भारतले कूटनीतिक समाधान नचाहे नेपालले अर्कै बाटो रोज्नुपर्छः दाहाल

काठमाडौँ — भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

भारतले नेपालको लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरेको विषयमा छलफल गर्न आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा दाहालले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए ।

दाहालले भने, उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ ।

भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको दाहालको भनाइ थियो । ुलिपुलेकको अहिलेको समस्यापछि यो सीमा समस्या त्रिदेशीय बन्न गएको छ । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो, दाहालले भने । उनले यो समस्या समाधानमन तीनवटै देशको समझदारी हुनुपर्ने बताए । लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने उनको भनाइ थियो ।

सांसदहरूले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग समिति बैठकमा उठाएका थिए । सत्तारुढ दलको अध्यक्षको तर्फबाट भन्दै जवाफमा दाहालले अहिले नै त्यता लाग्ने बेला नभएको बताए । अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोचिहालौं, उनले भने । भारतले विवगतदेखि नै लिपुलेक, लिम्पियाधुरा रा कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उनको भनाइ थियो ।

यो विषय आफैंमा धेरै गम्भीर र पुरानो छ । यसमा धेरैपटक छलफल हुँदै आएको छ, नेपाली भूमिलाई फेरि आफ्नो नक्सामा राखेको र सडक निर्माण गरेपछि सीमा विवादले नयाँ स्वरुप लिएको दाहालको भनाइ थियो । सरकारलाई सीमा विवाद मिलाउने विषयमा सबै राजनीतिक दल र अन्य पक्षले साथ दिएको पनि उनले स्मरण गराए । भारतसँग गम्भीर रूपमा कूटनीतिक असन्तुष्टि जनाइएको पनि उनको भनाइ थियो । भारतले विदेश सचिवस्तरीय छलफल गर्न नमानेको कुरा परराष्ट्र मन्त्रालयबाट जानकारीमा आएको उनले स्पष्ट पारेका थिए ।

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विवाद गम्भिर मोडमा गएकोले राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न सुझाव दिएको दाहालले सुनाए । अब पत्र लेख्ने मात्रै नभइ निर्णायक पहल गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, सीमामा कहिले कसले कति गल्ती गरे भन्नेबारेमा समीक्षा हुनुपर्ने पनि दाहालको भनाइ थियो । कालापानीमा भारतीय सेना बसेको अहिले होइन झन्डै ६२ वर्षदेखि हो । विगतदेखि अहिलेसम्म किन फिर्ता गर्ने पहल भएन । अहिलेसम्मका सरकारहरूले के गरे भन्ने समीक्षा गर्ने बेला आएको छ, उनले भने ।





error: Content is protected !!