कोरोना भाइरस ः भविष्यमा हुने यात्रा कस्ता होलान् ?

एजेन्सी ः समशुद्धिन ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन् । उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए । उनले घुमाएका मध्ये एकजना बेलायती राजकुमारी डायना पनि थिइन् ।
अहिले विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण उनको काम पहिले जस्तो रहेको छैन । विश्व स्वास्थ्य संगठनले अझ केही समय कोरोना भाइरससँगै बाँच्नुपर्ने बताएको छ । यस्तोमा पर्यटन व्यवसाय पूर्णरूपमा परिवर्तन हुने समशुद्धिनको विश्वास छ ।
लकडाउन खुकुलो भएपछि पनि महिनौं वा वर्षौंसम्म पर्यटन व्यवसाय प्रभावित हुन सक्ने उनी बताउँछन् । अब पर्यटकको व्यवहार पनि पहिलेजस्तो हुने छैन । मानिसहरू समूहमा नभई एक्लै वा जोडी मात्रै घुम्नेछन् । उनी भन्छन्,‘भविष्यमा ताजमहल अगाडि मास्क लगाएर सेल्फी खिच्दै गरेका मानिसहरू प्रशस्तै देखिनेछन् ।’
अब ऐतिहासिक पर्यटकीय स्थलमा मास्क लगाएर मात्रै जान पाउने नियम लागू हुने सम्भावना छ । सबै ठाउँमा सामाजिक दूरी पालना गर्नु अनिवार्य हुन सक्छ । त्यसो गर्दा पर्यटकीयस्थलमा घुम्ने पर्यटकको संख्या सीमित हुन सक्नेछ ।
हवाई यात्रा
‘इन्टरनेशनल एअर टान्सपोर्ट एशोसिएसन’ ९आईटीए० ले ‘बायोसिक्युरिटी फर एयर ट्रान्सपोर्ट ‘ए रोडम्याप फर स्टार्टिङ एभिएसन’ जारी गरेको छ ।
यसमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिइएको हवाई यात्रासँग जोडिएका विभिन्न पक्ष विश्लेषण गर्दै आएका अश्विनी फड्निस बताउँछन् ।
भारतको नागरिक उड्डयनसँग सम्बन्धित मन्त्रालयले पनि यस्तै एउटा प्रोटोकल बनाउँदै छ । विदेशका विमानस्थलमा यात्रुहरूको ‘स्क्रिनिङ’ का लागि छुट्टै कम्प्युटरहरू जडान गरिएको छ । अब एअरपोर्टका अधिकारीहरूले यात्रुहरूको नजिक पुगेर उनीहरूको शरीर जाँच गर्नुपर्ने छैन । यात्रुहरूले अब आफैं ‘चेक–इन’ गर्नुपर्नेछ । अश्विनी फड्निस भन्छन्, ‘केही उडानहरूमा यात्रुले एअरहोस्टेसको हँसिलो अनुहार देख्ने छैनन् । किनकी केही एअरलाइन्स कम्पनीहरू आफ्नो चालक दलका सदस्यहरूका लागि पीपीई अनिवार्य गर्ने सोच बनाउँदै छन् ।’
तर, अहिले नै भने जहाजका बीचका सीटहरू खाली भइरहेका छन् । भारतमा अदालतले समेत आदेश गरिसकेको यो नियम धेरै अन्तर्राष्ट्रिय उडानहरूमा पछ्याइएको छ । जसमा एमिरेट्स र एअर कतार समावेश छन् ।
उडान प्रोटोकल निरन्तर परिवर्तन हुँदैछ । आउने हप्ताहरू र महीनाहरूमा नयाँ प्रोटोकल देख्न पाइने छ । अन्तर्राष्ट्रिय उडानहरूले भन्दा ठूलो चुनौती आन्तरिक उडानहरूले सामना गर्नुपर्नेछ, किनभने विभिन्न राज्यहरूका आफ्नै प्रोटोकल हुनेछन् ।
१४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लकडाउन सकिएको महीनौं पछिसम्म पनि जारी हुन सक्छ । आईएटीएको निर्देशनअनुसार आउँदा कैयौं महीनाहरूमा विमानभित्र सबै यात्रुहरूले आफ्नो अनुहार छोप्नुपर्ने हुन सक्छ । यात्रु र चालक दलका सदस्यहरूबीच सम्पर्क कम गर्न क्याटरिङ सेवामा पनि कटौती हुन सक्छ ।
रेल यात्रा
आउँदा दिनमा रेलमा यात्रा गर्न धेरै गाह्रो हुन सक्छ । पर्याप्त शारीरिक दूरी कायम गर्न रेलको डिब्बा र प्लेटफर्ममा सीमित संख्याका यात्रुहरूलाई मात्र अनुमति दिइनेछ ।
डिब्बाको भित्री संरचनामा लाइन लाग्न नपर्ने गरी शौचालय खाली राखिनेछ । खाना पकाउने सेवा जारी रहने वा नरहने भन्ने विषय अहिले नै टुंगिएको छैन । अवस्था कस्तो आउन सक्छ भने हामी आढ्नेर ओछ्याउने कपडा र खाना घरबाटै लिएर हिँड्ने पुरानो समयमा पुग्न सक्छौँ ।
फडनीस भन्छन्, ‘रेलवे स्टेशन अब विमानस्थल जस्ता हुनेछन् । त्यहाँ पनि प्रोटोकल पछ्याउनुपर्नेछ । रेल गुड्नुभन्दा चार घण्टा अघि स्टेशन पुग्नुपर्ने हुन सक्छ । विमानस्थलका जस्तै ‘स्क्रिनिङ’ का प्रक्रियाहरू पार गर्नुपर्ने हुन सक्छ ।’
राजमार्ग
देशको हरेक कुनासम्म सामान र यात्रु पु(याउन राष्ट्रिय राजमार्गहरूको महत्वपूर्ण भूमिका छ । खासगरी भारतका राजमार्ग छेउछाउमा बनाइएका ढावामा धेरै मानिसको ‘क्रेज’ थियो । ठूला शहरमा बस्ने मानिसहरू पनि यी ढावाप्रति आकर्षित थिए । आउने दिनहरू धेरै अर्थमा भिन्न हुनेछन् ।
सामाजिक दूरी कायम गर्नुपर्ने कारणले धेरै प्रकारका प्रतिबन्धलाई निरन्तरता दिनुपर्नेछ । भारतको सडक यातायात संघका अध्यक्ष राजीव अरोडा भन्छन् ‘तपाईंले एक कप चिया अर्डर गर्नुभयो भने वेटरले ल्याइदिनुको सट्टा तपाईंलाई काठको लामो लठ्ठीले चिया दिन सक्छन् । राजमार्गको जिन्दगी पहिलेको जस्तो हुने छैन । ढावा मालिकहरूले ट्रक चालक, कर्मचारी र आम सर्वसाधारणका लागि छुट्टै व्यवस्था गर्नुपर्नेछ ।’
महानगरको जिन्दगी
अनुज दयाल दिल्ली मेट्रो रेल कर्पोरेशनका प्रवक्ता हुन् । उनीहरूले मेट्रो सेवा फेरी कसरी सञ्चालन गर्ने भन्ने योजनामा काम गरिरहेका छन् । बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भने, ‘यात्रुलाई एउटा सिट छाडेर बस्न भनिनेछ, केहीले उभिएरै यात्रा गर्नेछन् ।’
अब विमानस्थलमा जस्तै प्रोटोकल मेट्रोमा प्रवेश गर्दा पनि पालना गर्नुपर्नेछ । शारीरिक दूरी कायम गर्नु अनिवार्य हुनेछ । थर्मल स्क्रिनिङ अनिवार्य हुनेछ । यी परिवर्तनहरूका कारण मेट्रो संख्या बढाउनुपर्ने छ ।
यात्रा बीमा
बीमा व्यवसाय समूह दुबईका महासचिव अफताब हसनका अुनसार आगामी समयमा यात्रा बीमा यात्राको एक हिस्सा हुनेछ । उनी भन्छन्, ‘कोरोना महामारीपछिको संसारमा धेरै परिवर्तन हुनेछ । काम वा छुट्टी जे मा जाँदा पनि बीमा यात्राको महत्वपूर्ण हिस्सा हुन गइरहेको छ ।’ सामान्यतया यात्रा बीमाले महामारीलाई समेट्दैन । त्यसका लागि थप शुल्क तिर्नुपर्नेछ । हसन भन्छन्, ‘तर महामारीलाई समेत यात्रा बीमामा समेट्ने दिन टाढा छैन ।’
पर्यटक गाइड समशुद्धिनका अनुसार यस्तो भविष्यबारे कसैले कल्पना नै गरेका थिएनन् । उनी भन्छन् ‘समयमा भ्याक्सिन बनेन भने यात्रीहरूको लागि धेरै कुरा बदलिनेछन । भ्याक्सिन बन्यो भने छिटै नै हाम्रो जिन्दगी पहिलेजस्तो हुन पनि सक्नेछ ।’
बीबीसी हिन्दीबाट










