खाद्य संकट समाधान गर्न श्रम सहकार्यमार्फत एकैपटक दश हजार धरधूरीलाई काममा

रुकुमपश्चिम , रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले खाद्य संकट समाधान गर्न श्रम सहकार्यमार्फत एकैपटक दश हजार धरधूरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति लिएको छ ।

यो पालिका यस क्षेत्रकै दुर्गम पालिका हो, जहाँका ६ वटा वडामा असारमा मात्रै गहुँ पाक्छ । अन्य ठाउँमा नयाँ बाली भित्र्याइरहेको भए पनि यहाँका गहुँ अझै हरिया नै छन् । ‘यो अवस्थामा खाद्य संकट आउने देखेर हामीले पालिकाभित्रका सबै घरधूरीलाई काममा लगाएर हरेक घरमा पचास केजी चालम उपलब्ध गराउने नीति लिएका छौं’– नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले भन्नुभयो– ‘त्यसका लागि निश्चित दूरी कायम हुने गरी हरेक टोलमा दश घरधूरीको एउटा श्रम सहकार्य समूह बनाएर काम शुरु गरेका छौं ।’ उनीहरुले सडक, सिचाई, विद्यालय प्रांगन निर्माण आदिका काम गर्नेछन् ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को अवधारणाअनुसार एक दश घरबाट एक एक जना रहने गरी दश जनाको श्रम सहकार्य समूह बनाइएको र त्यसको एक जना प्रमुख तोकिएको उहाँले जानकारी दिनुभयो । ‘पालिकाभित्र दश हजार घरधूरी रहेका छन्, त्यसबाट दश दश घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएका छौं’– उहाँले भन्नुभयो– ‘पालिका र प्रदेशका काम गर्न बाँकी साना विकासका काम यही समूहबाट हुनेछ, हरेक घरले पाँचदेखि सात दिन काम गरेर पचास केजी चालम पाउने छन् । कोही घरमा काम गर्नसक्ने मान्छे नभए समूहकै निर्णयअनुसार छिमेकीले काम गरिदिनुपर्ने छ र चालम पाउनबाट कोही घर पनि वञ्चित हुने छैन ।’

पालिकाभित्र ५१ प्रतिशत नागरिक गरीबीको रेखामुनि र ३५ प्रतिशत दलित समुदाय रहेको तथा वडा नम्बर १ देखि ६ सम्म असारमा मात्रै गहुँ पाक्ने भएकाले यो अभियान अघि सारिएको प्रमुख केसीले जानकारी दिनुभयो । यसका लागि कम्तीमा पाँच हजार क्विन्टल चामल चाहिने जानकारी दिंदै उहाँले सहयोगी दाता खोजेर प्रभाकरले दश ट्रक चामल पठाउन थालेको र बाँकी बजेट परिचालनबाटै जुटाउनुपर्ने अवस्था रहेको बताउनुभयो । यो अभियानअन्तर्गत करीब तीन करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ । ‘अरु बेला पनि विकासका काम उपभोक्ताले नै गर्थे तर यसपटक सबै घरले अनिवार्य श्रम गर्ने र चामल दिने नीति लिएको छ, फरक यत्ति हो’– उहाँले भन्नुभयो ।





error: Content is protected !!