फोनको टावर खोज्दै टेलिकम

हेमन्त केसी
जाजरकोट – जाजरकोट कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान हुनुहुन्छ । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मैले तिरेको कर, मैले हालेको भोटको मूल्य म कहिले पाउँछु ? ”

शाहीले आफ्नो गाउँमा फोन नलाग्नु र टावर निर्माण नहुनाका कारण खोज्न एक युवालाई लिएर जाजरकोट नेपाल टेलिकमको कार्यालयमा गएको बताउनुभयो । दुनियाँ इन्टरनेट र प्रविधिको प्रयोगले संसार निहालिरहेको बेला हामी भने फोनका लागि टेलिकम कार्यालयमा धर्ना दिन जानु सानो पीडा नभएको अर्का अमृत गौतमले बताउनुभयो ।

फोनकै समस्याले कुशे गाउँपालिकाको अधिकांश काम अवरुद्ध हुँदै आएको पीडा स्थानीय सरकारसँग पनि छ । “घाम लागे अग्ला डाँडामा गएर लाग्ने फोन घाम नलागे कहाँ हराउँछ थाहा नै हुँदैन”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “गाउँपालिकाभित्रका सबै वडामा सम्पर्क गर्न कम्तीमा तीन दिनभन्दा बढी लाग्छ, कोही दुःखी, बिरामी भएमा सजिलै उद्धार गर्नसमेत समस्या छ ।”

“गाउँमा न फोन लाग्छ, न त सजिलै हिँड्न सक्ने गतिलो सडक नै छ रु प्रभावकारी सञ्चार नहुँदा कैयौँले समयमै उपचार नपाउँदा अकालमै ज्यान जाने गरेको छ”, कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “दुई हप्ताअघि मेरो वडामा विषालु च्याउ खाएका व्यक्तिसँग सम्पर्क गर्न नसक्दा पाँच जनाले ज्यान गुमाउनुप¥यो । स्याक्रीगाउँमा फोन गर्न ४ घण्टा अग्लो माथि डाँडा जानुपर्छ ।”

गाउँमा कहाँ के भइरहेको छ भन्ने सूचना पाउन कम्तीमा पनि दुई दिन पर्खनुपर्ने बाध्यता भएको अध्यक्ष नेपालीले पीडा सुनाउनुभयो । त्यस्तै बारेकोट गाउँपालिका रहेको रतनकोटस्थित स्काई प्रविधिको टावरमा पावरको अभावमा घाम लागेमात्र सामान्य टावर आउँछ । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएको सो टावरले शुरुका दिनमा राम्रो काम गरे पनि अहिले ‘कभरेज एरिया’ निकै साँघुरो भएको छ ।

गत असार २५ गते पहिरामा परी बारेकोट गाउँपालिकामा १३ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढी घर भत्किएको समयमा तीन दिनसम्म फोनको सम्पर्क नहुँदा सङ्घीय सरकार, प्रदेश सरकारका साथै सदरमुकामबाट बारेकोट सम्पर्क गर्न फलामको चिउरा चपाएझैँ भएको थियो । अहिले पनि कुन ठाउँमा कति राहत वितरण भएको छ, कसले कति राहत पायो भन्ने सूचना पाउन मुस्किल भएको छ । वडा कार्यालय, विद्यालयमा जोडिएका इन्टरनेटमार्फत सूचना लिने र दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ ।

बर्खायाममा लगातार पानी परिरहेकाले भएका टावरहरु सञ्चालन नहुँदा अहिले जाजरकोटको ४० प्रतिशत भूभागमा मात्र सामान्य सञ्चार सम्पर्क हुने गरेको छ । जिल्लामा निर्माण गर्ने भनिएका सातवटा जिएसएम प्रविधिका नमस्तेको टावर दुई वर्षदेखि निर्माण नहुँदा समस्या भएको हो । भारतीय कम्पनीले टावर निर्माणको जिम्मा लिएर बीचमै छाडेर सम्पर्कमा नआएपछि पूर्ण ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्ने तयारी भएको जाजरकोट टेलिकमले जनाएको छ । टावर निर्माण गर्छु भन्दै तीनपटक सम्म प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा रहेको स्थानीय तहका सबै प्रमुख र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको रोहवरमा कागजसमेत गरेको भारतीय कम्पनी पछिल्लो पटक सम्पर्कमा नआउँदा ठेक्का रद्दतर्फ अगाडि बढेको हो ।

छिमेकी जिल्ला डोल्पामा समेत यही भारतीय कम्पनीले टेलिफोन टावर निर्माणको जिम्मेवारी लिएको कारण अहिलेसम्म टावर निर्माण हुन नसकेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली क्षेत्रका अधिकांश ठाउँमा टेलिफोन टावरकै समस्या रहेको छ ।





error: Content is protected !!