आन्तरिक हवाई यात्राका लागि पिसिआर परीक्षण रिपोर्ट नचाहिने, स्वस्थ रहेको स्वयं घोषणा भने यात्रुले गर्नु पर्ने

६ महिनापछि सोमबारबाट सुरु भएको आन्तरिक हवाई सेवाका ९ वटा सेवा प्रदायक कम्पनीहरु मध्ये ८ वटाले आफ्नो सेवा सुरु गरेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत ११ चैत्रदेखि बन्द भएको नियमित हवाई सेवा १ सय ८० दिनपछि अर्थात ६ महिनापछि पुनः सुरु भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० ले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि आज बाट सेवा संचालन सुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए ।

बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसिआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ ।

नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तिमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।

विमानस्थल सेवा संचालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ ।

आज देशका विभिन्न भागमा यात्रु लैजान ५० ओटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।

सौर्य एयरलायन्सको बिमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन् ।

तारा एयरले नेपालगंज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।

आज उडान अनुमति पाएका बिमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लु लगायत स्थानहरुमा उडान भर्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।





error: Content is protected !!