को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा ? साढे तीन महिनाअघि नै मुख्यसचिव बन्न ६ सचिवको लबिङ

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको हो । मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी छन् ।

राजनीतिक नेतृत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पदमा पुग्न ठूलै राजनीतिक लबिङ आवश्यक पर्छ । मुख्यसचिव रेग्मीले अन्तिम समयसम्म काम गर्दा र १५ दिनअघि मात्रै राजीनामा दिँदा पनि फेरबदलमा ठूलो परिवर्तन आउने देखिएको छ । अवकाशको एक महिनाअघि नै बिदामा बस्ने परम्परा भने पछिल्ला केही वर्षदेखि तोडिएकाले मुख्यसचिव रेग्मी पनि एक महिनाअघि बिदामा बस्ने सम्भावना छैन ।

यसकारण शक्तिशाली छ मुख्यसचिव पद
– सरकारको प्रमुख प्रशासकीय अधिकारी
– प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार
– सबै सचिवलाई कमान्डिङ गर्ने ‘हेडमास्टर’
– मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण र कार्यान्वयन गराउने व्यक्ति
– मन्त्रालयको अंग नपुगेको प्रस्ताव फिर्ता गर्ने अधिकार
– सबै मन्त्रालयको सुपरिवेक्षण गर्न सक्ने अधिकारी

कार्यसम्पादन र जेष्ठताका आधारमा भावी मुख्य सचिवमा ६ जना सचिव प्रतिस्पर्धामा देखिएका छन् । उनीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शक्तिकेन्द्रलाई प्रभावमा पार्न लबिङ तीव्र पारेका छन् । निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ (क)अनुसार मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार सरकारले बहालावाला सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताका आधारमा एक जनालाई बढुवा गर्ने भएकाले यी ६ मध्ये एक जना मुख्य सचिव बन्नेछन् ।

हाल विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना सचिव कार्यरत छन् । प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा रहने मुख्यसचिव कसलाई बनाउने भन्ने विषयको निक्र्योल प्रधानमन्त्रीकै रुचिमा भर पर्छ त्यसैले यतिखेर मुख्य सचिवको दौडमा रहेका सचिवहरूले प्रधानमन्त्री निकटका नेता तथा सल्लाहकारमार्फत तीव्र लबिङ गरिरहेको स्रोतको दाबी छ ।

सेवानिवृत्त हुनुभन्दा १५ दिनअघि मात्रै मुख्य सचिव रेग्मीलाई कतै ‘सेटल’ गरिए त्यतिबेला मुख्यसचिवको प्रतिस्पर्धामा तीन जना सचिव मात्रै रहनेछन् । प्रतिस्पर्धामा रहने वैरागी, सापकोटा र अधिकारी सचिवको पाँच वर्षे सेवा अवधि समाप्त भई आगामी २२ असोजमा सेवानिवृत्त हुने भएकाले त्यसअघि नै मुख्य सचिव रेग्मीलाई अन्यत्र ‘सेटल’ गराउन उनीहरूले शक्तिकेन्द्रसमक्ष अनुनयविनय गरिरहेको स्रोतको दाबी छ ।

मुख्य सचिव रेग्मीले अन्यत्र नियुक्ति पाएर २२ असोजअघि नै राजीनामा दिएको अवस्थामा मात्रै वैरागी, सापकोटा र अधिकारीमध्ये एकको मुख्य सचिव हुने बाटो खुल्नेछ । तर, रेग्मीले तीन कात्तिकसम्मै काम गरे उनीहरू तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । त्यस्तो अवस्थामा तीनै जना आगामी २२ असोजमा नै सेवानिवृत्त हुनेछन् । उनीहरू २२ असोज २०७२ मा एकै दिन सचिवमा बढुवा भएका थिए ।

स्रोतका अनुसार मुख्यसचिवको पहिलो शृंखलाअन्तर्गतको दौडमा रहेका सचिवहरू वैरागी, अधिकारी र सापकोटा मुख्य सचिव रेग्मीलाई २२ असोजअगावै अन्यत्र नियुक्ति दिलाएर मुख्य सचिव पद रिक्त गराउने वातावरण सिर्जना गराउन दौडधुप गरिरहेका छन् ।

मुख्यसचिव नियुक्तिको कानुनी आधार 
निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २९क० अनुसार मुख्यसचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्ये सरकारले ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान

वैरागीले प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यक्तिहरूसँग कुराकानी गरी आफ्नो पक्षमा माहोल सिर्जना गर्न आग्रह गरिरहेका छन् भने अधिकारी र सापकोटा पनि सोहीअनुसार दौडधुपमा छन् । वैरागी र अधिकारीमध्ये एकले मुख्यसचिव बन्ने अवसर पाए तीन वर्षको पूरै अवधि काम गर्न पाउनेछन् । तर, सापकोटा भने आगामी फागुनमा ५८ वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुने भएकाले उनको मुख्य सचिव बन्ने सम्भावना न्यून छ ।

मुख्यसचिव रेग्मीले ३ कात्तिकसम्ममा नै काम गरेको खण्डमा मुख्य सचिवको प्रमुख दाबेदारका रूपमा उद्योग सचिव घिमिरे, वन सचिव ओली र सहरी विकास मन्त्रालयका सचिव अधिकारी मात्रै हुनेछन् । उनीहरू तीनै जना अहिले ‘पर्ख र हेर’ को रणनीतिमा छन् । ३ कात्तिकपछि रोलक्रमअनुसार मुख्यसचिव आफ्नो पोल्टामा आउने विश्वासमा उनीहरू छन् । सोहीअनुसार नै उनीहरूले आफ्नो रणनीति अघि बढाउने तयारी गरेका छन् । उनीहरू पहिलो शृंखलाअन्तर्गतको खेल सफल नहुनेमा विश्वस्त छन् ।

घिमिरे ८ माघ २०७२, ओली ७ वैशाख २०७३ र अधिकारी २४ वैशाख २०७३ मा सचिवमा बढुवा भएका थिए । नियमित प्रक्रियाअन्तर्गत नयाँ मुख्यसचिव नियुक्त भए यी तीनमध्ये एक जना मुख्य सचिव र दुई जना वरिष्ठ सचिव रहनेछन् ।
यी तीनमा पनि घिमिरे र ओलीमध्ये एकको मुख्य सचिव हुने सम्भावना बढी छ । राजनीतिक रूपमा घिमिरेभन्दा ओली सरकारसँग नजिक छन् भने ओली व्यावसायिक दक्षताका हिसाबले पनि पोख्त छन् । ‘त्यसैले त्यस्तो अवस्थामा ओली मुख्य सचिव बन्ने सम्भावना बढी छ,’ स्रोतले भन्यो । घिमिरेलाई अन्यत्र ‘सेटल’ गराएर ओलीलाई निर्विकल्प मुख्य सचिव बनाउन सक्ने अवस्थासमेत रहने स्रोतको भनाइ छ ।

ओली र घिमिरे दुवै स्वच्छ छविका प्रशासकका रूपमा परिचित छन् । उनीहरू दुवै जना मुुख्य सचिव बन्न सकेनन् भने घिमिरे आगामी ८ माघमा र ओली ७ वैशाख २०७८ मा पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन् । प्रतिस्पर्धामा रहेका अर्का सचिव अधिकारी पनि पाँच वर्षे सेवा अवधि सकेर २४ वैशाख २०७८ मा सेवानिवृत्त हुनेछन् ।

सरकारले मुख्यसचिव बनाउँदा सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ अनुसारको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्ने व्यक्तिलाई बनाउनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन् । सुशासन ऐनले मु्ख्य सचिवलाई सकारको प्रमुख प्रशासकीय अधिकारीका रूपमा स्थापित गर्दै सोहीअनुसारको जिम्मेवारी निर्धारण गरेको छ । जसअनुसार मुख्य सचिवले प्रधानमन्त्रीको सुपरिवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय प्रमुखका रूपमा सो कार्यालयको कार्यसम्पादन सशक्त रूपमा गराउनुपर्छ भने सचिवहरूलाई आवश्यकताअनुसार जिम्मेवार बनाउँदै निर्देशनसमेत दिनुपर्छ ।

यसैगरी, विभिन्न मन्त्रालय तथा अन्य सम्बन्ध निकायहरूको प्रशासनिक काम कारबाहीलाई समन्वय गर्ने गराउने तथा शासकीय सुधारलाई मुलुकी प्रशासनको अभिन्न अंगका रूपमा कार्यान्वयन गर्न गराउन विभिन्न मन्त्रालय र अन्य केन्द्रीय निकायबीच समन्वय गर्ने काम मुख्यसचिवकै जिम्मेवारीमा पर्छ । मुख्यसचिवमा मन्त्रिपरिषद्को निर्णय प्रमाणित गराउने, निर्णय कार्यान्वयन गराउने तथा कार्यान्वयन भए नभएको सुपरिवेक्षणसमेत गर्ने जिम्मेवारी छ ।

मुलुकको प्रशासनतन्त्रलाई चुस्त र फुर्तिलो बनाउन सरकारका सचिव तथा अन्य कर्मचारीलाई उत्प्रेरित गर्ने प्रमुख दायित्व पनि मुख्य सचिवकै हो । विभिन्न मन्त्रालय तथा केन्द्रीय तहका कार्यालयहरूको प्रशासनिक काम कारबाहीको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने गराउने दायित्व पनि मुख्य सचिवकै हो ।

निजामती क्षेत्रमा प्रवेश गर्ने हरेक अधिकृतको मुख्य चाहना र गन्तव्य मुख्य सचिवसम्म पुग्नु नै रहन्छ । तर, परिस्थिति, समय र राजनीतिक नेतृत्वले साथ नदिँदा मुख्य सचिव हुने धेरैको चाहना पूरा हुँदैन । त्यसैले निजामती क्षेत्रमा यो पदलाई केहीले ‘भाग्यको खेल’ ठान्छन् भने केहीले राजनीतिक नेतृत्वको ‘आशीर्वादको फल’का रूपमा समेत लिने गरेका छन् ।

यसअघि तत्कालीन मुख्य सचिव डा। सोमलाल सुवेदीले आफ्नो कार्यकाल सकिनु एक वर्षअघि नै राजीनामा दिएपछि मुख्य सचिवको रोलक्रमको एक नम्बरमा रहेका मधु रेग्मी बाहिरिनुपरेको थियो भने त्यसबीचमा राजनीतिक लबिङकै आधारमा तत्कालीन सरकारले मुख्यसचिव हुने लाइनमा नै नरहेका राजेन्द्रकिशोर क्षत्रीलाई तीन महिना मुख्यसचिव बनाएर हालका रेग्मीलाई मुख्य सचिव बनाएको थियो । त्यसअघिका लीलामणि पौडेल, माधव घिमिरेलाई पनि सरकारले ज्येष्ठताभन्दा पनि कार्यसम्पादनलाई आधार बनाएर मुख्य सचिव बनाएको थियो । उनीहरू दुवैलाई मुख्य सचिव बनाउँदा सरकारले ज्येष्ठता मिचेको भन्दै केही सचिवले राजीनामा दिएका थिए ।





error: Content is protected !!