विज्ञको सुझाव लिँदै कर्णाली योजना आयोग

कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षीय योजनाको कार्यक्रम र नतिजा खाकाबारे सम्बन्धित मन्त्रालय तथा सरोकारवाला विज्ञहरुबाट सुझाव लिइरहेको छ । आयोगले हरेक दिन भर्चुअल बैठकबाट सुझाव लिँदै आएको हो ।

आयोगको यसअघि प्रकाशित आधारपत्रमा पञ्चवर्षीय योजनाको विषयगत पृष्ठभूमि, प्रमुख समस्या, चुनौती तथा अवसर र सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति ल्याइएको थियो । यसको विस्तृतीकरणमा कार्यक्रम तथा नतिजा खाका प्रस्तुत गरिएको कर्णाली प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा दीपेन्द्र रोकायाले जानकारी दिनुभयो । सुझाव सङ्कलन बैठकमा आयोगका कार्यवाहक उपाध्यक्ष डा रोकायाले विषयगत कार्यक्रम, कार्यक्रम अवधि, कुल अनुमानित लागत, अपेक्षित उपलब्धि र नतिजा खाकाका सूचकहरु प्रस्तुत गर्ने र त्यसैका आधारमा विज्ञहरुबाट सुझाव लिँदै आएको बताउनुभयो ।

प्रत्येक दिन सञ्चालन हुने बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाही, सम्बन्धित मन्त्रालयका मन्त्री, योजना आयोगका पदाधिकारीहरु, सम्बन्धित मन्त्रालयका सचिव, विज्ञ समूह र योजना महाशाखा प्रमुख सहभागी हुने गरेको कार्यवाहक उपाध्यक्ष डा रोकायाले जानकारी दिनुभयो । बैठकबाट आएका सुझावलाई समावेश गरी परिमार्जन गरेर कर्णाली प्रदेशसभाका विषयगत समितिसँग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गरेर कर्णाली प्रदेशको पञ्चवर्षीय योजना प्रकाशन गरिने उहाँले बताउनुभयो । यही भदौ २१ गतेदेखि शुरु गरिएको बैठक भदौ २७ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।





error: Content is protected !!