संक्रमित र स्वास्थ्यकर्मी एकै ठाउँमा

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिकाको आइसोलेसनमा कोरोना संक्रमित र स्वास्थ्यकर्मी सँगै बसिरहेका छन् । भदौ ६ गते पहिलोपल्ट ६ जनालाई संक्रमण देखिएपछि नगरपालिकाले २ स्वास्थ्यकर्मीलाई पनि उनीहरुसँगै आइसोलेसनमा पठाएको हो ।

स्वास्थ्यकर्मीमा अहिलेसम्म संक्रमण नदेखिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य सहायक पूर्ण केसी र अहेब नवराज चन्दले संक्रमितको ज्वरो नाप्ने, अक्सिजन हेर्ने, प्रेसर नाप्ने काम गरिरहेका छन् । संक्रमितलाई चिया, पानी र खानासमेत उनीहरुले नै खुवाउँदै आएका छन् । ‘हामी पनि बाहिर कसैसित सम्पर्क नहुने गरी आइसोलेसनमा बसेका छौं,’ स्वास्थ्य सहायक केसीले भने, ‘संक्रमितसित घुलमिल गर्दा हामीलाई पनि संक्रमण हुने भएकाले आइसुलेटेड भएर काम गरिरहेका छौं ।’

आइसोलेसन नजिकै नगर अस्पताल छ । नगर अस्पतालका अरु स्वास्थ्यकर्मी र कर्मचारीसँग उनीहरुको सम्पर्क छैन । आइसोलेसनभित्र १२र१२ घन्टाको ड्युटी गरिरहेको केसीले बताए । ‘बिहान ६ बजे संक्रमितलाई तातोपानी दिएपछि हाम्रो दिनचर्या सुरु हुन्छ, त्यसपछि अक्सिजनको मात्रा हेर्ने, खाजा र खाना खुवाउनेलगायत काम गर्छौं,’ उनले भने, ‘बिहानदेखि राति अबेरसम्म संक्रमितकै रेखदेखमा खटिएका छौं ।’ हालसम्म कसैलाई लक्षण नदेखिएकाले सबै संक्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

१४ दिन संक्रमतिसँगै बसेपछि २ स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आए पनि थप १४ दिन छुट्टै बसेपछि मात्रै ती स्वास्थ्यकर्मीले नगर अस्पताल गएर नियमित काम गर्नेछन् । आइसोलेसन निर्माण गर्ने बेला नै नगरपालिकाले स्वास्थ्यकर्मीको समूह बनाएको थियो । सबैतिर घुलमिल हुँदा अस्पतालका अरु कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयलाई संक्रमण हुने भएकाले स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमै राख्ने व्यवस्था मिलाइएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘अन्यत्र धमाधम अस्पताल सिल हुने अवस्था आएको छ,’ उनले भने, ‘हाम्रो अस्पताल सिल गर्न नपरोस् भनेर स्वास्थ्यकर्मीलाई समेत आइसुलेट गरिएको हो ।’

नगरपालिकाले १५ जना संक्रमितलाई राख्न मिल्ने गरी आइसोलेसन बनाएको छ । संक्रमितको संख्या बढेपछि निर्माणको क्रममा रहेको नगर अस्पताललाई समेत आइसोलेसनमा रुपान्तरण गरिने नगरप्रमुख केसीले बताए । उनका अनुसार नगर अस्पताललाई आइसोलेसन बनाइए ५० जनासम्म संक्रमित राख्न सकिनेछ ।





error: Content is protected !!