कच्ची कटानसँगै पुग्यो यातायात बारेकोट

हेमन्त केसी
जाजरकोट ,  बाढी पहिरोबाट थिलो , थिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भएपनि वर्षायाममा ठाउँ , ठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सदरमुकाम खलंगाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाक ओपन’ भएलगत्तै बाढी पहिरोले बारेकोट छिया, छिया भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।


नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटानको मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालीमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ । नलगाड नगरपालिकाको कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।

तस्वीर ः गोरखबहादुर सिंह

कालीमाटी हुँदै लैखमसम्म नलगाड नदीको तीरैतीर अर्को पहुँच मार्ग निर्माण गरी बारेकोट गाउँपालिकाको वडा–७ लैखमसम्म सडक जोडिएको छ । अर्को कालीमाटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासँग सडक जोडिएको छ । यि सवै सडकहरु क्षेत्रगत रुपमा मर्मत गरिएका छन् ।

नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा नलगाड नदीको किनारै किनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्कोदेखि बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले आफैले कच्ची निर्माण गरेको थियो ।

नलगाड जलविद्युत् आयोजना बाधस्थल अर्थात् सक्ला ध्यापाटाकुरादेखि लिम्सासम्मको १२ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोडको बोलपत्र आह्वान छ । गाउँपालिकाको ५० प्रतिशत बजेट र सङ्घीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरोन्नतिको काम सुरु गर्न लागिएको हो ।

गाउँपालिकाले रु चार करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ‘ट्रयाक’ खोलेको थियो । कर्णाली प्रदेशकै सामरिक महत्वको नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट) निर्माणका लागि डिपिआरको कामदेखि अन्य विकास निर्माणको कामलाई यो सडकले विशेष महत्व दिइएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको विशेष महत्वको रुपमा रहेको यो आयोजना निर्माण गर्न सहज हुने पहिलो मार्ग नै यो सडक रहेको सिंहको भनाइ छ । जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जडीबुटीको भण्डारको रुपमा परिचित छ । माथि तीर नलगाड नदीको उद्गमस्थल सहित अग्ला हिमाल र तल तीर नलगाड जलविद्युत् आयोजना निर्माणस्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक रहेको छ ।

सडक सञ्जाल नहुँदा यहाँ खाद्यान्न, निर्माणका सामग्रीदेखि अन्य विभिन्न वस्तु ढुवानीमा समस्या भोग्दै आएका यहाँका स्थानीयवासी सडक निर्माणसँगै सहजता आएको भन्दै खुशी भएका छन् । पुर्खौदेखि पिठ्यूमा आफै भन्दा बढी तौलका भारी, नाम्लो सहायताले बोक्दै बारेकोट लिन र बाहिर पठाउने काम गर्दै आएका तीन हजारभन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुःखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।

घोडा, खच्चडको भरमा दैनिक आवश्यकतासँग जुझ्दै आएका सर्वसाधारण अब गाडीसँग मितेरी गाँसेर दैनिक काम कारवाही सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले अन्य सहायक सडक निर्माणको काम तीव्र पारेको बताइएको छ ।


जुम्लासँग सडक जोड्न लागि काम तीव्र पारिएको छ । कोरोना भाइरसको त्रासका बीचमा विकास निर्माणको कामलाई गति दिइएको गाउँपालिकाले जनाएको छ । बिरामी हुँदा होस वा अन्य कुनै समस्या परेमा दुई दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासी अहिले एक दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ ।

गाउँपालिकामा विद्युतीकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गाडेर तार तान्ने काम केही दिनमै शुरु हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।





error: Content is protected !!