१ लिटर दूधमा ३ रुपैयाँ अनुदान

रुकुम पश्चिम ः मुसीकोट नगरपालिका–२ का रमेश केसीले गत वर्ष भैंसीपालनबाट २४ हजार रुपैयाँ अतिरिक्त आम्दानी गरे ।

४ नम्बर वडाका राजु ओलीको १९ हजार थप आम्दानी हुँदा १३ नम्बर वडाका नारायण खड्काले पनि १७ हजार कमाए ।

उनीहरु मात्र होइन नगरपालिकाका दूध उत्पादक कृषकले अतिरिक्त कमाइ गरिरहेका छन् । नगरपालिकाले व्यवसायिक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिन थालेपछि उनीहरुले अतिरिक्त आम्दानी गरिरहेका हुन् । गत आर्थिक वर्ष सुरु भएको कार्यक्रम ६ महिना मात्र चले पनि यस वर्ष निरन्तरता दिइएको छ । गत वर्ष १५ जना किसानले यो अनुदान पाए ।

नगरपालिकाले अनुदान कार्यक्रम ल्याएपछि हौसला बढेको केसीले बताए । ‘भैंसी किन्न र भकारो सुधारमा पनि अनुदान पाइरहेका छौं,’ उनले भने, ‘दूधमा पनि अनुदान दिएपछि थप व्यवसायिक बन्न सहयोग पुगेको छ ।’

अहिलेसम्म १ लाख १५ हजार रुपैयाँ अनुदानबापत किसानलाई वितरण गरिएको नगरप्रमुख देवीलाल गौतमले बताए । ‘व्यक्तिगत तथा सामूहिक रुपमा दूध उत्पादनमा लागेका कृषकलाई यो सुविधा दिएका छौं,’ उनले भने, ‘कार्यक्रमले किसानलाई थप व्यवसायिक बन्न सहयोग गरेको छ ।’

नगरपालिकाका अनुसार अनुदान पाउनका लागि किसानले एक वर्षमा कम्तिमा ५ सय लिटर दूध सूचिकृत डेरीमा बिक्री गरेको हुनुपर्छ । यो वर्ष नगरपालिकाले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट पनि झण्डै २१ लाख रुपैयाँ अनुदान आएको उनले जानकारी दिए ।





error: Content is protected !!