वन्यजन्तु चोरी निकासी बढ्दो

हेमन्त केसी
जाजरकोट (रासस)ः बन्दाबन्दीको मौका छोपी कर्णाली प्रदेशका सामुदायिक वन समूह तथा निकुञ्जमा चोरी निकासी बढेको छ । एक साताभित्र कर्णालीका विभिन्न जिल्लामा जन्यजन्तु चोरी निकासी भएको पाइएको हो । लकडाउनका कारण यार्सागुम्बा सङ्कलनमा रोक लगाएसँगै त्यहाँ सुरक्षाकर्मीको आँखा छल्दै चोरी निकासी बढेको हो । डोल्पामा मात्र यो सातामा ठूला दुई घटना सार्वजनिक भएका छन् । शनिबारमात्र डोल्पाको शे–फोक्सुन्डो निकुञ्जको गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामत भएको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने अवैध चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु गरेपछि २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बेवारिसेरूपमा फालिएको अवस्थामा बरामद गरिएको हो । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने रुम, रसी र ठूलीभेरी नगरपालिकामा पर्ने परिला र रहबाट २० थान भरुवा बन्दुक, एक थान नालसहित तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । धमाधम हतियार फेला पर्नुले निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बस्ने बासिन्दा नै चोरी शिकारीमा लाग्ने गरेको देखिएको शे–फोक्सुन्डो निकुञ्जले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिनुभयो । त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाका पाटनहरु हप्ता दिनअघि यार्सागुम्बा चोरी गरिरहेका केही नागरिक फेला परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र डिभिजन वनका कर्मचारीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

त्यस्तै सुर्खेतमा चैतको पहिलो साता वीरेन्द्रनगर नगरपालिका–९ पातलगङ्गामा एउटा जरायो कुहिएको अवस्थामा भेटियो । चैतको अन्तिम साता वीरेन्द्रनगरकै वडा नं १० घुस्रा नजिकै खेतबारीमा अर्को जरायो मृत भेटियो । वैशाख १ गते बिहीबार बिहान काँक्रेविहार गेट नजिकै अलपत्र अवस्थामा एक जरायोको बच्चा भेटियो । लगत्तै सुर्खेतस्थित मोटे ग्याङ नेपालका युवा समूहको अगुवाइमा सुरक्षाकर्मी, वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको पहलमा उक्त जरायोलाई पुनः काँक्रेविहार जङ्गलमा नै छोडियो ।

स्थानीय बासिन्दाका अनुसार यदि तत्काल उद्धार नगरिएको भए जरायोलाई स्थानीयवासीले नै शिकार गर्ने सम्भावना थियो । काँक्रेविहारमा जथाभावी चोरी शिकारको यो पछिल्लो उदाहरण हो । नेपालको दोस्रो लुम्बिनीका रुपमा परिचित काँक्रेविहार संरक्षित वन क्षेत्रमा पछिल्लो तीन महिनायता चारवटा जरायो गोली लागेर मृतावस्थामा भेटिएका छन् भने बँदेललगायत अन्य जीवजन्तु गरी करिब १५ वटाको सङ्ख्यामा मृत भेटिएका छन् । तारबार नभएका कारण पनि चरन चर्न, पानी खान जरायो, मृग, बँदेल, घोरल र अन्य जङ्गली जनावर सिधै गाउँमा आउने गर्छन् । त्यस कारण पनि वन क्षेत्रमा चोरी शिकार बढ्दै गएको छ ।

बढ्दो चोरी शिकारीकै कारणले काँक्रेविहारको वरिपरि पर्खालका लागि टेण्डर प्रक्रिया अगाडि बढेको र लकडाउनपछि काम हुने विश्वास लिइएको छ । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालू आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत रु २१ करोडको लागतमा काँक्रेविहार वरिपरि तारबार गर्ने गरी टेण्डर भएको छ ।

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिकामा चोरी निकासीका घटना दैनिक बढिरहेको पाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले स्टाटस लेख्दै दैनिक वन्यजन्तु चोरी निकासी बढेको बताएका छन् । कुशे गाउँपालिकाको कुशे हिमालमा समेत चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । लकडाउनले गर्दा कर्मचारी गाउँमा जान नसक्दा चोरी निकासी बढेको स्थानीय सरकारको दाबी छ । यी घटना त सार्वजनिक भएर सबैले थाहा पाउने गरी देखा परे ।

कर्णालीका अधिकांश हिमाली जिल्लामा चोरी, निकासी अत्यधिक रुपमा भइरहेको स्थानीयवासी बताउँछन् । राज्य संयन्त्रको ध्यान कोरोना भाइरसतिर लागिरहँदा तस्कारको ध्यान पाटनमा बढेको देखिन्छ । मानवीय उपस्थिति कम भएका कारण चोरी निकासी गर्ने गिरोहको सक्रियता झन बढेको हो । उता वन तथा वातावरण मन्त्रालयले चोरी निकासी बढेकाले सबैले सक्रियताका साथ जिम्मेवारी निभाउन आग्रह गरेको दुई हप्ता बित्न लागेको छ । मन्त्रालयले सबै तहका सरकार, डिभिजन वन कार्यालयलाई चोरी निकासी रोक्न फिल्डमा खटिन आग्रह गरिएको थियो ।





error: Content is protected !!