कालीकोटमा बाढी पहिरोः एकै घरका छसहित नौ जना बेपत्ता

प्रेमराज सिम्खडा

कालीकोट,  कालीकोट जिल्लामा मङ्गलबार राति बाढी र पहिरोका कारण तीन वटा घटनामा परेर आठ जना बेपत्ता भएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका छन् ।

स्थानीय गङ्गे बुढाको घर पुरिँदा उहाँलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार गङ्गे बुढाका ११ जना घर परिवारमध्ये छ जना पुरिएका छन् ।

माथिबाट बाढीको भल घरमा पसेपछि घर भत्किएको हो । घरभित्र पुरिनेहरूमा घरमुली वर्ष ६५ का गङ्गे बुढा, उहाँकी श्रीमती वर्ष ६१ की नैना बुढा, बुहारी वर्ष २४ की कुसा बुढा, वर्ष १० की नातिनी चन्द्रिका बुढा, उहाँका दुई नाति वर्ष चारका राम बुढा र ढेड वर्षका चरित्र बुढा रहेका छन् ।

बुढाकी छोरी बिमला बुढा घाइते हुनुभएको छ । गङ्गे बुढाका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन । बेपत्ता सबै घरभित्र पुरिएकाले उनीहरूको उद्धार कार्यको प्रयास भइरहेको छ । ईलाका प्रहरी चौकी कुमालगाउँबाट प्रहरीको टोली त्यसतर्फ गएको छ ।

दम्पती घरभित्रै पुरिए

नरहरीनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ । बुढाको घर भत्किँदा श्रीमान श्रीमती घरभित्रै पुरिएका छन् । घर भत्किँदा ६५ वर्षीय बलेसहित उहाँकी ६३ वर्षीया श्रीमती मना बुढा पनि घरभित्र पुरिनुभएको छ ।

गएरातिको बाढीले नरहरीनाथ गाउँपालिकामा मात्र आठ जनाको ज्यान लिएको छ । घरभित्रै पुरिएकाले जीवित रहने कुनै आशा छैन तर जीवितै उद्धार गर्न सकिने आशामा उद्धारको प्रयास भइरहेको स्थानीयले बताएका छन् ।

घर भत्किँदा पुरिएर घाइते हुनुभएको गङ्गे बुढाकी छोरी बिमला बुढा र नरहरीनाथ गाउँपालिका वडा नं ३ की वर्ष ४५ की मन्का भण्डाराको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुमालागाउँमा पु(याइएको छ ।

नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले घाइते दुवै महिलाको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरको खोजी भइरहेको बताउनुभयो । अध्यक्ष विष्टले सुर्खेतमा कुरा भएर हेलिकोप्टर आउने र तत्काल घाइतेलाई काठमाडौँ लगिने बताउनुभयो ।

यसअघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरीनाथ गाउँपालिका वडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता हुनुभएको थियो । उहाँको पनि खोजी जारी रहेको छ । गाउँपालिका अध्यक्ष विष्टले खुलालुको पहिरोमा पुरिएका भण्डाराको खोजीमा निक्कै ठूलो पहिरो खसेका कारण गाह्रो भएको बताउनुभयो ।

यस्तै, बाढीले बगाउँदा तिलागुफा नगरपालिका जाँदैगरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता हुनुभएको छ । ५८ वर्षीया शाही तिलागुफा नगरपालिका जाने क्रममा कर्णाली राजमार्गअन्तर्गत टाकुल्ला खोलामा बगेर बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

टाकुल्ला खोलानजिकै तिलानदी रहेकाले शाही तिलानदीमा पुगेर बेपत्ता भएको स्थानीयले बताएका छन् । यस अघि सोमबार रातिको वर्षले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँचसहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए ।

टाकुल्ला खोलामा सयममै पुल नबन्दा बर्सेनि नागरिकले ज्यान गुमाउने गरेका छन् भने यातायातका साधन आउजाउमा पनि कठिनाइ हुँदैआएको छ । जिल्ला प्रहरी कार्यालय, कालीकोटका सूूचना अधिकृत प्रहरी निरीक्षक यक्षराज जोशीले बेपत्ताको खोजी जारी रहेको बताउनुभयो ।

लगातार पानी परिरहेको र नदीमा पानीको मात्रा झन् बढिरहेकाले लास भेटिने सम्भावना हराउँदैगएको उहाँको भनाइ छ । यस्तै, नरहरीनाथ गाउँपालिका वडा नं ९ को सितला बस्ती पहिरोको उच्च जोखिममा रहेकाले त्यहाँका नागरिकलाई विद्यालयमा सारिएको छ । पहिरो बग्न सुरु भएकाले सबैलाई विद्यालयमा सारिएको गाउँपालिकाले जनाएको छ ।





error: Content is protected !!