारे नयाँ वैचारिकी, शासक वर्गको भ्रष्टाचार र शोषण, धर्मको नाममा चर्चको शोषणजस्ता सबै तत्वको संयोजनले पुरानो संस्था, संरचना र संस्कृति सबै ध्वस्त गरेर नयाँ युगको कल्पनाको रूपमा फ्रान्सेली क्रान्ति देखा पर्यो । यो सही अर्थमा ‘छलाङवाद’ अर्थात् क्रमभंगताको युग थियो ।
बेलायतबाट छलाङवादी क्रान्तिलाई गम्भीर तरिकाले नियाल्ने चिन्तकको रूपमा एडमन्ड वर्क देखा परे । निरन्तरतासहितको गतिशीलताको वैचारिक तर्क गर्दा वर्कलाई हेर्नैपर्ने हुन्छ । क्रान्तिको नाममा निस्केको छलाङवादले अन्ततोगत्वा प्रजातन्त्रको हत्या गर्ने, राजसंस्थाको विनाश गर्ने र त्यसको ठाउँमा अधिनायकवाद स्थापित हुने तथा युरोप लामो लडाइँमा फस्ने भविष्यवाणी वर्कले आफ्नो प्रसिद्ध पुस्तक ‘रिफ्लेक्सन अन द रिभोलुसन इन फ्रान्स’मा गरेका थिए, जुन यथार्थमा देखियो ।
राज्यशक्तिको प्रयोगमा आफ्नो ऐतिहासिक परिवेश चटक्कै मास्न खोजे त्यसले राम्रो नतिजा ल्याउन नसक्ने उनको ठम्याइ थियो । वर्क परिवर्तनका विरोधी हैनन्, तर परिवर्तनका क्रममा क्रमभंगता र छलाङवादलाई बोकेर हिँड्ने सोचले सकारात्मक परिवर्तन ल्याउनुको साटो अवसरवाद र अराजकतावादले जरो गाड्छ र प्रजातन्त्र ध्वस्त हुन्छ । वर्कले यो तर्क बेलायतको आधारभूत संरचना र मूल्य मान्यता जोगाएर गरिएको परिवर्तन र फ्रान्सको छलाङवादको नाममा घटित स्थितिसँग तुलना गरेर गरेका हुन्, जुन आज पनि सान्दर्भिक छ ।
रुस र छलाङवाद : छलाङवादको अर्को ठूलो प्रयोग माक्र्सवादी दर्शनको जगमा रुसमा भयो । १७औँ शताब्दीपछि प्रविधिको विस्तार र औद्योगिक क्रान्तिको वेग पहिले बेलायतमा र त्यसपछि अमेरिका र युरोपमा बढ्दै गएपछि त्यसको सकारात्मक र नकारात्मक दुवै पक्ष देखा परे । नयाँ र परिवर्तनमुखी औद्योगिक संरचनासँगको संघर्षमा जमिनमा आश्रित सामन्ती वर्ग असफल हुँदै गयो ।
अब औद्योगिक मजदुर हुन पुगेका श्रमिकको आर्थिक अवस्थाबारे कस्तो नीति लिने ? नयाँ खडा हुँदै गएको अर्थ संरचनाअन्तर्गतको भागबन्डा अर्थात् ज्याला, ब्याज र पुँजीको प्रतिफल कसरी तय गरिने ? यी प्रश्नबारे विभिन्न विचार र दृष्टिकोण पेस भए । तर, यसक्रममा मजदुरमाथिको शोषण बढ्दै गयो । यसै परिवेशमा माक्र्सवादको जन्म भयो ।
मूलतः मार्क्सको भनाइमा औद्योगिक व्यवस्थाको जग जब बलियो हुँदै जान्छ, मजदुर (सर्वहारा) र उद्योगपतिबीचको सम्बन्धले वर्गीय चरित्र लिन्छ । यो अन्तरविरोधले संघर्षको रूप लिने र अन्ततोगत्वा पुँजीवादको अन्त्य र अर्थव्यवस्थाको सामाजिकीकरणको स्वर्ण युग सुरु हुन्छ । यो व्याख्या वास्तवमा क्रमभंगता र छलाङवादको वैचारिक आधारका रूपमा देखा पर्यो ।
मार्क्सले आफ्नो जिन्दगीको अन्त्यताका आइपुग्दा आफूले पेस गरेको कल्पना अव्यावहारिक हुन सक्ने देखिसकेका थिए । हुन पनि मजदुरको ज्याला घटेन, मजदुरको पक्षमा धेरै सामाजिक सुरक्षाका कार्यक्रम आए र यसको नेतृत्व जर्मनीका बिस्मार्कले गरे । बेलायतमा प्रजातान्त्रिक अवधारणाअन्तर्गत नै राजनीतिक सुधार भयो । मताधिकारको दायरा बढाउँदै लगियो र माक्र्सको छलाङवाद ओझेलमा पर्यो ।
रुसमा लेनिनले मार्क्सवादको सैद्धान्तिक जग समातेर कृषिमा आधारित सामन्ती र औद्योगीकरण व्यापकता नभएको अवस्थामा पनि सत्ता पल्टाए । राजपरिवारको हत्या गरे र एकदलीय अधिनायकवादी शासन कायम गरे । तर, यो राजनीतिक तथा वैचारिक छलाङवादको मूल्य चर्को थियो । लेनिनपछि स्टालिनको शासनमा जमिन किसानबाट खोसियो । यसमा असन्तुष्टि व्यक्त गर्ने लाखौँ किसान मारिए या साइबेरियाको यातनागृहमा पठाइए । एकदलीय प्रजातान्त्रिक केन्द्रीकरणको नाममा एकजना स्टालिनको शासन चल्यो । यसमा बोल्न नपाइने र पार्टीले जे भन्छ, त्यो सामन्तवादअन्तर्गतको सेवकजस्तै स्वीकार गर्नुपर्ने, नगरे मृत्युवरण गर्ने परिपाटी बस्यो । सन् १९३६ सम्म आइपुग्दा स्टालिनले क्रान्तिमा साथ दिने अधिकांश आफ्ना सहकर्मीलाई सफाया गरिसकेका थिए ।
राष्ट्र र राज्य निर्माणका क्रममा आफ्नो देशको सभ्यताका राम्रा पक्ष र मनोवैज्ञानिक सुरक्षाका आयामहरूलाई तिरस्कार गर्दा यथार्थमा दिगो र गुणात्मक विकास तथा स्थिरताको सट्टा समाजमा आक्रोश, निष्क्रियता र निराशा संस्थाकरण हुँदै जाने यथार्थ मार्क्सवादको नाममा स्थापित हुने छलाङवादी प्रवृत्तिले स्पष्ट गरेको छ
राष्ट्र र राज्य निर्माणका क्रममा आफ्नो देशको सभ्यताका राम्रा पक्ष र मनोवैज्ञानिक सुरक्षाका आयामहरूलाई तिरस्कार गर्दा यथार्थमा दिगो र गुणात्मक विकास तथा स्थिरताको सट्टा समाजमा आक्रोश, निष्क्रियता र निराशा संस्थाकरण हुँदै जाने यथार्थ मार्क्सवादको नाममा स्थापित हुने छलाङवादी प्रवृत्तिले स्पष्ट गरेको छ । रुसको मार्क्सवादी छलाङवादमा आधारित नयाँ युग ७० वर्ष पनि टिकेन ।
जुन राजपरिवारलाई लेनिनको सत्ताले हत्या गरेको थियो, त्यसको चिहान खोतलेर त्यहाँ रहेका अवशेष इज्जतका साथ ठूलो चर्चमा समाधिस्थ गरियो । कम्युनिस्ट शासनले निषेध गरेको अर्थोडक्स चर्च अर्थात् धर्म फेरि बलियोसँग स्थापित भएको छ र जनताको जीवनको अभिन्न अंग बनेको छ । मार्क्सवादअन्तर्गतको मूलधार हराएको छ ।
इतिहासमा देखिएको माक्र्सवादअन्तर्गत २०औँ शताब्दीको सुरुमा गरिएको यो प्रयोग असफल भएर निरन्तरतासहित गतिशीलताको नयाँ सम्भावनाको खोजीमा छ । यद्यपि, रुसमा प्रजातन्त्रको सार के हुने भन्ने अझै प्रस्टिसकेको छैन । आज बहुदलीय चुनाव भने पनि रुस धर्ममा आस्था राख्ने तर प्रजातन्त्रको नाममा झन्डै एकदलीय अधिनायकवादमा यात्रा गरिरहेछ ।
छलाङवाद र चीन : फ्रान्स र रुसपछि एउटा ठोस वैचारिक जगलाई समातेर गएको छलाङवादको रोचक प्रयोग चीनमा देखियो । मार्क्सवादलाई मार्गनिर्देशनको रूपमा व्याख्या गरेर युद्ध र क्रान्तिका माध्यमबाट राष्ट्रका सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा क्रमभंगताको दृष्टिकोण अगाडि बढाउने माओको प्रयास ऐतिहासिक छ । सन् १९४९ मा सत्ता कब्जा गरेपछि माओले ‘नयाँ मान्छे’को कल्पना गरे ।
खाली कागजमा जे पनि लेख्न सकिन्छ भन्ने चिन्तनबमोजिम माओले पुराना सांस्कृतिक मान्यता र धरोहरमाथि आक्रमण गरे । सफा कागजमा लेखेको जस्तै अबको चीनमा लेखिने इतिहास सबै नयाँ हुनेछ र नयाँ संसार बनाउन सकिन्छ भन्ने उनको अठोटलाई मूर्त रूप दिन सामाजिक सन्तुलन र सम्बन्धलाई मार्गदर्शन मान्ने कन्फ्युसियस शिक्षालाई नयाँ चीनमा सखाप पार्ने नीति भयो । रोमाञ्चकारी छलाङवादको यो बेजोड उदाहरण थियो ।
माओले बीसौँ शताब्दीमा माक्र्सवादको प्रयोग नयाँ मानव सिर्जना गर्ने प्रयासमा लाग्ने भनेका थिए । ‘जनताका लागि प्रजातन्त्र, प्रतिक्रियावादीका लागि अधिनायकत्व’ (हेर्नुस् : सेलेक्टेड वक्र्स अफ माओत्सेतुङ भोल्युम ५, पेज ३९१) यही चिन्तनको सेरोफेरोमा सुरु गरिएको माओको छलाङवादी नीतिले १९६० को दशकमा चीनमा भयानक भोकमरी भयो, लाखौँ मानिस मरे । अझ त्यतिले नपुगेर ‘नयाँ मानव’ सिर्जना गर्ने माओको अर्को छलाङवादी अभियान ‘महान् सांस्कृतिक क्रान्ति’ले चिनियाँ राज्य र अर्थव्यवस्था धराशायी हुने स्थितिमा पुर्यायो ।
माओको मृत्युपछि देङस्याओ पिङको नयाँ नीतिले यो छलाङवादमाथि रोक लगायो, भिरबाट खस्न लागेको व्यवस्थालाई बचायो । फेरि एकपटक अर्थव्यवस्थामा बिस्तारै निजी क्षेत्रलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पुनर्बहाली गराइयो र चिनियाँ सभ्यताको महत्वपूर्ण परम्परागत मान्यतालाई पुनर्जीवित गराउने काम भयो । अतः माओको छलाङवादको नीतिअन्तर्गत निकाला गरिएको कन्फ्युसियस चिन्तनलाई राष्ट्रको सांस्कृतिक सम्पत्तिका रूपमा बिस्तारै पुनर्जीवित गराइयो ।
आज चीनको नरम शक्ति (सफ्ट पावर)को रूपमा र चिनियाँ सभ्यताको प्रतीकका रूपमा कन्फ्युसियस केन्द्रहरू स्थापना गर्न चिनियाँ सरकार विश्वभरि आफैँ लागिपरेको छ । आजको चीनमा राज्यको वैधानिक सिद्धान्त माक्र्सवाद छ, शासन पद्धति एकदलीय छ र अर्थतन्त्र प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रको बाटोमा धेरै अगाडि पुगिसकेको छ भने सांस्कृतिक परिवेश हजारौँ वर्ष पुरानो कन्फ्युसियस बौद्ध दर्शनमा अडेको छ । यस अर्थमा चीन रोमाञ्चकारी माक्र्सवादमा आधारित छलाङवादको जोखिमपूर्ण अनुभवबाट अब फेरि निरन्तरतासहितको गतिशीलताको बाटोको खोजमा छ ।
छलाङवाद र नेपाल : नेपाली समाजको आर्थिक तथा राजनीतिक र सामाजिक क्षेत्रमा माक्र्सवाद, लेनिनवाद र माओवादका केही सूत्र बोकेर देशको रूपान्तरणको सपना माओवादीले पछ्याएको हो । पहिलो जनआन्दोलन निरन्तरतासहितको गतिशीलताको अवधारणाभित्रै सञ्चालन भएको थियो, जसको एउटा मुख्य अंग संवैधानिक राजसंस्थाको स्थापना पनि थियो (त्यस वेलाको संविधानलाई त्यसका निर्माताहरूले संसारकै उत्कृष्ट संविधान पनि भनेका थिए) । निरन्तरता र गतिशीलताबीच संयोजन गर्ने प्रयास कमसेकम कागजमा गरिएको थियो । तर, संविधानलाई गतिशीलता र जीवन्तता दिन संविधानमा के लेखियो भन्दा पनि त्यसलाई प्रयोग गर्नेहरूको नियतमा भर पर्ने हुन्छ ।
दुर्भाग्यवश कतिपय निरन्तरता र गतिशीलताका बुँदामा जनताप्रतिको संवेदनशीलता र जनताको उर्लंदो आकांक्षाप्रति जिम्मेवारी देखिएन । अब शासन गर्ने हाम्रो पालो, यो मौकामा ‘चौका’ हान्नुपर्छ भन्ने व्यवहारले भ्रष्टाचार बढायो । नयाँ–नयाँ भ्रष्टाचारका काण्डले उच्च मूल्यांकनमा रहेका नेताप्रति गहिरो वितृष्णा जगायो ।
राज्यका हरेक अंगमा निष्पक्षता र जनताप्रतिको जवाफदेहिताको सट्टा पार्टीगत हित र पार्टीमा सम्मिलित समूहको द्रव्यमोहले प्राथमिकता पायो । संविधानमा जे लेखे पनि व्यवहारमा जनताका सेवक भन्नेहरू नै राज्यको स्रोतसाधन लुटाहाकोे रूपमा देखिन थाले । पहिचान प्रजातन्त्र आएपछि बिपी कोइरालाले एकपटक भनेको जस्तो सत्ता, स्रोत र साधन ‘सुकिला’को हितमा केन्द्रित हुन थाल्यो । भर्खरै आन्दोलनमा होमिएका जनताबाट यो विरोधाभास लुकेन, यसको फाइदा माओवादीहरूमा पुग्यो ।
आज मार्क्सवाद र लेनिनवादको ब्रान्ड बोकेर नेपाल दलाल पुँजीपतिहरूका लागि नयाँ स्वर्ग बनेको छ । सर्वहाराको नाममा नेपालमा आज सबभन्दा पीडित र शोषित किसान र मजदुर भएका छन् । यहाँसम्म कि असारमा चाहिने मल मंसिरमा पनि पाइने ठेगान छैन । तर, यसका लागि कोही जिम्मेवार छैन ।
माओवादी आन्दोलनको बल मार्क्सवादको नाममा खडा भएको चीनको माओवादमा निहित छलाङवादमा आधारित रहेको र यो क्रममा जोसँग पनि हात मिलाउन तयार भएको कटु यथार्थ स्पष्ट छ । त्यसबखत बाबुराम, प्रचण्डका लेख हेर्दा आज आश्चर्य लाग्छ । त्यसबखतका बाबुरामका भनाइमा नयाँ नेपाल बनाउन पुरानो राज्य व्यवस्था पूरै सखाप पार्नु पूर्वसर्त हो, यसका लागि सर्वहारा राज्यको रक्षा गर्न र निरन्तर क्रान्ति कायम गर्न नयाँ सेना बनाउनुपर्ने उनको गर्जन थियो ।
माओवादीहरूको ७५ बुँदे कार्यक्रमको पहिलो बुँदामा ‘राज्यसत्ताको आधारभूत चरित्र सर्वहारा वर्गको नेतृत्वमा जनवाद तथा जनताको दुस्मनमाथि अधिनायकवाद लागू गर्ने घोषणा थियो । यो माओले १९५७ फेब्रुअरीमा अन्तरविरोधबारे दिएको भाषणको नक्कल थियो (हेर्नुहोस्, दी वर्कर फेब्रुअरी २००४) । तर, प्रचण्ड पनि कहाँ कम !
नेपालको आर्थिक रूपान्तरणमा छलाङ मार्न नोकरशाही पुँजीपति र दलालका ठूला उद्योग, कलकारखाना राष्ट्रियकरण गरिनुपर्छ भनी उनले ठोकुवा गरे । देश विकास गर्न पुँजी कहाँबाट ल्याउने ? त्यसबखतका दाहालको उत्तर हुन्थ्यो– ‘सामन्त र दलाल पुँजीपतिहरूको राष्ट्रियकरण नयाँ नेपालको मुख्य आर्थिक आधारको स्रोतको रूपमा प्रयोग गरिनेछ’ (हेर्नुस् दाहालको लेख : ‘नयाँ नेपालको रूपरेखा २०६३’) । मार्क्सवाद–माओवादमा आधारित छलाङवादका प्रवर्तकहरू आज वैचारिक रूपमा कति स्खलित र वैचारिक रूपमा निरीह र दरिद्र भएर कहाँ पुगेका छन्, सबैले देखेका छन् ।
मूल कुरो २०६२ पछिको छलाङवादले न पुराना राम्रा कुरालाई निरन्तरता दिन सक्यो, न नेपालको अर्थ–राजनीतिक संरचनालाई एक्काइसौँ शताब्दीको चुनौती स्वीकार गर्न सक्ने बनाएर गुणात्मक विकासलाई संस्थागत गर्न सक्यो । परिवर्तनको नाममा राजसंस्था हटाइयो, तर त्यसको स्थानमा दलगत राजनीति मात्र नभई सत्ताको एक गुटको हिमायतीका रूपमा राष्ट्रपतिलाई दुरुपयोग गर्ने संस्कार बस्यो । आज मार्क्सवाद र लेनिनवादको ब्रान्ड बोकेर नेपाल दलाल पुँजीपतिहरूका लागि नयाँ स्वर्ग बनेको छ ।
सर्वहाराको नाममा नेपालमा आज सबभन्दा पीडित र शोषित किसान र मजदुर भएका छन् । यहाँसम्म कि असारमा चाहिने मल मंसिरमा पनि पाइने ठेगान छैन । तर, यसका लागि कोही जिम्मेवार छैन । महामारीलाई नै हेरौँ । कोभिडको महामारी रोक्न चार महिना ‘लकडाउन’ भयो । तर, कोभिडलाई बेसारपानी खाएर निको पार्ने घोषणा प्रधानमन्त्रीले संसद्मा गरे ।
महामारीमा किन्ने औषधिमा समेत भ्रष्टाचार गरियो । यो भ्रष्टाचारलाई राज्यले संरक्षण दियो । बजेटमा महामारीको संकटबारे गम्भीरता देखाइएन । महामारीसँगै आवश्यक क्वारेन्टाइनको व्यवस्था गरिएन । लकडाउनको समय सदुपयोग गरी उपकरणको जोगाड गरिएन । बेरोजगारी र संकटमा परेका जनतालाई प्रभावकारी राहतको व्यवस्था गर्ने ठोस प्रयास गरिएन । स्वभावतः हाम्रो व्यवहारबाट कोभिडविरुद्धको लडाइँमा राज्य निरीह देखियो ।
यस्तो अवस्थामा कोभिडको उपचारबाट नै राज्य पछि हट्न खोजेको नीति घोषणा गरियो । मूलतः छलाङवादको विश्रामस्थल आज राजनीतिका केही शक्तिशाली तथा भ्रष्ट हस्तीहरू र शासनका केही भ्रष्ट प्रशासक र यी दुवैका मतियार दलाल पुँजीवादीहरूको ‘लौह गठबन्धन’मा पुगेको छ । र, यो आउने दिनको अस्थिरताको गम्भीर सूचकका रूपमा देखा परिसकेको छ ।
देशको आजको स्थितिलाई क्रान्तिपछिको प्रतिक्रान्ति भनी पन्छाउने प्रयास भइरहेको छ । अब यो अस्त्रले समाजवादी छलाङवादको नाममा देशमा एउटा सानो भ्रष्ट भुइँफुट्टा वर्गको नवसामन्तवादी शासन र शोषणलाई छोप्न सक्दैन । अब एउटा नयाँ सन्तुलनको देशमा आवश्यकता छ, जसले चीन र भारतबीच चेपिएको नेपालको मौलिक पहिचान र अस्तित्व निरन्तरता र गतिशीलताको वैचारिक छहारीमा कायम गर्दै देशलाई उन्नतिको बाटोमा लग्न सकोस् ।
यो दृष्टिकोणले हेर्दा निरन्तरताका केही स्पष्ट बुँदाहरू छन् । पहिलो, नेपाललाई प्राचीन हिन्दू र बुद्ध दर्शन बोकेको वैदिक सनातन हिन्दू राष्ट्रको रूपमा कायम गर्नु हो । नेपालको सनातन सभ्यताको पहिचान कायम गर्नु हो । दोस्रो, विविधताका बीचमा एकता कायम गर्न देशमा राष्ट्रिय एकताको प्रतीकको रूपमा संविधानको स्पष्ट परिधिभित्र राजसंस्था कायम गर्नु हो ।
तेस्रो, ००७ साल देखिको क्रान्तिको उपलब्धिलाई संस्थागत गर्दै जनताको सर्वोच्चतालाई सिद्धान्तमा मात्र नभएर व्यवहारमा शासनको आधार बनाउनु क्रान्तिको नाममा भ्रष्ट राजनीतिज्ञ, तिनका केही प्रशासनका ठालुहरू र यी दुवैलाई चलाउने सीमित दलाल पुँजीपतिहरूको ‘लौह गठबन्धन’बाट देशलाई मुक्ति दिलाउन नयाँ गतिशीलता आजको एक प्रमुख चुनौती हो ।
चौथो, नेपाली अर्थतन्त्रको विस्तारमा उदारवादमा आधारित प्रगतिशील पुँजीवादलाई कायम गर्नु हो । पहिलो दुई तत्वले निरन्तरतालाई प्रतिनिधित्व गर्छ भने दोस्रो दुई तत्वले २१औँ शताब्दीमा अगाडि बढ्ने शक्ति र गतिशील स्थायित्व कायम गर्नेछ । यी चारै तत्वको संयोजन गतिशील स्थिरतामा अडेको नेपालको नयाँ राजमार्ग हो, अर्थात् निरन्तरतासहित गतिशीलताको नयाँ दृष्टिकोण हो र संवद्र्धनवादको आधुनिक रूप हो । यही नै राप्रपाको चिन्तन र राष्ट्रको आजको आवश्यकता पनि हो । नयाँपत्रिका बाट










