नशाका रूपमा प्रयोग गरिने महँगो लागुऔषधसहित एक व्यापारी पक्राउ

नेपालमा प्रतिबन्धित नौलो प्रकारको महँगो आधा किलो लागुऔषधसहित मोरङमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरका व्यापारी रामप्रसाद पोखरेललाई प्रदेश १ प्रहरी र मोरङ प्रहरीको विशेष अनुसन्धान ब्युरोले पाँच सय ३० ग्राम र ९३ मिलिग्राम मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’ नामका महँगो मेडिकल ड्रग्ससहित पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सुनचाँदी व्यवसायमा संलग्न पोखरेलले मोरङको डंग्राहमा उद्योग खोलेर आल्मयुनियमका सामानहरूको कारोबार पनि गर्न थालेका थिए ।

उनलाई मंगलबार साँझ विराटनगरमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सलकपुरस्थित उनको घरमा छापा मारेर थप ड्रग्स प्रहरीले बरामद गरेको हो ।

पोखरेलले उक्त ड्रग्स विराटनगरमा बिक्रीका लागि ल्याएको बयान दिएको प्रहरीले जनाएको छ ।

तर विश्वमै महँगो मानिने ‘एममिथाम’ भनिने ‘मिथामफेटाइमाइन’ लागुऔषध प्रयोग गर्नेहरू विराटनगरमा को–को छन् रु भन्नेबारे प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

पोखरेलले दिएको सूचनाका आधारमा यसका प्रयोगकर्ताको खोजीकार्य तीव्र पारेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

‘मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’ नामले जानिने यो मेडिकल ड्रग्स सरकारी नियन्त्रणमा मात्र उत्पादन गर्ने गरिन्छ ।

ब्राजिल र अमेरिकाले यो मेडिकल ड्रग्सलाई खतरनाक लागुऔषध मानेका छन् ।

गुगल सर्च इन्जिनमा उपलब्ध सूचनाअनुसार मानसिक रोगको उपचारमा प्रयोग गरिने ‘मेथामफेटामाइन’ र ‘मिथाइलएमफेटामाइन’ यो औषधीले शरीरमा उत्तेजना बढाउने गर्दछ ।





error: Content is protected !!