रुकुम पश्चिमका अधिकांश स्थान बाढी–पहिरोको जोखिममा

रुकुम पश्चिम ः जिल्लाका अधिकांश वडा बाढी र पहिरोको जोखिममा परेका छन् । ७३ मध्ये ५४ वडा बाढी–पहिरोको उच्च जोखिममा परेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार १९ वडा सामान्य अवस्थामा छन् । सानीभेरीमा ११, त्रिवेणीमा १०, आठबीसकोटका १२, चौरजहारीमा ८, मुसीकोटका ८ र बाँफिकोटमा ५ वडा जोखिममा रहेको समितिको निष्कर्ष छ ।

मुसीकोट नगरपालिकाका चौखाबाङ, स्यालापाखा, बोहरागाउँ, चौरजहारीको खहरेपिपल, कालीखोला, लहरेसिमल, लिउरेबारी तथा आठबीसकोटको खारखारा, झिन्चौर, गैरीचौक, घोरला, धारापानीलगायत गाउँ पहिरोको जोखिममा रहेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

उनका अनुसार बाँफिकोटको दुली, झुला, छिन्खेत, पूमाखोला, सानीभेरीको पूर्तिमकाँडा, बैरेनीतरा, तुष्रेबगर तथा त्रिवेणी गाउँपालिकाका बल्लेजुरा, खाल्टिखोला, बादरपानी र सिम्रुतु बजारलाई जोखिमको सूचीमा राखिएको छ ।

यी क्षेत्रमा कुनै पनि बेला विपद्का घटना हुन सक्ने भन्दै सबैतिर पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । ‘आवश्यक स्रोत–साधनको विवरण संकलन गर्ने र सम्भावित क्षेत्रमा पठाउने काम थालिएको छ,’ उनले भने, ‘स्थानीय तहको सहकार्यमा विपद्को सामना गरिरहेका छौं ।’ गत असार २६ गते आठबीसकोट नगरपालिका–३, खदीमा गएको पहिरोले आमा–छोराको ज्यान गएको थियो  कान्तिपुरमा खवर छ ।।





error: Content is protected !!