३ महिनादेखि शल्यक्रिया सेवा बन्द

हरि गौतम
रुकुम पश्चिम – जिल्ला अस्पतालमा ३ महिनादेखि शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा बन्द भएपछि जटिल प्रसूति सेवा लिने महिला र स–साना अप्रेशन गराउने बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको हो ।
जिल्ला अस्पतालमा जटिल प्रकारको प्रसूति सेवासहित हाइड्रोसिल, हर्नियालगायतको शल्यक्रिया हुन्थ्यो । विशेषज्ञ चिकित्सक र एनेस्थेसिया सहायकको दरबन्दी पूर्ति नहुँदा असार अन्तिम साताबाट शल्यक्रिया सेवा बन्द भएको हो ।
यसअघि कार्यरत विशेषज्ञ चिकित्सक सरुवा भएर गएपछि उनको ठाउँमा कोही आएका छैनन् । ‘यसअघि पनि बेला बेलामा शल्यक्रिया सेवा बन्द हुने गरेको थियो,’ त्रिवेणी गाउँपालिका–५ का गणेश सुनारले भने, ‘कोरोना कहरमा सेवा–सुविधा थपिनुपर्नेमा घट्दा विपन्न बिरामी मर्कामा परेका छौं ।’
उनले कोरोनाका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण सार्वजनिक सवारी नचल्दा बिरामीले थप दुस्ख पाइरहेको बताए । उनका अनुसार जिल्ला बाहिरका अस्पताल जाँदा बिरामीलाई गाडी रिर्जव गर्नुपर्ने बाध्यता छ । विभिन्न निकायले सञ्चालन गरेका एम्बुलेन्स भरपर्दो नभएको उनले बताए ।
विशेषज्ञ अभावमा विभिन्न रोगको उपचारमा पनि समस्या भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जनशक्ति अभावका कारण ३ महिनादेखि भरपर्दो उपचार सेवा प्रवाह गर्न नसकिएको निमित्त स्वास्थ्य व्यवस्थापक डा।महेश चौलागाईले बताए । ‘कतिपय अवस्थामा जनशक्ति नपाइने र पाइए पनि बजेटको अभाव हुने कारणले सेवा प्रवाहमा समस्या छ,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकलगायत स्वास्थ्यकर्मीको पदपूर्तिका लागि भर्खरै विज्ञापन गरिएको छ, चाँडै अप्रेशन सेवा सुरु गर्ने कोशिषमा छौं ।’
अहिले जिल्ला अस्पतालमा ६ जना मेडिकल अधिकृत कार्यरत छन् । सामान्य बिरामीको उपचारका लागि भने जनशक्ति पर्याप्त रहेको अस्पतालले जनाएको छ ।








