प्रकृतिमा तस्करको आँखा

काठमाडौँ ः चैत ११ मा लकडाउन सुरु हुँदा प्रकृतिमा रहेका वन्यजन्तु र चराचुरुंगीले वर्षौंपछि जुन स्वतन्त्रता अनुभव गरेका थिए, लकडाउन लम्बिँदै जाँदा परिस्थिति बदलिएको छ । संरक्षित क्षेत्र (निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र) र राष्ट्रिय वनमा मान्छेको कोलाहल घटे पनि लुकीछिपी गरिने तस्करी मौलाएपछि नियन्त्रणमा समस्या भएको छ । त्यसको पछिल्लो उदाहरण हो, सगरमाथा निकुञ्जभित्र एकै स्थानमा ६ वटा कस्तूरी मृगको अवैध सिकार ।

निकुञ्ज र आरक्षको सुरक्षार्थ नेपाली सेना र निकुञ्जका अलग्गै कर्मचारी खटिएका हुन्छन् तर ४५ दिनको लकडाउनको गतिविधि हेर्ने हो भने देशैभर चोरीसिकार र अवैध गतिविधि बढिरहेकै छ ।

जंगलभित्र कोलाहल नहुँदा तस्करी गर्न सजिलो हुने सोचेर लकडाउन सुरु भएलगत्तै ११ जना सिकारीको समूह हतियारसहित मकवानपुरको पदमपुर हुँदै पर्सा निकुञ्जको महादेव खोला पुगेको थियो । त्यही क्रममा निकुञ्जको संरक्षणार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीको गस्ती टोलीले देखेपछि दुवै पक्षबीच गोली हानाहान भयो । त्यस क्रममा तस्कर समूहका भीमलाल मोक्तानको ज्यान गएको थियो, सेनाका मीमबहादुर छन्त्याल घाइते भएका थिए । गस्ती टोलीका कारण सम्भावित तस्करी रोकिएको थियो । पक्राउ परेका तस्कर समूहका मोहनसिंह दोङले दिएको बयानअनुसार उनीहरू चित्तल सिकार गर्ने उद्देश्यले निकुञ्ज छिरेका थिए ।

घटनालगत्तै तस्करी नियमन गर्न गस्ती विस्तारपछि पर्सामा चोरीसिकारको अर्को घटना हुन पाएको छैन । तर पर्सासँगै जोडिएको मुलुककै पहिलो चितवन निकुञ्जमा तस्करले ३ वटा घडियाल गोहीको सिकार गरे, निकुञ्जलाई पत्तै भएन । निकुञ्जको अमलटारी क्षेत्रको नारायणी नदीमा दुई र सौराहा नजिकबाट बग्ने ढुंग्रे खोलामा एउटा वयस्क गोही मारिएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) नारायण रूपाखेतीका अनुसार माछा मार्न अवैध रूपमा प्रयोग गरिने जालमा पारेर ती दुर्लभ गोही मारिएका थिए । कसले ती गोही मार्‍यो भन्ने अहिलेसम्म निकुञ्जले पत्ता लगाउन सकेको छैन । पोस्टमार्टमपछि निकुञ्जले तिनलाई गाडेको थियो । ती गोही निकुञ्जले प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडेकामध्येकै थिए । हरेक वर्ष निकुञ्जले प्रजनन केन्द्रमा हुर्किएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्छ ।

बाघको राम्रो बासस्थान बनेको बर्दिया निकुञ्जभित्र पनि लकडाउनका अवधिमा साना ठूला तस्कर सलबलाएको देखिन्छ । लकडाउनकै बीचमा राजापुर नगरपालिका–७ को शंकरपुरमा करेन्ट लगाएर एउटा भाले हात्ती मारिएको थियो । त्योबाहेक ठूला वन्यजन्तुको चोरीसिकार रोकिए पनि साना वन्यजन्तुको सिकार गर्ने उद्देश्यले हतियारसहित जंगल क्षेत्र छिरेका व्यक्तिहरूलाई निकुञ्जले समातेर कारबाही प्रक्रिया अघि बढाएको छ । अवैध हिसाबले निकुञ्ज प्रवेश गरेका र प्रतिबन्धित गतिविधिमा संलग्न रहेका कैयौं व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ ।

लकडाउनमा निकुञ्जभित्र कोलाहल नहोला भन्ने सोचेका थियौं, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, लकडाउन झनै जंगल छिर्ने अवसर जस्तो बनेको पाइयो, त्यही भएर कडाइ गरिएको छ । बरालका अनुसार यस अवधिमा ५ सय जनालाई विभिन्न कारबाही गरिएको छ ।

बर्दिया निकुञ्जसँगै जोडिएको बाँके निकुञ्जले भने सम्भावित चोरीसिकारलाई मध्यनजर गर्दै गस्तीसँगै नयाँ रणनीति अपनाएको छ । बाँके निकुञ्जका ६ स्थानमा स्पाई क्यामेरा नामको स्वचालित क्यामेरा मान्छेले नदेख्ने गरी जडान गरिएको छ । प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार ती क्यामेराले मान्छेको मात्र तस्बिर कैद गर्छ र निकुञ्जको सर्बरमा लोकेसनसहित तुरुन्तै पठाउँछ । त्यसो हुँदा तुरुन्तै त्यस्ता व्यक्तिहरूलाई समात्न सहयोग पुग्छ ।

यसबीचमा निकुञ्ज छिरेका तीन जनालाई तस्बिरका आधारमा बालापुर गाउँबाट समात्न सफल भएको भट्टराईले बताए । उनीहरू भागेर गाउँ पुगेका थिए । निकुञ्जको टोलीले तस्बिर हेरेर उनीहरूको पहिचान गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यस्थलमा खटिएका प्रमुखहरूसँग भर्चुअल छलफल गरी जानकारी लिने गरेको निमित्त महानिर्देशक रामचन्द्र कँडेल बताउँछन् । संरक्षित क्षेत्रहरूमा चोरीसिकारका घटनाहरूमा वृद्धि भइरहेका बेला विभाग महानिर्देशकविहीन छ । गोपालप्रकाश भट्टराईले अनिवार्य अवकाश पाएपछि विभागमा सरकारले अर्को नेतृत्व चयन गरिसकेको छैन ।

संरक्षित क्षेत्रबाहेक डिभिजनल वन कार्यालयले संरक्षण तथा व्यवस्थापन गर्ने वन क्षेत्रमा पनि काठसँगै वन्यजन्तुको पनि तस्करी भएको देखिन्छ । खासगरी तराई र भित्री मधेसका जिल्लामा समस्या बढी छ । डिभिजन वन कार्यालयहरू अहिले सबै प्रदेशअन्तर्गत छन् । सातवटा प्रदेशमा रहेका प्रदेश वन निर्देशनालयमातहतका डिभिजनल वन कार्या लयलाई केन्द्रको वन तथा वातावरण मन्त्रालयले मुख्यमन्त्रीका कार्यालयमार्फत चोरीसिकार नियन्त्रणमा ध्यान दिन सुझाएको थियो ।

लकडाउनकैबीच तस्करहरूको समूहले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ लोहरौलामा एउटा नीलगाई मारेको थियो । डिभिजनल वन कार्यालय कपिलवस्तु (तौलिहवा) बाट खटिएको टोलीले घटनास्थलबाट मारिएको नीलगाई र प्रयोग गरिएका हतियार बरामद गरेको थियो ।

त्यसअघि वन कार्यालयबाट खटिएको गस्ती टोलीले तिलौराकोट साझेदारी वनको बाणगंगा क्षेत्रभन्दा पश्चिमको वनमा सिकार खेल्दै गर्दा बन्दुक र अन्य अतियारसहित दुई जनालाई समातेको थियो । डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) ले पनि चोरी तस्करीमा संलग्न भएका विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । प्रदेश २ अन्तर्गतका बारा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरीलगायतका डिभिजनल वन कार्यालयले व्यवस्थापन गर्ने वन क्षेत्रमा अवैध गतिविधि धेरै देखिन्छ ।

डिभिजनल वन कार्यालय, बाराले दिनहुँजसो वन क्षेत्र प्रवेश गर्ने हतियारधारी व्यक्तिहरूलाई समात्ने र काठलगायत बरामद गर्ने गरेको छ । केही दिनअघि डिभिजनल वन कार्यालय सप्तरीले अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोला क्षेत्रबाट २ जनालाई रतुवा मृगसहित पक्राउ गरेको थियो । प्रदेश १ का मोरङ, उदयपुर, इलाम, झापालगायतका क्षेत्रमा पनि अवैध गतिविधि बढेको छ ।

कस्तूरीका अभियुक्तसँग बयान

सगरमाथा निकुञ्जमा कस्तूरी मार्न संलग्न भएकामध्ये ३ जनालाई निकुञ्जले बयान लिएर थप व्यक्तिको खोजी गरिरहेको छ ।कस्तूरी मार्ने र बिनाको अवैध कारोबारमा संलग्न अभियोगमा विष्णु राई, रमेश राई र जनता राई निकुञ्जको नाम्चेस्थित कार्यालयको हिरासतमा छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार बयानका आधारमा विष्णुले रमेश राईबाट एउटा कस्तूरीको बिना खरिद गरेको खुलेको छ । त्यस्तै जनता राई विगतका वर्षहरूमा निकुञ्जको डोले क्षेत्रमा पासो थापेर कस्तूरी मार्ने गतिविधिमा संलग्न भएको पत्ता लागेको छ । डोले क्षेत्र सबैभन्दा बढी कस्तूरी मारिने क्षेत्रभित्र पर्छ । उनले उक्त क्षेत्रबाट २ वटा कस्तूरी मारी बिना झिकेर विष्णुबाट समेत गरी ३ वटा बिना काठमाडौं लगेर १ लाख ४० हजार रुपैयाँमा बिक्री गरेको बयान दिएको उपाध्यायले जानकारी दिए ।

उनीहरूले बयानका क्रममा धेरै व्यक्तिको नाम दिएका छन्, नाम्चे बजारबाट उपाध्यायले कान्तिपुरसित भने, पोलिएका व्यक्तिबारे खोजी जारी छ, पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छांै ।

गत वैशाख १४ मा सगरमाथा निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मार्नसमेत यही समूह संलग्न रहेको उनीहरूको बयानबाट थाहा भएको छ । उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पर्यटक गाइड, भरिया बनेर लामो समय उक्त क्षेत्रमा बस्ने र त्यही क्रममा कस्तूरी मार्ने काममा संलग्न हुने गरेको पाइएको छ ।नियन्त्रणमा लिइएका अन्य व्यक्ति भने गुम्बाभित्रका सामानलगायत चोरीमा संलग्न रहेको पाइएको थियो । उनीहरू तारेखमा छुटेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका ४ का अध्यक्ष लक्ष्मण अधिकारीले सुराकीका आधारमा उनीहरूलाई नियन्त्रण गर्न सफल भएको बताए । उनीहरूको संलग्नता पुष्टि भएपछि हामीले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका हौं, अधिकारीले भने, उनीहरूको रेडपाण्डा पनि मार्ने योजना रहेछ । यो समूहले लामो समयदेखि सगरमाथा निकुञ्जका विभिन्न क्षेत्रमा कस्तूरी मार्ने र बिनाको सप्लाई गर्ने गरेको पाइएको छ । उनीहरूबाट कस्तूरीलाई मार्न प्रयोग हुने पासो (जाली) समेत बरामद भएको थियो ।

पदयात्रा र भरियाको बहानामा आउनेहरूले कस्तूरी मार्ने गरेको पहिलेदेखिकै रेकर्ड छ । सगरमाथा निकुञ्ज कस्तूरीका लागि विख्यात छ । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले कस्तूरीको संख्या बढिरहेका बेला फेरि तस्करी बढ्नु दुस्खद् भएको बताए ।

वैशाख १४ मा मालिंगो लिन गएका स्थानीयले पासोमा पारेर कस्तूरी मारेको देखेपछि निकुञ्ज र सुरक्षा निकायलाई जानकारी गराएका थिए । उपाध्यायका अनुसार ६ वटैलाई पासोमा पारेर मारिएको र दुईवटा कस्तूरीको बिना निकालेर लगेका थिए । तस्करले एउटा कस्तूरीको भने बिना छाडेर गएका थिए । ६ मध्ये एउटा मात्र पोथी हो । २ वटा कस्तूरी सडेको अवस्थामा भेटिएकाले लिंंग छुट्टिएको थिएन ।





error: Content is protected !!