पाल्पामा थप एक हप्ता निषेधाज्ञा जारी

सुशीला रेग्मी

रामपुर (पाल्पा), १२ भदौ ः कोरोनाको बढ्दो जोखिम परिस्थितीलाई मध्यनजर गर्दै पाल्पामा थप एक हप्ता निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले गत भदौ ४ गते राती १२ वजे देखि आज राती १२ वजे सम्म जारी गरेको निषेधाज्ञा पुनः थप गरेको हो ।

शुक्रवार बसेको सिसिएमसिको बैठकले आगामी भदौ १९ गते राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा एम्बुलेन्स, शववाहन, खाद्य सामग्री बोक्ने सवारी साधन, औषधी बोकेका सवारी साधन लगायत कुटनितिक नियोगका सवारी साधन चल्न पाउने छन् भने निजी र सार्बजनिक साधनहरु भने संचालनमा रोक लगाइएको छ ।

एम्बुलेन्समा सहचालक बाहेक बिरामी र एकजना कुरुवा, ढुवानी साधनमा चालक र सहचालक मात्र रहने र यस्ता सवारी साधनहरु गन्तब्यमा पुगेर मात्र रोकिने ब्यवस्था गरिएको छ ।

अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।

तरकारी, फलफुल, दुध जस्ता दैनिक अत्यावश्यक वस्तुको किनबेचको लागि भने सुरक्षाका मापडण्ड अपनाई विहान ७ वजेदेखि ११ सम्म खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

कोरोनाको जोखिम बढ्दो रहेकाले स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रशासन कार्यालयले निषेधाज्ञाको पालना गर्न सबैमा आग्रह गरेको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएपछि नागरिकको जनजीवन कष्टकर बनेको छ ।





error: Content is protected !!