काम गर्ने वातावरण नभएको भन्दै धरानस्थित कोभिड अस्पताल’की प्रमुखले दिइन् राजीनामा

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको (कोभिड– १९ )अस्पताल’ सञ्चालनको नेतृत्व सम्हाल्दै आएकी एनेस्थेसिया विभागकी प्रोफेसर डा,कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् ।

अस्पताल प्रमुख डा कृष्णा पोखरेलले उपकुलपति डा ज्ञानेन्द्र गिरीसमक्ष मंगलबार राजीनामा दिएकी हुन् ।

कोभिड अस्पताललाई गत जेठदेखि प्रमुखको रूपमा नेतृत्व प्रदान गरेकी डा पोखरेलले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएकी छिन् ।

अस्पतालको औषधि खरिदमा अनावश्यक हस्तक्षेप र दबाब परेकोले ड‍ा पोखरेलले अस्पताल प्रमुखबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

आवश्यकताभन्दा बढी औषध तथा अन्य मेडिकल सामग्री खरिद गरिएकोमा हस्ताक्षर गर्न प्रशासनले दबाब दिएको स्रोतले जनाएको छ ।

राजीनामाबारे प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल निरन्तर रुपमा स्विच्डअफ रहेको छ ।

यस विषयमा उपकुलपति प्रा’डा ज्ञानेन्द्र गिरीलाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् ।

स्रोतका अनुसार उपकुलपतिको सचिवालयमा काम गर्ने कर्मचारीले अनावश्यक तनाव दिएका कारण पोखरेलले प्रमुख पदबाट राजीनामा दिएको बताइएको छ ।

राजीनामा पछि उनी पुनः आफ्नो विभागमा फर्केर काम गर्ने बताइएको छ । कोभिड– १९ अस्पताल निर्माण तथा त्यहाँ आवश्यक सामानहरू खरिद नियमअनुसार नगरी उपकुलपतिको सचिवालले आफूखुसी खरिद गर्ने र हस्ताक्षर गर्न दबाब दिने गरेको स्रोतले बताएको छ ।

अनावश्यक दबाब बढेपछि उनले कोरोना अस्पताल प्रमुखबाट राजीनामा गरेको हुन सक्ने बताइएको छ ।

प्रतिष्ठानमा गत जेठमा उद्घाटन गरिएको कोभिड उपचारका लागि एक सय बेडको अस्पताल सञ्चालनमा छ ।





error: Content is protected !!