१८ दिनमा १५ शय्याको कोरोना अस्पताल तयार

रुकुम पश्चिम ः चौरजहारी अस्पतालको स्वामित्वमा रहने गरी चौरजहारी नगरपालिका–१ मा १८ दिनमा १५ शय्याको कोरोना अस्पताल निर्माण गरिएको छ । सात कोठाको भवनमा ६ कोठामा बिरामी भर्ना गरिनेछ भने एउटा स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् ।

कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारीमा कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । अस्पतालमा एकैपटक ३९ जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सकिनेछ । अक्सिजन र नेगेटिभ प्रेसर मेसिनसहितको अस्पताल निर्माण गरिएको अस्पताल प्रशासक डिलबहादुर गिरीले बताए । ‘मेसिनले बिरामीको नकारात्मक भाइरस निकाल्न सहयोग गर्नेछ,’ उनले भने, ‘गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि दोस्रो चरणमा आइसोलेसन निर्माण गरिएको हो ।’

अस्पतालले यसअघि २४ शय्याको आइसोलेसन निर्माण गरेको थियो । अस्पतालका अनुसार झन्डै एक करोड रुपैयाँको लगानीमा आइसोलेसन निर्माण गरिएको हो । यसअघि शीतल माध्यमिक विद्यालयको भवनमा २० र चौरजहारी अस्पतालभित्रै ४ शय्याको आइसोलेसन निर्माण गरिएको प्रशासक गिरीले जानकारी दिए । अस्पतालले ३ थरीका बिरामीलाई छुट्टाछुट्टै वार्डमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ । शीतल माविको वार्डमा शंकास्पद, संक्रमण भएका, तर लक्षण नदेखिएका तथा आफैं औषधि सेवन गर्न सक्नेलाई राखिनेछ । नवनिर्मित वार्डमा स्लाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई उपचार गरिने प्रशासक गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालभित्रको वार्डमा भने गम्भीर अवस्थाका बिरामीलाई राख्ने तयारी भइरहेको छ । ‘उक्त वार्ड चौबिसै घण्टा चिकित्सकको रेखदेखमा हुनेछ,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै रिफर गर्ने व्यवस्था मिलाइएको छ ।’ अस्पतालले यसअघि दुईजना शंकास्पद बिरामीको उपचार गरिसकेको जनाएको छ । चौरजहारीमा अर्को आइसोलेसन भवनसमेत बन्दै छ । शीतल माध्यमिक विद्यालयको प्रांगणमा ८ कोठाको भवन निर्माण अन्तिम चरणमा पुगेको चौरजहारी नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार एउटा कोठामा ४ जना बिरामी राख्न मिल्ने गरी ३२ शय्याको आइसोलेसन निर्माण भइरहेको हो ।

‘फिनिसिङको काममात्र बाँकी छ,’ उनले भने, ‘सबै ठाउँको केन्द्र भागमा रहेकाले आवश्यक पर्ला भनेर आइसोलेसन भवन निर्माण गरिरहेका हौं ।’ आइसोलेसन वार्डका लागि प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँ सामग्री खरिदमा खर्च भएको उनको भनाइ छ । यसअघि आठबीसकोट नगरपालिकाले १५ शय्याको कोरोना अस्पताल बनाइसकेको छ  कान्तिपुरमा खवर छ ।





error: Content is protected !!