आयोगद्धारा सोती घटनाको अनुसन्धान सुरु

जाजरकोट , पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जका उप निर्देशक चन्द्रकान्त चापागाईको नेतृत्व आएको टोलीले घटनाको सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकारवालालाई भेटघाट गरेको छ । टोलीले घटनामा परि ज्यान गुमाएका नवराजका आमाबुवा, सन्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।
पीडित परिवारले आयोग समक्ष घटनाको निश्पक्ष अनुसन्धान र छानवीन हुनु पर्ने , घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग राखेका छन् । दलित भएकै कारण मेरा छोराको हत्या गरिएको हो नबराजका बुवा मुनलाल विकले भन्नुभयो “हत्यारालाई कारवाही भएको देख्न पाउँ । घटनाको सत्यतथ्य छानवीन होस । अपराधी उम्किन नपाउन ।”
आफू विरामी भएको तर बयानका लागि रुकुम जानु पर्ने बाध्यता भएकोले मिल्ने भए जाजरकोटमै बयान गर्ने ब्यवस्था मिलाई दिन मुनलालले आग्रह गनुभयो । उहाँले रुकुमको मुसिकोट जाँदा बाटोमा असुरक्षा हुन सक्ने भन्दै सुरक्षाको पनि माग गनुभयो ।
त्यस्तै सञ्जीव विकका बुवा बलबहादुरले केटाहरुलाई नियन्त्रणमा लिएर वर्वर तरीकाले हत्या गरि नदीमा फालेको बताउँदै घटनामा संलग्नलाई हदै सम्मको सजाय गर्न माग गनुभयो ।
स्थलगत अध्ययन टोलीका संयोजक चापागाईले पीडित परिवारलाई घटनाको सत्यतथ्य छानबिन र अनुसन्धानका लागि आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिनुभयो । संयोजक चापागाईले न्याय पाउनेमा पीडित परिवारलाई आवश्वास्त पादै भन्नुभयोे “हामीले घटनापछि हरेक घटनाक्रमलाई सुक्ष्म ढंगले नियाली रहेका छौ । यस अघि नै घटनाको सत्यतथ्य छानवीनका लागी सरकारलाई निर्देशन समेत दिईसकेका छौ । स्थलगत अध्ययन पछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पाछौ । सरकारलाई दिन्छौ । हाम्रो खवरदारी निरन्तर जारी रहन्छ ।” यस अघि पनि आयोगले रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरि प्रारम्भिक प्रतिवेदन बुझाईसकेको छ । घटना जातिय विभेद र प्रेम सम्बन्धले निम्तिएको आयोगको निश्कर्ष छ । गंभिर मानवअधिकार उलंघनको वर्वर घटना भएको आयोगको ठहर छ । मंगलवार विहानै उक्त टोली रुकुम प्रस्थान गरेको प्रवाहमा उल्लेख छ । ।










