निकुञ्जको वनमा यार्सागुम्बा चोर

डोल्पा ः डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका वनहरुमा यार्सागुम्बा चोरी गर्ने पुगेका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)बाट बच्नको लागि भन्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आधिकारिक निर्णय र सूचना जारी गर्दै यार्सागुम्बा संकलनमा रोक लगाएको हो । तर यार्सा पाउने पाटनहरुमा चोरहरु पुगेपछि स्थानीय त्रसित भएका छन् ।

निकुञ्जको कोर क्षेत्रमा पर्ने कुनासा पाटनमा जुम्लाका २४ जनाभन्दा धेरै मानिसहरु यार्सा चोरी गर्न आएपछि स्थानीय त्रसित भएको पुग्मोका स्थानीय धावा लामाले जानकारी दिए । धावाले भने, हामी कोरोनाकै डरले सरकारको निर्णय मानेर घरमा बसेका छौँ तर जुम्लाका मान्छेले पाटनमा यार्सागुम्बा चोरी गरिरहेका छन् यो न्यायसँगत भएन । तत्काल सुरक्षाकर्मी खटाइदिनु पर्ने भयो ।

यार्सागुम्बा चोरीभन्दा पनि जुम्लाका मानिसहरु भागेर आएको र उनीहरु भारतबाट सिधै डोल्पाका पाटनमा पुगेको भन्ने सूचना आएकोले स्थानीय डराएको धावा लामाले बताए । चौरी गोठाला गएकी धावासाङमु लामाले यार्सा चोरी गरिरहेको देखेपछि उनी डरले भागेर घर आएको लामाले बताइन् । धावासाङमुका अनुसार गोठमा राखिएका आलुसमेत खाएको र यार्साचोरी गरी रहेकोले डरले भागेर चौरी छोडी घर आएको बताइन् ।

पुग्मो गाउँको उवा आलु गहुँ लगाउने कुनासामा यो वर्ष कोरोनाकै कारण डरले स्थानीयहरुले जेष्ठ २ गतेसम्म नजाने निर्णय गरेका छन् । एकातिर कोरोनाको डर अर्कोतिर चोरको डरले स्थानीयहरु घरबाहिर निस्कन नसकेको धावा लामाले बताए ।

यता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जक प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने सुरक्षाकर्मी पुगिसकेकोले स्थानीयलाई त्रसित नहुन आग्रह गरेका छन् । पौडेलले भने, हामी सबैतिर सुरक्षा खटाइरहेका छौँ। वनको संरक्षण गर्ने जिम्मा निकुञ्जको हो स्थानीयले पनि साथ दिनुहोस्।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका दश नाकामा सुरक्षाकर्मी र कर्मचारी परिचलान गर्ने भने पनि हालसम्म सबै क्षेत्रमा नपठाएको स्थानीयको आरोप छ । निकुञ्ज र मध्यवर्तीका जगदुल्ला नाका, त्रिपूरा सुन्दरी नाका, धो नाका, सुम्दुहा नाका, रिग्मो नाका, रह नाका र मुगुको डोल्फु नाका शिल गरी सुरक्षाकर्मी राख्ने भएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रका पाटनहरुमा यार्सागुम्बा चोरी गर्न गए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कानुनी कारवाही हुने संरक्षण अधिकृत पौडेलले जानकारी दिए । तर स्थानीयले नियम पालना गरिरहेको बेलामा बाहिर जिल्लाका मानिसहरु चोरीका लागि पाटनमा पुगिसकेका छन् ।
जिल्लामा यार्सागुम्बा पाउने पाटनहरुमा करिब ७० प्रतिशत क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्य बाँकी वन अन्तरगत पर्दछन् । निकुञ्ज र वनमा हरेक वर्ष सरदर ४० हजारभन्दा धेरै मानिस यार्सागुम्बा संकलनमा जाने गर्छन् ।





error: Content is protected !!