आज विश्‍वकर्मा पूजा

काठमाडौंः आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।

आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ। यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ।

धेरै उद्योग तथा कलकारखाना यतिखेर बन्द छन्। खुल्ला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन्। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।





error: Content is protected !!