राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु ः प्रम ओली

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७७ माथि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालयलगायत सम्बन्धित विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उहाँले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताउनुभयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः रत्न श्रेष्ठ÷रासस

सरकारले नेपालको नयाँ नक्शानुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए । प्रधानमन्त्री ओलीले भन्नुभयो, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।”
उहाँले संसद्भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभयो । यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उहाँले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनुनपर्ने बताउनुभयो ।





error: Content is protected !!