रामपुरका कृषकलाई अनुदानमा धानको बीउ वितरण

सुशीला रेग्मी

पाल्पा ः पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा धानको वीउ वितरण गरेको छ । वडा कार्यालय तथा कृषि शाखा कार्यालयबाट धानको वीउ वितरण कार्य भइरहेको छ । वडा तथा कृषि शाखा कार्यालयमा उत्साहित हुदै अहिले धानको वीउ लिन आउने कृषकको चहलपहल छ ।

आईतवार वडा नं १, २, ३, ५ र ७ मा र सोमवार वडा नं ४ र ६ मा धानको वीउ वितरण गरिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभएको छ । कृषकको मागको आधारमा सावित्री जातको करिव २७ टन धानको वीउ वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख पाण्डेयले बताउनुभयो । वडा कार्यालयले कृषक तथा समुहबाट निवेदन सङ्कलन गरी कृषकले माग गरेअनुसार नै धानको वीउ वितरण भएको छ ।

कृषकले सावित्री, रामधान र सावामन्सुली जातका धान माग गरेका छन् । सावित्री धान वितरण गरेर सकिएलगत्तै करिव आठ क्वीण्टल सावा मन्सुली र रामधान जातको धान वितरण गरिने कृषि प्राबिधिक प्रज्ज्वल केसीले बताउनुभयो । रामपुर नगरपालिका वडा नं ५ ले कृषि शाखा कार्यालयबाट ४५ कृषक र समुहलाई तीन हजार पाँच सय किलो धानको वीउ वितरण गरेको वडा सदस्य सावित्रा गौतमले बताउनुभएको छ । गतवर्ष नगरपालिकाले आठ क्वीण्टल धानको वीउ वितरण गरेको थियो । कोरनाको कहरका कारणले पनि यसवर्ष धेरै माग आएको छ । नगरपालिकामा धानको उत्पादन बृद्धि गर्न सावित्री जातको धान ५० प्रतिशत अनुदानमा प्रतिकिलो रु ३३ मा वितरण गरिएको छ ।





error: Content is protected !!