यो वर्ष प्रहरीले ३९ भवन र ९२ ब्यारेक बनाउने

नेपाल प्रहरीले प्रदेश र स्थानीय तहबाट बजेट पाउन थालेपछि पूर्वाधार विकासमा केही सुधार गरेको छ । स्रोतसाधनको अभाव झेल्दै आएको प्रहरीले यो वर्ष ३९ वटा नयाँ भवन र ९२ वटा ब्यारेक बनाउने भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २० वटा हिरासत कक्ष र आठ सय ८० वटा शौचालयसहित अन्य संरचना गरी एक हजार एक सय चारवटा संरचना निर्माणाधीन अवस्थामा छन् । प्रहरीका धेरै कार्यालयमा अझै शौचालयसमेत छैनन् । शौचालय निर्माणलाई पनि प्राथमिकता दिइएको कार्यालयले जनाएको छ ।

पुनर्निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट आठ सय १० नयाँ पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको र प्रादेशिक बजेटबाट चालू आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुई वर्षमा ११ सय ७७ नयाँ संरचना
कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा एक हजार एक सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न भइसकेका छन् । नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायत नयाँ संरचना निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो दुई वर्षमा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, सात सय ५५ वटा शौचालय निर्माण भएको छ । प्रहरीका सयौँ कार्यालय अझै थोत्रा भवनमा छन् ।

नेपाल प्रहरीअन्तर्गतका हाल देशभर दुई हजार सात सय ५७ इकाइ छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाइ स्थापना गर्ने नेपाल सरकारको लक्ष्यअनुरूप ०७५ सालयता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कुल दुई सय ५१ नयाँ इकाइ थपिएका छन् । आव ०७४–७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालयलगायत भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पुनर्निर्माण कोषको बजेटबाट तीन सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो ।
नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लोकेश सिंह बताउँछन् । ‘अहिले ६९ जिल्लामा नयाँ भवन निर्माण भइसकेको छ । जे–जति बनेका छन् वा बनिरेहका छन् ती सबै भवन आधुनिक, अपांग एवं लैंगिकमैत्री तवरले बनाइएका छन्,’ उनी भन्छन्, ‘प्रहरीलाई आधुनिकीकरण गर्दै लाने योजनाबमोजिम विगतदेखि नै निर्माण कार्यलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिँदै आइएको छ ।’
प्रहरीको जनशक्तिमा वृद्धि एवं समय परिवर्तनसँगै पहिलेका संरचना अहिले अपुग हुनु स्वाभाविक भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत बताउँछन् । उनी भन्छन्, ‘कार्यालयसमेतको पूर्वाधार बनाउन विशेष ध्यान दिइएको छ । आवश्यकताअनुसार संरचना निर्माण र मर्मतसम्भार गर्न प्रहरी प्रधान कार्यालय संवदेनशील रहेको छ ।’





error: Content is protected !!