ओखर जोन ः गाउँगाउँमा ओखर खेती

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका–८ का ६५ वर्षीय लालवीर चदाराले दशकअघि खेती लगाउन छोडेको बाँझो जग्गामा एक वर्षयता ओखरखेती गरेका छन् । ओखरका बिरुवा मौलाएपछि उनको बारी हराभरा बनेको छ भने जीविकोपार्जन सहज हुने आशा पलाएको छ । १० नम्बर वडाका शिवबहादुर शाहीको काल्नामा पनि एक सय बोट ओखर हुर्किरहेका छन् ।
उनीहरूका बारी र काल्ना मात्र होइन, आठबीसकोटका १, २, ३, ५, ६, ८, १० र १२ नम्बर वडा ओखरमय छन् । अन्य ६ वडामा पनि परीक्षणका लागि ओखरखेती गरिएको छ । नगरपालिकाले टर्कीबाट ल्याएका ‘च्याडलर’ र ‘फर्नर’ जातका ओखरका बिरुवा किसानलाई वितरण गरेपछि व्यावसायिक कृषिको लहर चलेको छ । रोपेको दुई महिनामै ओखरका बोट मौलाएपछि किसान हौसिएका छन् । ‘लगाएको दुई महिना नपुग्दै फल्न थाल्यो,’ चदाराले भने, ‘यत्तिकै खेर गइरहेको जग्गामा लगाएको ओखरले आम्दानी दिनेमा ढुक्क छौं ।’ उनले पाँच सय बोट ओखर लगाएका छन् । आफ्नो धेरैजसो समय बारीमै बित्न थालेको उनको भनाइ छ ।
नगरपालिकाले प्रतिगोटा तीन सय ७० रुपैयाँमा बिरुवा खरिद गरी किसानलाई ५० रुपैयाँमा वितरण गरेको थियो । टर्कीबाट ४४ हजार बिरुवा ल्याएर किसानलाई वितरण गरिएको १० नम्वर वडाध्यक्ष गंगाराम चनाराले बताए । उनका अनुसार टर्कीमै दुई वर्ष गुजारेका बिरुवा लगाउनबित्तिकै पलाउन र फल्न थालेका छन् । ‘दुई वर्षभित्र नगरका सबै खाली जग्गाहरू ओखरमय बनाउने हाम्रो योजना हो,’ उनले भने, ‘किसानले प्रतिरोपनी १३ बिरुवाका दरले ओखर लगाएका छन् ।’ १० नम्बर वडामा एक वर्षमा १२ हजार बोट ओखर लगाइएको उनले जानकारी दिए ।
आठबीसकोटलाई ओखर जोनका रूपमा विकास गर्न र किसानलाई व्यावसायिक बनाउन बिरुवा अनुदानमा वितरण गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । ‘यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइनेछ,’ उनले भने, ‘कृषिमार्फत सबै वडामा समृद्धि भित्र्याउने हाम्रो योजना छ ।’ नगरपालिकाले यसअघि १४ वटै वडामा करिब ५० हजार किबीका विरुवा वितरण गरेको थियो । सबै वडामा लगाइएका किबीका बिरुवा अहिले हुर्किरहेका छन् । बजारमा किबी र ओखरको माग उच्च रहेकोले किसान आकर्षित भएको उनको भनाइ छ कान्तिपुरमा छ ।










