कांग्रेस १४औं महाधिवेशन- ‘निर्वाचन विकेन्द्रीकरण गरौं’ सिटौला, निधि, शशांक र थापाको प्रस्ताव

काठमाडौं । कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ ।

कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो ।

कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ ।

यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका हुन् ।

यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा छन् ।

उनीहरूले एक भर्चुअल कार्यक्रमको छलफलमार्फत संघीय संरचनाअनुसार वा जिल्ला तहमै महाधिवेशनका लागि मतदान गर्न सकिने गरी निजी प्रस्ताव अघि सारेका हुन् ।

सिटौलाले अब फागुनमा महाधिवेशन हुने सम्भावना आफूले नदेखेको र कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन–चार वर्ष महाधिवेशन गर्न नसकिने भन्दै तरिका बदलेर भए पनि महाधिवेशन गरिनुपर्ने बताए ।

‘कोरोनाकै कारण महाधिवेशन नगर्ने हो भने अझै तीन चार वर्ष महाधिवेशन हुँदैन त्यसले निर्वाचनमा असर गर्छ, अब पुरानै तरिकाबाट नभए तरिका बदलेर भए पनि महाधिवेशन गर्नुपर्छ,’ सिटौलाले भने ।

उपभापति निधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लागत रूपमा मतदान गरेर भए पनि महाधिवेशन गर्र्ने विकल्पमा जान सकिने बताए ।

‘१६५ वटा निर्वाचन क्षेत्र वा जिल्ला जिल्लामा मतदान गर्ने जस्ता उपायबाट पनि महाधिवेशन गर्न सकिएला, नेपाल बार एसोसिएसनको निर्वाचनको शैलीमा पनि महाधिवेशन गर्र्ने विकल्पमा जान सकिन्छ कि भन्ने हो,’ भर्चुअल कार्यक्रमको छलफलमा निधिले राखेको भनाइबारे राजधानीसँग भने ।

संविधानअनुसार अझै पनि केन्द्रीय समितिको म्याद ६ महिना थप्न सकिने भन्दै निधिले त्यसरी अघि बढ्दा थपिएको समयभित्र पनि महाधिवेशन हुन नसके पार्टीका लागि वैधानिक प्रश्न आउने धारणा भर्चुअल छलफलमा राखेका थिए ।

महामन्त्री डा। शशांक कोइरालाले महाधिवेशन गर्न ढिलाइ भए आगामी निर्वाचनमा पार्टीलाई फेरि पनि क्षति पुग्ने बताए । उनले फागुनमा सम्भव नभए चैतसम्ममा भए पनि महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

महामन्त्री कोइरालाले राजधानीसँगको संवादमा समेत सो समयभित्र महाधिवेशन नहुने स्थिति आए विकेन्द्रीकृत रूपमा महाधिवेशनमा जानुपर्ने बताए ।

‘फागुनमा सम्भव नभए चैतसम्ममा महाधिवेशन गर्न सकिन्छ, त्यो समयमा पनि नसकिने हो भने विकेन्द्रीकृत प्रणालीबाट निर्वाचन गराउन सकिन्छ, हामीसँग त्यो विकल्प पनि छ,’ महामन्त्री कोइरालाले राजधानीसँगको संवादमा भने ।

युवा नेता थापाले महाधिवेशनको तरिका बदलेर केन्द्रमा हुने अधिवेशन वडावडामा गर्न सकिने धारणा राखे । उनले कोरोनाको अवस्था जस्तो भए पनि यही तरिकाबाट अघि बढ्दा वैशाख–जेठसम्म पनि महाधिवेशन नहुने बताए ।

‘यही अवस्थाले महाधिवेशन वैशाख–जेठसम्म पनि हुँदैन । अधिवेशनको तरिका बदलौं, केन्द्रमा हुने महाधिवेशनलाई विकेन्द्रीकरण गरेर वडावडामा निर्वाचन गरौं,’ नेता थापाले छलफलमा धारणा राख्दै भने ।

महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने विषयमा पार्टीका पदाधिकारीबीच छलफल भइरहेको छ । आगामी केन्द्रीय समिति बैठकबाट सो विषय टुंगो लगाउने नेताहरूको तयारी छ ।

केन्द्रीय सदस्यको पीसीआर टेस्ट गरेर बैठक बस्ने कि भर्चुअल माध्यमबाटै बैठक गर्ने भन्नेबारे समेत नेताहरूबीच छलफल भइरहेको छ । बैठक २४ भदौपछि बस्नेछ ।





error: Content is protected !!